१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहाल र देउवाबीच दरार

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताका प्रमुख साझेदार शेरबहादुर देउवाबीच स्थानिय तहको निर्वाचन र सर्वोच्चको फैसलापछि प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर दरार उत्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र देउवाबीच ती विषयमा लामो कुराकानी भएपनि आइतबारको द्विपक्षीय बैठक कुनै निष्कर्षमा पुग्न सकेन जसका कारण स्थानीय तहको निर्वाचन र प्रहरी महानिरीक्षक नियुक्तिको विषय अन्योलमा छ।

सोमबार पेस गर्ने भनिएको संविधान संशोधनका लागि ‘पूरक संशोधन’ प्रस्ताव पनि अन्योलमा परेको छ भने दुई सातादेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।सत्ताको प्रमुख साझेदार देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नआए पनि निर्वाचनमा जानुपर्छ भनेर अडान कस्न थालेका छन् भने प्रधानमन्त्री दाहाल मोर्चालाई मनाएर मात्रै निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।

‘प्रधानमन्त्री मधेसी मोर्चालाई पनि साथ लिएर निर्वाचनमा जानुपर्छ भनेर लागिरहनुभएको छ तर देउवाभने मोर्चालाई छाडेर भए पनि निर्वाचनलाई बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले नागरिकसँग भन्यो । स्रोतका अनुसार मोर्चाले मिति सारेर निर्वाचनमा जानुपर्ने सर्त राखेपछि देउवाले प्रधानमन्त्रीलाई सत्ता लम्ब्याउनका लागि प्रयास गरेको आरोप लगाएका छन् । जबाफमा प्रधानमन्त्री दाहालले ‘निर्वाचनको मिति सार्ने पक्षमा आफू नरहेको’ प्रस्ट पारेका छन् । दाहालले आगामी बजेटसमेत कांग्रेस नेतृत्वको नयाँ सरकारलाई ल्याउन दिने भन्दै देउवालाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्री दाहाल मोर्चाले माग गरेअनुसारस्थानीय तहको संख्या बढाइने क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउनुपर्ने सोचमा छन् । ‘जहाँजहाँ स्थानीय तहको संख्या बढाइन्छ, त्यहाँत्यहाँ दोस्रो चरणमा निर्वाचन गराउन सकिन्छ भन्ने विकल्प प्रधानमन्त्रीले दिनुभएको हो’, दाहाल निकट स्रोतले भन्यो ।

दाहाल–देउवाविवादकै कारण प्रहरी महानिरीक्षकको नियुक्तिसमेत हुन सकेको छैन । देउवाको प्रस्तावअनुरूप जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपनि सर्वोच्च अदालतले बदर गरिदिएपछि दाहाल–देउवा अनिर्णयको बन्दी भएका हुन् ।

त्यसो त दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाको मर्यादाक्रम विवादले पनि दाहाल र देउवाबीचको सम्बन्धमा खटपट उत्पन्न गरिदिएको छ । चीन भ्रमणबाट फर्केपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री दाहाललाई देउवाले निधिलाई नै दोस्रो वरीयतामा राख्न दबाब दिएका थिए। तर, दाहाल यसअघि पनि उपप्रधानमन्त्री भएका थापालाई पहिलो नम्बरमा राख्नुपर्ने पक्षमा छन् ।

 

प्रकाशित: २१ चैत्र २०७३ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App