१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालगन्जमा कांग्रेसको 'रोचक प्रतीक्षा'

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा अहिलेसम्म सबै प्रमुख दलका उम्मेदवार मैदानमा उत्रिसकेका छन्। नेपाली कांग्रेस भने अझै अनिर्णीत छ। सबैको चासो र प्रतीक्षा कांग्रेसबाट तय हुने उम्मेदवारमाथि केन्द्रित छ।

नेपालगन्ज उपमहानगरको चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रका प्रतिस्पर्धी कांग्रेसबाट तय भएर आउने सम्भावित उम्मेदवारलाई रोचकताका साथ कुरेका छन्।

एमाले प्रदेश कमिटीले शुक्रबार राति समसुद्धिन सिद्धिकीलाई उम्मेदवार घोषणा गर्‍यो। उनी २०५४ सालका नेपालगन्जका उपमेयर हुन्। सिद्धिकीसँगै सोही कार्यकालका मेयर धवलशमशेर राणा एक महिनाअघि राप्रपाका तर्फबाट चुनावी दौडमा होमिइसकेका छन्। तत्कालीन समयमा एमालेबाट चुनाव जितेका राणा राजाको शासनकालमा राप्रपा प्रवेश गरेका हुन्। माओवादी केन्द्रले व्यावसायिक पृष्ठभूमिका दामोदर आचार्यलाई तीन दिनअघि मेयरको उम्मेदवार बनाएको छ।

करिब ६२ हजार मतदाता रहेको नेपालगन्ज राजनीतिक रूपमा कुनै दलको 'अखडा' होइन। यहाँका मतदाताले दलभन्दा पनि उम्मेदवारको अनुहार (व्यक्तित्व) हेरेर भोट दिने गरेको इतिहास छ। 'यहाँका मतदाता भावनामा बढी बग्छन्, चौबीस घन्टाअघि पनि कुनै 'सेन्टिमेन्ट' ले मतदाताको मनस्थिति बदलिदिन सक्छ,' राजनीतिक विश्लेशष तथा नेपालगन्जका पुराना पत्रकार हेमन्त कर्माचार्य भन्छन्, 'त्यसैले कुन दलको पोजिसन राम्रो छ भन्ने भन्दा पनि चुनावी मैदानमा को–को उम्मेदवार छन् भन्ने कुराले बढी अर्थ राख्छ।'

कांग्रेसबाट डा. सुरेशकुमार कनोडिया र सुरेन्द्र हमाल प्रमुख दाबेदार हुन्। जिल्ला सभापति किरण कोइरालाका अनुसार यहाँबाट १२ आकांक्षीको नाम केन्द्रमा पठाइएको छ। स्थानीय कांग्रेस कार्यकर्ता भने यी दुईमध्ये एकजना उम्मेदवार बन्नेमा ढुक्क छन्। कांग्रेसवृत्त आआफ्नो राजनीतिक अनुकूलतालाई ध्यानमा राखेर कनोडिया र हमालका पक्षमा विभाजित भइरहेका बेला प्रतिस्पर्धी दलका उम्मेदवार भने को व्यक्ति उम्मेदवार बनेर आउँदा आफूलाई सहज हुन्छ भन्ने जोडघटाउमा छन्।

 नेपालगन्ज उपमहानगरपालिको जनसंख्याकीय विवरणलाई आधार मानेर हेर्ने हो भने उपमहानगरमा मुस्लिम समुदायको भोट करिब २५ देखि २७ प्रतिशत, मधेसी भोट ३५ देखि ४० प्रतिशत र पहाडी तथा अन्य भोट ३० देखि ३५ प्रतिशत छ। विश्लेषक कर्माचार्यको भनाइमा पहाडी मूलका हमाल र मधेसी मूलका कनोडिया जो उम्मेदवार भए पनि उनीहरूले कट्टर कांग्रेसीको भोट पाउनेमा कुनै शंका छैन। तर उनीहरूको व्यक्तित्वले भावनात्मक भोटलाई निश्चित रूपमा प्रभावित पार्नेछ।

