४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै नेतृत्वमा गुट छन्, फेरी भन्छन्, ‘पार्टी भित्र गुटबन्दी मौलायो’

केन्द्रीय समितिको बैठक।

आइतबारको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शशांकले पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा असन्तुष्टि जनाए। नेतृत्वका लागि हुने प्रतिस्पर्धामा गुट हुनु स्वाभाविक भए पनि स्थायी प्रकृतिको गुटले पार्टीलाई फाइदा नगरेको धारणा राखे। पार्टीमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उनले क्रियाशील सदस्यता बढाउने भन्दा जनतालाई पार्टीमा आकर्षित गर्न लाग्नु पर्नेमा जोड दिए।

बैठकमा पूर्व उपसभापति निधिले पार्टीभित्र अनुहार, नाम र पद फेर्दैमा रूपान्तरण नहुने धारणा राखे।

‘अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पुर्‍याउँदैन। वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौँ, निर्माण गरौँ। यसले पार्टी रूपान्तरण सहजै हुन्छ,’ उनले भने। सहमहामन्त्री बद्री पाण्डेले पार्टी संगठन बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। पार्टीको संगठन मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने, अहिले निर्क्योल गर्नुपर्दैन। पार्टी बनाउनतिर लागौँ।’

नेता शेखर कोइरालाले भने आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका छन्। केन्द्रीय समितिको बैठका १५ बुँदे धारणा राख्दै कोइराला सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको भन्दै जनतासँग जोडिने कार्यक्रम लिएर जानुपर्ने धारणा राखे।

‘जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ,’ उनले भने, ‘नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ।’

आइतबारको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शशांकले पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा असन्तुष्टि जनाए। नेतृत्वका लागि हुने प्रतिस्पर्धामा गुट हुनु स्वाभाविक भए पनि स्थायी प्रकृतिको गुटले पार्टीलाई फाइदा नगरेको धारणा राखे।

केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए। ‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्र्याकमा छ,’ साउदले भने, ‘यो ठिक ट्र्याकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’ राष्ट्रिय जीवनका हरेक पक्ष राजनीतिक हस्तक्षेपका कारण पक्षाघातका अवस्थामा पुगेको जनाउँदै अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै सम्पूर्ण संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।

अदालतलाई नै प्रभाव पार्ने गरी पार्टीका नेताहरू नेता बालकृष्ण खाणका विरुद्धमा उत्रिएको आरोप लगाउँदै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले भनिन्, ‘हाम्रै एक जना साथीलाई आरोप लगाइएको छ। न्यायालयमा विचाराधीन मुद्दा रहेको छ। यो आरोपलाई प्रमाणित गराउन हाम्रै साथीहरूले दबाब दिनुभएको छ।’

अर्का सहमहामन्त्री किशोर सिंह राठोरले महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई सभापतिलाई कन्फिडेन्टमा लिएर पार्टीलाई अघि बढाउने आग्रह गरे। कांग्रेस बैठकमा धर्मनिरपेक्षता, निर्वाचन प्रणाली, संघीयतासहितका विषयमा सदस्यहरूले प्रश्न उठाएका छन्। मंगलबारदेखि जारी केन्द्रीय समितिको सोमबारको बैठकमा महामन्त्री द्वय थापा र शर्माका साथै उपसभापतिहरू पूर्णबहादुर खड्का तथा धनराज गुरुङ र सभापति देउवाले धारणा राख्नेछन्। बैठक ३ बजेका लागि बोलाइएको छ।

प्रकाशित: ८ श्रावण २०८० ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App