१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले प्रदेश र केन्द्रका उम्मेदवारको नाम असोज १५ भित्र सिफारिस गर्ने

काठमाडौं – नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि असोज १५ भित्र उम्मेदवारको नाम सिफारीस गर्न जिल्लालाई परिपत्र गर्ने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रदेश र केन्द्रका लागि नाम सिफारीस गर्न जिल्लालाई परित्रप गर्ने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले सोमबार बिहान जिल्लालाई पठाउने परिपत्र तयारी भोलि नै पठाउने तयारी भएको जानकारी दिए । ‘असोज १२/१५ गतेभित्र उम्मेदवारको नाम केन्द्रलाई सिफारीस गर्ने गरी सबै जिल्लालाई परिपत्र गर्ने छौ,’ महतले नागरिकसँग भने, ‘त्यसको खाका बिहान तयार गरेर पठाउँछौ ।’

कांग्रेसले प्रत्यक क्षेत्रबाट तीन देखि चार जनाको नाम सिफारीस  सम्बन्धीत पक्षलाई पत्रचार गर्ने जानकारी दिंदै महतले भने, ‘पहिला उम्मेदवार छनोटका लागि नाम सिफरीस गर्न परिपत्र गरी हाल्ने लागिएको हो ।’

महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनु पर्ने भएपनि कांग्रेसले उम्मेदवार छनोट गर्ने संसदीय बोर्ड अझै गठन गरेको छैन । तर, केन्द्रीय सदस्य महतले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्केलगतै वोर्ड गठन गर्ने दाबी गरे।

‘प्रधानमन्त्री विदेश भ्रमणबाट आइसक्दा जिल्लाबाट नामपनि सिफारीस भइसक्छ,’ महतले भने, ‘त्यसपछि टिकट वितरण गर्ने समिति गठन गरेर नाम टुंगो लगाउँदै जान्छौ।’

संसदीय बोर्डको पदेन सदस्य रहेने पार्टी उपसभापति, महामन्त्री र सहमहामन्त्री कांग्रेसले अझै मनोनित गरेको छैन । निर्वाचीत केन्द्रीय सदस्यहरु मध्यबाट सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम केन्द्रीय समितिको बैठकमा प्रस्ताव गर्ने र त्यसले अनुमोदन गर्नु पर्ने विधानको व्यवस्था छ ।

कांग्रेसले प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षीत गर्दै कांग्रेसले आर्थिक, प्रचारसहितको समिति गठन गठन गरीहाल्ने पनि तयारी गरेको छ।

 

प्रकाशित: १ आश्विन २०७४ १४:४७ आइतबार

कांग्रेसले प्रदेश केन्द्रका उम्मेदवारको नाम १५ सिफारिस गर्ने