१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थापितका विकास अजेन्डा

केशवका बाबुबाजे राजदरबारमा काम गर्थे। पुर्खाले दरबारमा काम गर्ने भएकाले उनको परिवार राजाप्रति सकारात्मक हुनु स्वाभाविकै थियो। केशव भने केटाकेटीमै राजतन्त्रका कट्टर विरोधी हुन पुगे।

राजा पृथ्वीविक्रमका पालाको कुरा हो, राजदरबारमा काम गर्ने उनका बाजेले सानो काम तोकिएको समयमा गर्न सकेनन्। यही गल्तीमा उनलाई सबैका सामुन्ने नांगै बनाएर अपमान गरियो। स्थापित भन्छन्, 'काकाबाजेबाट यस्तो कुरा सुनेपछि राजदरबारप्रतिको मेरो दृष्टिकोण बदलियो।'

उमेरसँगै राजतन्त्रप्रतिको बदलाभाव पनि उनीमा बढ्दै गयो। उच्च शिक्षा पढ्ने बेलासम्म उनी तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सशक्त ढंगले लागिसकेका थिए। पञ्चायती व्यवस्थविरुद्ध लड्न भन्दै उनी जिमखाना जान थाले। उनी जवानीका दिन सम्झन्छन्, 'जिम मात्रै होइन, राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लड्न जुडो कराते सिकेर लडाकु बनिसकेको थिएँ।'

'राजाले मलाई बोलाएर राजसंस्थाको भविष्यबारे जिज्ञासा राखेका थिए। त्यतिबेला मैले राजसंस्थाको भविष्य नभएको तर राम्रो काम गरे केही लामो समयसम्म सक्ने बताएको थिएँ। मेरो जवाफबाट क्रुद्ध बनेका राजाले बढी नबोल भन्दै निकालिदिए।'

०३५ मा पञ्चायती व्यवस्थाविरुद्ध लड्न भन्दै उनी पुल्चोक क्याम्पस छोडेर सरस्वती क्याम्पस भर्ना भए। स्वभाव र लवाइखवाइका कारण गुन्डाजस्तै देखिने उनलाई क्याम्पसमा विद्यार्थी संगठनका अध्यक्षले समेत सदस्यता दिन अस्वीकार गरे। 'मलाई रिस उठ्यो, अध्यक्षलाई भीरमा लगेर लडाइदिन खोजेँ, त्यसपछि मात्रै मलाई विद्यार्थी संगठनको सदस्यता दिइयो,' उनी पञ्चायती व्यवस्थाविरुद्धको आवेग सुनाउँछन्, 'विद्यार्थी आन्दोनका बेला कैयाँै प्रहरी तथा सरकारी अधिकारीलाई पनि कुटपिट गरियो।'

आकर्षक र ठूलो शरीरका उनी कुटपिटमा मात्रै होइन, स्वअध्ययन, वैचारिक भेलामा पनि रुचि राख्थे। 'राजनीतिक सभाभेलामा सहभागिता जनाउँथे। सहिदबारे सोधखोज गर्थें, लाइब्रेरीहरूमा घन्टौँ बिताउँथे,' उनी भन्छन्, 'यसरी हिँड्दा एक वर्ष त जम्मा २९ दिन मात्रै हाजिर भएको रैछु।'

०००

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित र समृद्धिका विषय एक–अर्काका पर्यायजस्तै हुन्। जहाँ स्थापित हुन्छन्, त्यहाँ मुलुकको विकास र समृद्धिकै बहस हुन्छ।

स्थापित विकासका बहस मात्र गर्दैनन्, अवसर पाउँदा बहसलाई व्यवहारमा उतारेका पनि छन्। ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौंका मेयर बनेका उनले माइतीघर, पशुपति क्षेत्र तथा तीनकुनेमा रहेका अव्यवस्थित घर हटाउने तथा ती क्षेत्रलाई आकर्षक क्षेत्र बनाएर आफ्ना योजनालाई व्यवहारमा देखाउन सक्छन् भनेर पुष्टि पनि गरे।

स्थापितको विकासवादी सोँच देखेरै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनका बेला उनलाई मेयरमा नियुक्त गरेका थिए। ०६९ मा बाबुराम भट्टराई नेतृत्व सरकारका बेला काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तको जिम्मेवारी पाएका उनले त्यतिबेला बाबुराम पत्नी हिसिला यमी सचिवालयको दबाब सहन नसकेर राजीनामा दिएको बताउँछन्।

