१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन्।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए।

नेम्वाङप्रति देखिएको सद्भाव र उहाँको अवसानपछि देखिएको सहानुभूतिले उहाँले सार्थक जीवन जिउनुभएको महासचिव पोखरेलले बताए। संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उनले बताए।

‘एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ’, पोखरेलले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेल्नुभएको भूमिका अविस्मरणीय छ।’

नेम्वाङ संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेको व्यक्ति भएको उल्लेख गर्दै नेम्वाङ एमालेको नेतामात्र होइन संवैधानिक र कानुनी सल्लाहकारका रूपमा पनि रहेको उनले बताए।नेम्वाङप्रति सम्मान गर्ने हो भने उहाँको भावना बुझ्नुपर्नेमा उनले जोड दिए।

सभामा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित,डा विजय सुब्बालगायत नेताहरुले नेम्वाङको योगदानलाई बिर्सन नसकिने बताएका थिए।

प्रकाशित: ३० भाद्र २०८० ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App