१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतले ४० करोड सहयोग गर्ने

काठमाडौं- बाढीपहिरोपीडितको सहयोगका लागि भारत सरकारले ४० करोड रुपैयाँबराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर सहयोगको वाचा गरेका हुन्।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल टि्वटमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग भएको टेलिफोन वार्ताको जानाकारी सार्वजनिक गरेका हुन्। देउवाको टि्वटअनुसार मोदीले नेपालमा हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै २५ करोड भारतीय रुपैयाँबराबरको सहयोगको वाचा गरेका हुन्। २५ करोड भारुको नेपाली रुपैयाँ करिब ४० करोड हुन्छ।

चीन सरकारले समेत बाढीपहिरोपीडितका लागि नेपाललाई १० करोड रुपैयाँ सहयोग गरेको छ। चीनले आपतकालीन सहयोगस्वरुप नगद सहयोग गरेको हो। भारतले नगद र सामग्रीसहित ४० करोडबराबरको सहयोग गर्ने वाचा गरेको हो।

बाढीपीडितलाई दैनिक ७० रुपैयाँ

सरकारले बाढीपहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गर्दै पीडित प्रत्येकलाई ३० दिनसम्म ७० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ। गृहमन्त्री जनार्दन शर्माका अनुसार बाढीपहिरोपीडितलाई खाद्यान्नका लागि रकम निकासा भएको र आपतकालीन अवस्थाका लागि प्रतिव्यक्ति ७० रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भइसकेको छ।

केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट बाढीपहिरोपीडितका लागि विभिन्न जिल्लामा पाँच करोड १२ लाख रुपैयाँ निकासा भइसकेको जानकारी पनि उनले दिए। 'खाद्यान्न सहयोग गर्नुभन्दा नगदै सहयोग दिँदा पीडित परिवारले आफूअनुकूल खर्च गर्नसक्ने भएकाले ३० दिनका लागि ७० रुपैयाँका दरले दिने निर्णय भएको हो,' शर्माले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा भने, 'एक महिनाभित्र पीडित पुनर्स्थापना योजना ल्याउन सरकार सक्रिय छ।'

शर्माले सहयोग रकम सार्वजनिक गरे पनि पीडितको संख्या भने खुलाउन सकेनन्। पीडित भौकै नबसुन् भनेर रकम निकासाको निर्णय भएको र उनीहरूको लगत लिने काम भइरहेको उनले बताए। मन्त्री शर्माले बाढीपहिरो प्रभावित जिल्लाको संख्या ३० पुगेको र ८९ हजार घरमा क्षति पुगेको विवरण सार्वजनिक गरे। बाढीपहिरोबाट शुक्रबारसम्म १ सय ३५ जनाको मृत्यु, ३० जना बेपत्ता र ४१ जना घाइते भएको जानकारी उनले दिए।

प्रकाशित: ३ भाद्र २०७४ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App