हाल स्थापित सरकारको कुनै महŒवपूर्ण जिम्मेवारीमा त छैनन् तर उनी विकाससम्बन्धी काम गर्ने कुनै सरकारी अधिकारीभन्दा कम व्यस्त हुँदैनन्। उनको व्यस्तता काठमाडौ उपत्यका तथा समग्र मुलुककै विकास कसरी गर्न सकिन्छ भन्ने चिन्तन र अध्ययनमै हुने गर्छ।

उनी विकास र समृद्धिको योजना बनाउन र त्यसको अध्ययन गर्न सरकारी अधिकारीले जस्तो १०–५ को समय कुर्नुपर्दैन। विकास र समृद्धिबारे अध्ययन अनुसन्धानमै उनको दैनिकी बित्ने गर्छ।

दुर्गम नेपालले देखाएको समृद्धिको सपना

काठमाडौंमा जन्मे–हुर्केका स्थापितका लागि बाहिरी जिल्लाको अवस्था नौलो थियो, बाँकी नेपाल देखेका थिएनन्, जानकारी पनि थिएन। विद्यार्थीकालदेखि नै राजनीतिमा जोडिएका उनी नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा आबद्ध भएर ०४७ मा मेची–महाकाली अभियानमा निस्किए। अभियानका क्रममा उनी पूर्वी नेपालको विकट क्षेत्रदेखि पश्चिमको कर्णालीसम्म पुगे। काठमाडौं बाहिरको विकट भौगोलिक अवस्था देखेपछि उनलाई विकट क्षेत्रलाई कसरी सुगम बनाउने भन्ने चिन्ताले सताउन थाल्यो।

मेची–महाकाली अभियानअघि मुढेबलका भरमा राजनीति गर्ने उनी अभियानपछि मुलुकको समृद्धि, विकासकै बारेमा घोत्लिन थाले। 'पहिले–पहिले लडाइँ झगडा गर्ने, डरत्रास देखाउने काम पनि गरियो। जब काठमाडौंबाहिरको वास्तविक नेपाल देख्ने अवसर मिल्यो, ममा एकाएक परिवर्तन आयो,' उनले आफ्नो विगत सम्भि्कए।

अभियानकै बीचमा ०५१ मा उनी नेपाल खेलखुद परिषद्को सदस्य सचिवमा नियुक्त भए। परिषद्को जिम्मेवारी सम्हालेपछि उनले उच्च हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका साहसिक खेलकुद प्रतियोगितासम्बन्धी अवधारणा ल्याएका थिए।

'उच्च क्षेत्रमा यस्तो प्रतियोगिता गरी विदेशी सहभागी गराउँदा स्थानीयले जित्ने सम्भावना हुन्छ। किनभने उनीहरु त्यहाँको हावापानीमा अभ्यस्त हुन्छन्,' उनी भन्छन्, 'यसले विजेता मुलुकको रुपमा नेपालको प्रचार अन्तर्राष्ट्रिय स्तरमा हुन्छ। त्यतिबेला मैले नयाँ–नयाँ योजना सुनाउँदा परिषद्का अन्य कर्मचारी आश्चर्य मान्थे।'

०५४ मा काठमाडौंको मेयर बनेपछि उनले आफ्ना योजनालाई केही हदसम्म लागू पनि गरे। योजना मात्रै बनाउँछन्, व्यवहारमा ल्याउँदैनन् भन्नेहरूलाई उनले मेयर हुँदा जवाफ दिए। कार्यान्वयन नै गरेर देखाएपछि स्थापितको चर्चा एकाएक चुलिएको थियो। अहिले पनि उनीसँग मुलुक समृद्ध बनाउने हजारौँ योजना छन्।

खाँचो छ त त्यसको कार्यान्वयन गर्ने अवसर र प्लेटफर्मको। दिनरात विकास र समृद्धिकै सपना देख्ने उनी कतिपय योजना आफ्नै तहबाट पनि अघि बढाइरहेका छन्। तर सबै योजना आफ्नै तहबाट पूरा गर्न नसकिने र कतिपय योजना कार्यान्वयनका लागि राज्यस्तरीय सक्रियता र निर्णय आवश्यक पर्ने हुँदा उनी त्यस्तै समयको खोजी गरिरहन्छन्। कुनै पनि कुरामा सम्भावना देख्ने स्थापित आफ्नो रगतमै योजना र सम्भावना रहेको बताउँछन्।

'नेपालका नेताले विकास बुझ्दैनन्'

