१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अड्कियो मोर्चासँग सहमति

काठमाडौं-सरकार र मधेसी मोर्चाबीच हुने भनिएको सहमति अन्तिम समयमा आएर अड्किएको छ। सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार फेरि प्रयास गर्ने भएका छन्।

माओवादी केन्द्रका नेताको शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकमा शुक्रबार सरकार पक्ष र मोर्चाबीच भएको छलफलको समीक्षा भएको थियो ।

शुक्रबारको बैठकमा संंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्त राखेका कारण सहमति भाँडिएको नेताहरूले बताएका छन् । यादवले मतदाता नामावलीमा छुटेका नाम राख्न र निर्वाचन आयोगमा दल दर्ता गराउन आयोगले समय दिनुपर्ने सर्त राखेका थिए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिएनन् । यादवले राखेको   सर्तमा पार्टी सभापति तहमै छलफल गर्नु भन्दै बैठकमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले असहमति जनाएका थिए ।

मोर्चाका नेताहरूले मतदाता नामावलीमा छुटेको नाम राख्न र दल दर्ताका लागि समय दिन निर्वाचन मिति केही पर पनि सार्न साकिने बताएका थिए । तर सरकारले भने निर्वाचन तिथि सार्ने विषयमा सहमति जनाएन । निर्वाचन तिथि सार्न सिटौलाले पनि सहमति जनाएनन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेसी मोर्चालाई  चुनावमा ल्याउन निर्वाचन तिथि सार्न सकिने भन्दै सरकार यसमा तयार नभए मोर्चासँगको सहमति अघि नबढ्ने बताए । ‘मधेसी मोर्चालाई चुनावमा ल्याउन सरकारले चुनाव मिति पनि सार्न सक्नुपर्छ । चुनाव सार्न सक्दैनांै भन्ने अडान राख्ने हो सहमति जुट्न सक्दैन’, भण्डारीले भने ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले चुनाव मिति सार्ने सम्भावना नभएको भन्दै तोकिएको मितिमै चुनाव हुने बताए । ‘चुनाव मिति सार्ने छलफल नै भएको छैन । यसमा सरकारले सहमति जनाउन सक्दैन’, आचार्यले भने ।

शुक्रबारको बैठकमा सरकार र मधेसी मोर्चाबीच संविधानको धारा २७४ मा संशोधन गर्ने, राष्ट्रियसभाको निर्वाचन मण्डलबाट गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई हटाउने, सीमांकनको समस्या सुल्झाउन शक्तिशाली सीमांकन आयोग गठन गर्ने, संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा सीमांकनबाहेक अन्य विषयलाई फास्ट ट्र्याकबाट संशोधन गर्ने सहमति जुटेको थियो । तर सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि फोरम नेपालका अध्यक्ष यादवले मतदाता नामावलीमा छुटेको नाम राख्न निर्वाचन आयोगले समय दिनुपर्ने सर्त राखेका थिए । ‘यादवको सर्तलाई कांग्रेस नेता सिटौलाले अस्वीकार गर्दै छुटेको नाम राख्न समय दिने हो भने वैशाख ३१ गते चुनाव हुन नसक्ने ठोकुवा गरे । त्यसपछि वार्ता भाँडियो’, स्रोतले भन्यो ।

‘सरकार र मधेसी मोर्चाको संयुक्त कार्यदलबीच पाँचवटा विषयमा सहमति भएको थियो । हामीले हाम्रो काम पूरा ग¥यौं । अब प्रधानमन्त्रीले म आफंै ‘सिंगल–सिंगल’ वार्ता गरेर समाधान गर्छु भन्नुभएको छ’, कार्यदलमा रहेका दीपक बोहराले नागरिकसँग भने, ‘अब प्रधानमन्त्री आफंैले समस्या समाधान गर्न पहल गर्नु हुनेछ ।’

फोरम नेपालका अध्यक्ष यादवले भने मोर्चालाई चुनावमा ल्याउन सरकार गम्भीर नभएको बताए । ‘अब हामी सरकारसँग वार्ता होइन, आन्दोलनतिर जान्छौं’, यादवले भने, ‘सरकारसँग कति वार्ता गरिरहेन ? अब वार्ता गर्ने मुडमा छैनौं ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीले आइतबार कांग्रेस सभापति र मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक वार्ता गर्ने भएका छन् । माओवादी निकट स्रोतले भन्यो, ‘अब बल कांग्रेसको कोर्टमा छ । यादवले राखेको सर्त कांग्रेसले मान्यो भने मधेसी मोर्चासँग सहमति नत्र हुँदैन । शुक्रबार सरकारसँग वार्ता गरी काठमाडौंबाहिर गएका मधेसी मोर्चाका शीर्ष नेताहरू आइतबार दिउँसोसम्म काठमाडौं फर्कनेछन् ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आइतबार   सरकारसँग सहमति हुने सम्भावना कम रहेको बताए । ‘हामी हेर्दैछौं । तर प्रधानमन्त्रीले आइतबार नै हामीसँग सहमति गर्ने सम्भावना कम छ’, झाले भने ।

यसैगरी रामसपाका महासचिव केशव झाले सरकार र मधेसी मोर्चाबीच तत्काल सहमति नहुने बताए । ‘हामीले हाम्रा कुरा राखेका छौं । हाम्रा कुरालाई उहाँहरूले मान्नुभयो भने सहमति हुन्छ,  नभए सहमति हुने स्थिति मैले देखेको छैन ।’

प्रकाशित: २० चैत्र २०७३ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App