१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं- नेपाली कांग्रेसले सहमतिको सरकार गठनका लागि मंगलबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि संसद्मा रहेका दलहरूलाई आह्वान गरेको सात दिन समय सकिन लाग्दा संसद्को ठूलो दल कांग्रेसले सहमतीय सरकार गठनको पहल थालेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन तयार रहे पनि कांग्रेस दलीय सहमतिको सरकारका पक्षमा नरहेको आरोप लगाएको भोलिपल्ट कांग्रेसले सबै दलको बैठक बोलाएको छ।

संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बिहान साढे आठ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसले सरकार गठनका लागि सहयोग माग्नेछ। सर्वदलीय बैठकको निमन्त्रणासहित पार्टी नेतृत्वमा सर्वदलीय सरकार गठनका लागि सहयोग माग्दै सोमबारै कांग्रेसले पत्र पठाएको छ।

कांग्रेस संसदीय दलका सचिव धु्रव बाग्लेले संवैधानिक व्यवस्था र राष्ट्रपतिको आह्वानअनुसार सहमतिको सरकार गठनका लागि पार्टीले अग्रसरता लिएको बताए। 'सबै राजनीतिक दललाई साथै लिएर कांग्रेस संविधान कार्यान्वयन गर्न चाहन्छ,' वाग्लेले भने, 'सरकारमा पनि सबैलाई समेटेर अघि बढ्ने प्रयासअनुसार सर्वदलीय बैठक राखेका छौं।'

संवैधानिक व्यवस्थाअनुसार सहमतिको प्रयास गर्नु ठूलो पार्टीको दायित्व भएको उनले बताए। उनले भने, 'हाम्रो नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुन र सहयोगका लागि सभापतिले आग्रह गनु बैठक बोलाइएको हो।'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै राष्ट्रपति भण्डारीले बिहीबार संविधानको व्यवस्था र विगतको परम्पराअनुसार सात दिन समय दिएर दलहरूलाई सहमतीय सरकार गठनको आह्वान गरेकी छिन्।

सात दिनभित्र दलीय सहमतिको सरकार गठन नभएमा राष्ट्रपतिले संसद्लाई पत्र पठाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन थाल्न आग्रह गर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App