स्थापित ५८ वर्ष लामो जीवनकालमा विभिन्न राजनीतिक पार्टीमा आबद्ध भए। पहिलेदेखि नै नेकपा एमालेप्रति झुकाव राख्ने उनले बीचमा प्रजापरिषद्लाई पनि ब्यँुताए। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी निकटको आरोप लागेका उनी पछि संघीय समाजवादी पार्टीमा पनि लागेका थिए।

माओवादी निकट भएको आरोप भने उनी अस्विकार गर्छन्। 'गणतन्त्र स्थापना लगायत कतिपय विषयमा माओवादीसँग विचार मिल्थ्यो तर म कहिल्यै पनि माओवादी बनिनँ,' उनले भने। सैद्धान्तिक रुपमा निकट नभए पनि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालादेखि कम्युनिस्ट नेता तथा पूर्वपञ्च नेतासँग पनि उनको राम्रै सम्बन्ध थियो। राजनीतिक बुझाइमा भने आफ्नो सबैसँग मतान्तर रहेको उनी बताउँछन्। उनी भन्छन्, 'म विकास र समृद्धिका कुरा गर्थें, उहाँहरू यो राजनीति भएन भन्नुहुन्थ्यो। यहीँनेर अन्य नेता र मबीच वैचारिक अन्तर थियो। म राजनीति आमनागरिकको जीवन परिवर्तनका लागि हुनुपर्ने अडिग छु। राजनीतिक नेतृत्वले त्यसलाई बुझ्दैन।'

उनले विकास र समृद्धिबारे राजनीतिक नेतृत्वसँग छलफल गरिरहन्थे। तर, छलफलमा नेताले प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू नगरेको उनको गुनासो छ। 'यस्ता समस्या विशेषगरी कम्युनिस्ट नेतृत्वमा बढी छ,' उनी भन्छन्, 'बरु पूर्वपञ्चहरु यसमा सकारात्मक भएको पाएँ।'

सेनाबाट बच्न प्रजापरिषद्मा

सशस्त्र द्वन्द्वका बेला स्थापितले माओवादीलाई जुत्ता–कपडा लगायत सामग्री विदेशबाट मगाइदिन्थे। एकपटक उनले माओवादीका लागि क्यानडाबाट ६ वटा रेडियो मगाएका थिए। पक्राउ परेका माओवादी कार्यकर्ताले स्थापितबारे पनि सेनालाई जानकारी गराएछन्। 'त्यसपछि म सेनाको निगरानीमा परेको रहेछु,' उनी भन्छन्, 'राजाले मलाई मार्न तीनजनाको स्क्वाड बनाएको सूचना मलाई पूर्वसेनापति रुक्मांगत कटवालले दिनुभयो। अनि भागेर अमेरिका पुगेँ र प्रजापरिषद् ब्युताएँ।'

त्यतिबेला राजालाई ढाँट्नकै लागि प्रजापरिषद् ब्युँताएको उनी बताउँछन्। 'राजाले जुनसुकै बहाना बनाएर मार्न सक्ने भन्दै नेपालबाट भाग्न मलाई कटवालले सुझाव दिनुभयो,' उनी भन्छन्।

माओवादी शान्तिप्रक्रियामा आएपछि उनको पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग राम्रै सम्बन्ध रह्यो। त्यस बीचमा उनले प्रचण्डसँग मीत पनि लगाए। हाल उनको प्रचण्डसँग भेटघाट हुँदैन। 'मीतको साइनो उहाँले नै गाँस्नु भएको थियो, उहाँले नै पछि चासो दिन छाड्नुभयो, मैले पनि चासो राखिनँ,' उनले भने।

'राजाले बढी नबोल भन्दै निकाले'

सानैदेखि राजतन्त्रको विरोध गर्ने स्थापित राजाको प्रत्यक्ष शासनका बेला दोस्रोपटक काठमाडौंको मेयरमा नियुक्त भए। उनले विगतमा मेयर भएर गरेको कामबाट प्रभावित भएर राजाले उनलाई मेयरमा नियुक्त गरेका थिए।

राजसंस्थाको भविष्यका विषयमा तत्कालीन राजा ज्ञानेन्द्रले विभिन्न व्यक्तिसँग छलफल अभियान नै चलाएका थिए। 'राजाले मलाई बोलाएर राजसंस्थाको भविष्यबारे जिज्ञासा राखेका थिए,' स्थापित भन्छन्, 'त्यतिबेला मैले राजसंस्थाको भविष्य नभएको तर राम्रो काम गरे केही लामो समयसम्म टिक्न सक्ने बताएको थिएँ। मेरो जवाफबाट क्रुद्ध बनेका राजाले बढी नबोल भन्दै निकालिदिए।'

