२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

दोलखा- नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्धार जिरी नगरपालिका चुनावी सरगर्मीले तातेको छ।

ग्रिन सिटी (हरियाली नगर) का उपमाले परिचित जिरी लाई दलहरुले चुनावी प्रतिष्ठा बनाएर अभियान चलाईरहेका छन्। ९ वटै वडामा आकांक्षीहरुको लर्को छ।

जिरी गाविस हुँदा कांग्रेसबाट गाविस अध्यक्ष बनेका टंक जिरेल हालै एमाले प्रवेश गरेयताका घटनाक्रमले जिरीको राजनीति अझ गरम हुने चर्चा स्थानीयबीच छ। जिरी, माली, र ठुलोपातल मिलेर तीन बर्ष अघि नगर बनेको जिरीमा स्थानीय निकाय पुर्नसंरचना आयोगले श्यामा गाविस समेत मिसाएर जिरी नगर बनाएको थियो । नगर भरी ११ हजार १ सय ५४ मत छ।

कांग्रेसका सम्भावित उम्मेदवार मानिएका जिरेल एमाले प्रवेश गरेपछि कांग्रेसले एमालेलाई टक्कर दिन सक्ने उम्मेदवार अघि सार्ने तयारी गर्दैछ। जिरेल र शेर्पा समुदायको मत निर्णायक मानिएको यो नगरमा कांग्रेसको जिल्ला नेतृत्व तिनै दुई समुदाय मध्ये एक बाट लोकप्रिय नगर प्रमुखको उम्मेदवार अघि सार्ने तयारी गर्दैछ।

जिरेल समुदायबाट समुनकृष्ण जिरेल, अमृत जिरेल, नरबहादुर जिरेल र डाक्टर सरिता जिरेल मध्ये एकलाई अघि सार्ने सम्भावना छ। जिरेल बाहेक शेर्पा समुदायबाट उम्मेदवार बनाउँदा नगर कांग्रेसका कार्यबहक सभापति सोनाम शेर्पा र आङपासाङ शेर्पा मध्ये एकलाई अघि सार्न सक्ने कार्यकर्ताहरुको आकंलन छ।

कांग्रेसले जिरेल समुदाय माझ पार्टीको लोकप्रियता र पर्यटकिय नगरी जिरीको विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायतका बिभिन्न क्षेत्रमा स्विस सरकार लगायत बिभिन्न दातृ निकाय मार्फत कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तमाङले गराएको काम संग जोडेर जिरीलाई पार्टीको प्रतिष्ठा बनाएको छ ।

एमाले भित्र टंक जिरेलको अत्याधिक चर्चा छ। कांग्रेसका नगर सभापति रहेका जिरेल हालै एमाले प्रवेश गरेका थिए । एमालेको जिल्ला नेतृत्वले मेयरको टिकट दिने आश्वासन सहित प्रवेश गराएका जिरेलले एमालेमा टिकाटालो गर्दा कांग्रेसका अन्य कार्यकर्ता ल्याउन नसकेको र नवप्रवेशीलाई टिकट दिन नहुने भन्दै स्थानीय पार्टी कमिटिको असन्तुष्टीका कारण उनले प्रवेश गर्ने बित्तिकै टिकट पाउन नसक्ने आकंलन समेत केही कार्यकर्ताको छ।

 तर जिल्ला स्थित शिर्षस्थ नेतृत्वले नगरको मेयर उम्मेदवार बनाउने आश्वासन सहित उनलाई एमाले प्रवेश गराएका कारण एमालेको उम्मेदवार उनी नै रहेको कार्यकर्ता पंक्तीमा चर्चा छ । नगर कमिटिले भने हालै ८ जना नगर प्रमुखका उम्मेदवारको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । एमाले जिल्ला कार्यालयका अनुसार तेजबहादुर खड्का, टंक जिरेल, मित्र जिरेल, मरिच खड्का, टपेन्द्र खड्का, केशव कार्की, मिङमा शेर्पा र हर्कमान जिरेल नगर प्रमुखको उम्मेदवारका रुपमा जिल्ला कमिटिमा सिफारिस भएका छन्।

एमालेले समेत आफ्नो पुरानो संगठनको बिरासत जोगाईरहने र विपक्षीबाट प्रभावशाली नेता भित्र्याएको दाबी गर्दै जसरी पनि चुनाव जित्नु पर्ने भन्दै प्रतिष्ठा बनाएको छ।

माओवादी केन्द्रबाट नविन जिरेल, तेजबहादुर गोले, ग्याल्बो शेर्पा लगायतको चर्चा छ । माओवादीले समेत जनयुद्धको आधार ईलाकामा आफ्ना सक्रिय कार्यकर्ता र जिरीमा गरेको विकासको काम संग जोडेर चुनाव जित्नुपर्ने प्रतिष्ठा बनाएको छ।

 

प्रकाशित: २ वैशाख २०७४ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App