 स्रोतका अनुसार एमालेबाट दत्तप्रसाद आचार्य र विजय गुप्ताको नामसमेत प्रदेश कमिटीमा गएको थियो। तर, एमालेले अन्य दलबाट मुस्लिम उम्मेदवार नआउने विश्लेषण गर्दै समसुद्धिनलाई टिकट थमायो। 'राप्रपाबाट पहाडी समुदायका धवलशमशेर उम्मेदवार बनिसकेको र कांग्रेसबाट हमालको सम्भावना ५० प्रतिशत रहेको अवस्थामा हामीले दत्तजीलाई ब्याक गर्दै समसुद्धिनलाई अघि सार्‍यौं,' एमालेका एक प्रदेशस्तरीय नेताले भने, 'अर्कोतिर कांग्रेसकै कनोडियाजी आउने सम्भावनालाई ख्याल गर्दै विजयजीलाई ब्याक गर्‍यौं।'

नेपालगन्जको चुनावी मनोविज्ञानलाई विश्लेषण गरेरै सबैभन्दा प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएको ती नेताले बताए।

 माओवादी केन्द्रमा आचार्यसँगै अहतर हुसेन फारुकी पनि बलिया दाबेदार थिए। अहतरले टिकट नपाउँदा एमालेमा समसुद्धिनका लागि परिस्थिति थप अनुकूल बनिदियो।

अब कांग्रेसमा कसले टिकट पाउँछ भन्ने विषय मैदानमा उत्रिसकेका प्रतिस्पर्धी उम्मेदवारको प्रमुख चासो बनेको छ। हमालले टिकट पाएमा राप्रपाका राणा र माओवादी केन्द्रका आचार्यको भोट बाँडिन सक्छ। अर्कोतिर, उनीहरुले मधेसी 'भोट बैंक' मा खेल्ने मौका पाउन सक्छन्। कनोडियाले टिकट पाएमा भने उनीहरूका लागि मधेसी भोट खोस्नु हम्मे हुनसक्छ, त्यस्तै हम्मे कनोडियालाई पनि हुन सक्छ– पहाडी समुदायको 'न्युट्रल' भोट खोस्न।

नेपालगन्जमा हमाल र कनोडियाको आआफ्नै व्यक्तित्व स्थापित छ। हमाल नेपालगन्जका पूर्वउपमेयर हुनुका साथै भारत्तोलन अन्तर्राष्ट्रिय खेलाडी हुन्। हाल उनी राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष छन्। उनले खेलमार्फत नेपालगन्जलाई पहिचान दिलाएको समर्थकहरू बताउँछन्। कनोडियालाई भने दुई दशकअघि मेडिकल कलेज स्थापना गरेर नेपालगन्जको समृद्धिमा बलियो इँटा थपेको विश्वास गरिन्छ। मेडिकल कलेजकै कारण नेपालगन्ज मध्य तथा सुदूरपश्चिमको स्वास्थ्यको हब बनेको र यहाँको विकासमा टेवा पुगेको कनोडियाका समर्थक बताउँछन्।

यति हुँदाहुँदै कांग्रेस र अन्य दलबाट मैदानमा उत्रिने उम्मेदवारका लागि नेपालगन्जको भावनात्मक (नन–पोलिटिकल) भोट निर्णायक हुने विश्लेषकहरू बताउँछन्। नेपालगन्ज सहर भावनामा कसरी बहन्छ भन्ने ज्वलन्त उदाहरण हो– २०५४ सालको स्थानीय निर्वाचन। चुनावको दिन भएको घटनाले २०४९ को स्थानीय निर्वाचनमा प्यानलसहित जितेको कांग्रेस तेस्रो स्थानमा झरेको थियो। स्वतन्त्र हैसियतमा उठेका शिवसेनाका उम्मेदवार झिनो मतले निकटतम् प्रतिद्वन्द्वी बने। एमाले विजेता बन्यो। २०४९ मा कांग्रेसबाट मेयर जितेका विजय गुप्ताका अनुसार यसको प्रमुख कारक चुनावकै दिन भएको साम्प्रदायिक घटना थियो। 'त्यो घटना हुन्थेन भने परिणाम अर्कै आउन सक्थ्यो,' उनी भन्छन्, 'तर योजनाबद्ध रूपमा साम्प्रदायिक घटना गरियो, जसले अप्रत्यासित नतिजा निस्कियो।'

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App