इन्जिनियरिङ नपढ्दा प्रेमिकाले छाडिन्

२०३५ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको विद्यार्थी हुँदा उनी कसैको प्रेममा थिए। राजनीतिप्रतिको लगाबका कारण जब उनी सरस्वती क्याम्पसमा भर्ना भए, प्रेमिकालाई पनि छाड्नुपर्‍यो। 'राजनीति रोज्दा मैले प्रेमिका गुमाएँ,' स्थापित पुराना दिन सम्झन्छन्, 'उनले एउटा सर्त राखेकी थिइन्, बिहे गर्न इन्जिनियर बन्नुपर्ने। म इन्जिनियर नबन्ने भएपछि उनले मलाई छाडिन्।'

प्रेमिका गुमाउनुपर्दा उनलाई कति पीडा भयो होला? उनी भन्छन्, 'गाह्रो त भयो तर त्यो पीडाले राजनीतिमा सक्रिय हुन थप ऊर्जा प्रदान गर्‍यो।'

हाफ पाइन्टका सोखिन

स्थापित पहिरनमा अलि बढी नै सोखिन छन्। पछिल्लो समय भने उनले पहिरनमा अलि कम चासो दिन थालेका छन् तर अहिले पनि उनीसँग ४०–४५ वटा हाफ पाइन्ट छन्। 'पहिले–पहिले ओभर कोट र घडीको निकै सोखिन थिएँ, विभिन्न ब्रान्डका घडी कलेक्सन नै गर्थें। एकपटक त मसँग ३० वटा ओभरकोट मात्रै थिए,' उनी भन्छन्, 'पछि हाफ पाइन्टको सोख छ। मोबाइल आएपछि भने घडी लगाउन छाडेँ।'

भान्सामा अब्बल

विकासवादी योजनाका खानी स्थापित भान्सामा पनि अब्बल छन्। उनी घरमा अधिकांश समय आफैँ खाना बनाउँछन्। अहिले पनि उनी दैनिक पाँच–सात किसिमको परिकार बनाउँछन्। 'मैले बनाएको खान आफन्त तथा साथीभाइ आइरहन्छन्,' उनी भन्छन्, 'कतिले सुन्दै नसुनेका ५०औँ स्वादिष्ट परिकार म बनाउँछु।' 

घरमा उनी नेवारी तथा तिब्बती मिक्स शैलीका कैयौँ स्वादिला परिकार बनाउँछन्।

'सिताके च्याउको छोइला बँदेलको मासुभन्दा मीठो बनाउँछु,' आफूले मीठो बनाउने खानाबारे उनी भन्छन्, 'तर मैले भात भने कहिल्यै पकाउँदिनँ। किनभने भात पकाउन कुनै कला नै चाहिँदैन।'

अनियमित दैनिकी

उनको दैनिकी भने नियमित छैन। कतिबेला सुत्ने र कतिबेला उठ्ने भन्ने निश्चित तालिका छैन। सकेसम्म बिहान ६ बजे उठ्ने प्रयास गर्छन्। उनी भन्छन्, 'दैनिकीमा भने म व्यवस्थित मान्छे होइन।' उनी उनी मासु कम खान्छन्, बेलुका निकै सामान्य खाना खान्छन्। प्रत्येक दिन बिहान आफैँले बनाएको ब्राम्मे चिया एक लिटर खान्छन्। सार्वजनिक ठाउँमा सकेसम्म मदिरा सेवन गर्दैनन्। कसैले घरसम्म पुर्‍याइदिने भए मात्रै केही मदिरा सेवन गर्छन्।

दोस्रोपटक काठमाडौंको मेयर भएपछि उनको दैनिक निकै अस्तव्यस्त बनेको थियो। उनी भन्छन्, 'मेरो जीवन त्यतिबेला आधा लासजस्तै थियो।' एसिडिटी तथा घुँडा दुख्ने लगायत समस्या रहेका उनलाई परिवारका सदस्यले जबर्जस्ती विपश्यना पठाएका थिए। १० दिनको विपश्यना बसाइले आफ्ना सबै पुराना रोग निको भएको उनी बताउँछन्। 'विपश्यनाबाट संसार र आफैँलाई बुझ्ने अवसर पाएँ,' उनले भने।

प्रकाशित: २६ चैत्र २०७३ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App