१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देहीको राजपा पकड क्षेत्रमा पनि उत्साहपूर्ण मतदान [फोटो फिचर]

ओमसतियामाइ गाँउपालिकाका बुद्धबुद्धा सामान बोक्ने ढेला चढेर भोट हाल्न मतदान केन्द्रतिर जाँदै। तस्बिर : रेखा भुसाल

भैरहवा- रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। मतदानका लागि मतदाताहरु आ–आफनो क्षेत्रका मतदान केन्द्रमा एकाबिहानै पुगेका थिए । निर्वाचन कार्यालयका अनुसार १२ बजेसम्म जिल्लामा ३५ प्रतिशत बढी भोट खसेको छ ।  
एक उपमहानगरसहित पाँच नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा २ सय ८ मतदान स्थल छन् । ती मतदान स्थलका ५ सय ४३ वटा केन्द्रबाट मतदाताले उत्साहपूर्ण रुपमा भोट खसालिरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए ।
निर्वाचन सुरक्षाका लागि संवेदनशील मानिएको जिल्लाको दक्षिणी भेग मर्चवार लुम्बिनी धकधहीमा पनि शान्तिपूर्ण मतदान भइरहेको प्रजिअ शिंहले जानकारी दिए । चुनाव बहिष्कारको नीति लिएको राजपाको पकड क्षेत्रका गाँउपालिका र नगरपालिकाबाटै राजपाका नेता, कार्यकर्ताले उम्मेदवारी दिएकाले स्थानीयलाई मतदानमा भाग लिन सहज भइरहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।
भैरहवा, मर्चवर लुम्बिनीलगायतका क्षेत्रका निर्वाचन केन्द्रहरुमा मधेसी, थारु, मुस्लिम समुदायका मतदाताको सहभागीता उत्साहजनक देखिएको छ । बुद्धबुद्धा तथा अपाङ्गता भएकाहरु पनि निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी भएका छन् ।
मतदान सुरु हुनुअघि जिल्लाका केही भागमा केही समय पानी परेको थियो । वर्षालाई मध्यनजर गर्दै केन्द्रहरुमा टेण्टको व्यवस्था गरिएकाले मतदानकै समयमा पानी परेपनि कुनै समस्या नहुने जिल्ला निर्वाचन अधिकारी हुमनाथ गौतमले बताए ।
आजको निर्वाचनबाट जिल्लामा ४ सय ७ जना जनप्रतिनिधि चुनिनेछन् । जसका लागि ४ हजार ५ सय ६२ जना उम्मेदवार चुनावी मैदानमा छन । रुपन्देहीमा ४ लाख ६२ हजार ५ सय ४६ मतदाता छन् । जसमध्ये २ लाख ४० हजार ४३० पुरुष र २ लाख २२ हजार १११ महिला र ५ जना तेस्रो लिंगी मतदाता छन् ।  

यसैबीच रुपन्देहीबाट बिभिन्न पार्टीका करिब एक दर्जन केन्द्रिय नेताहरुले विभिन्न मतदान केन्द्रबाट मत खसालेका छन्। तिलोत्तमा नगरपालिकाको वडा ८ को ज्योति आधारभुत केन्द्रबाट काँग्रेस केन्दीरिय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले पहिलो भोट खसाले।  राप्रपा वरिष्ठ उपाध्यक्ष दीपक बोहोराले सिद्धार्थनगरपालिकाको खजहना केन्द्रबाट बिहानै भोट खसाले।
त्यस्तै निर्वाचनको तीन दिनअघि उम्मेदवारको मृत्यु भएपछि रुपन्देहीको एक गाँउपालिकाको एउटा वडाको मतदानको मिति सारिएको छ। कोटहीमाइ गाँउपालिकाको वडा न १ को निर्वाचन मिति दुई दिन पछि सारिएको निर्वाचन कार्यालयले जनाएको छ। सो वडाका माओवादी केन्द्रका तर्फबाट खुल्ला सदस्यका उम्मेदवार मुराली मल्लाहको आइतबार राति प्रचार प्रसार सकेर घरमा आराम गर्ने क्रममा हृदयघातका कारण मृत्यु भएको कार्यालयले जनाएको छ। सो वडाको निर्वाचन असार १६ गतेलाइ सारिएको छ।

प्रकाशित: १४ असार २०७४ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App