१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेद्वारा कार्यदल अनुमोदन

काठमाडौं- एमालेले पार्टी एकता संयोजन समिति, निर्वाचन क्षेत्र बाँडफाँट तथा घोषणापत्र निर्धारण गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र तथा अन्य राजनीतिक दलबीच निर्वाचन क्षेत्र बाँडफाँट र संयुक्त घोषणापत्र तयार गर्न गठित कार्यदललाई अनुमोदन गरेको हो ।
बैठकमा कार्यदलमा रहेका नेताहरूले प्रगतिबारे जानकारी गराएका थिए । ‘क्षेत्र निर्धारणका लागि गठन गरिएको कार्यदलले यसअघिका दुवै चुनावमा प्राप्त गरेको मतका आधारमा तथ्यहरू विश्लेषण गरिरहेको जानकारी गराएको छ,’ उपमहासचिव घनश्याम भुसालले भने ।
भुसालका अनुसारका पार्टी एकता कार्यदलमा वरिष्ठ नेता झलनाथ खनालसहित पाँच सदस्य रहेन गरी निर्णय गरिएको छ । यसअघि कार्यदलमा अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल मात्रै थियो ।
मंसिरमा हुने प्रदेश तथा संघीय संसद्को निर्वाचनमा एमाले र माओवादीबीच निर्वाचन क्षेत्र ६० र ४० को अनुपातमन बाँडफाँट गर्ने सहमति भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको नेतृत्वमा क्रमशः चुनावी घोषणापत्र र निर्वाचन क्षेत्र निर्धारण कार्यदल गठन गरिएको छ ।
बैठकले माओवादी र नयाँ शक्तिबीच पार्टी एकता गर्ने र त्यसको सुरु चुनावी गठबन्धनबाट गर्ने भनी भएको सहमतिलाई नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक घटना भन्दै स्वागत गर्ने निर्णय गरेको छ ।
बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले चुनावी गठबन्धनको सिटका बाँडफाँट तथा घोषणापत्र मस्यौदा कार्यदललाई चाँडे काम सक्न निर्देशन दिएको बताए ।
त्यसैगरी एमालेले चितवन जिल्ला समन्वय समितिका लागि हुने निर्वाचनमा प्रमुखमा कृष्णकुमार डल्लाकोटी र उपप्रमुखमा मुनाकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित: २२ आश्विन २०७४ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App