१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रमलाई आयोगको आग्रह : प्रदेश २ को बाधा हटाइदिनूस्

काठमाडौं- निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा राजनीतिक कारणले निर्वाचन तयारीमा समस्या भएको भन्दै तत्काल समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। चीन भ्रमणबाट फर्किएको भोलिपल्ट अर्थात् बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगको टोलीले निर्वाचन तयारीमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो।

भेटमा आयोग टोलीले प्रदेश दुईका ६ जिल्लामा अझैं मतदान केन्द्र टुंगो लाग्न नसकेको र ती जिल्लास्थित निर्वाचन कार्यालयको तयारीमा मधेसी मोर्चाका नेताले अवरोध गरेको भन्दै तत्काल आवश्यक वातावरण बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले आफूहरूले प्रदेश दुईलगायत देशभरका निर्वाचनसँग सम्बन्धित विषय प्रधानमन्त्रीसँग राखेको बताए। 'प्रदेश दुईलगायत समग्र देशको अवस्था र निर्वाचन तयारीबारे हामीले प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौं,' छलफलमा सहभागी निर्वाचन आयुक्त  दाहालले नागरिकसँग भने, 'उहाँले जनता मत खसाल्न आतुर छन्, राजनीतिक सहमतिको प्रयास भइरहेको छ, वैशाख ३१ गते एकै चरणमा निर्वाचन हुन्छ तपाईंहरू अघि बढनुस् भन्नुभयो।'

निर्वाचन आयुक्त दाहालका अनुसार आयोग टोलीले मतपत्र छाप्ने काम सुरु भइसकेको, मतदाता अन्तिम नामावली प्रकाशन तयारीमा रहेको, मतदातालाई परिचयपत्र बाँडने तयारी पनि  भइरहेको, अधिकांश जिल्लामा मतदान केन्द्र निर्धारण भइसकेको लगायत विषय प्रधानमन्त्रीलाई जानकारी गराएको छ। उनले आयोगको तयारीमा प्रधानमन्त्री दाहाल सन्तुष्ट रहेको पनि बताए।

आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले अब स्थानीय तहको संख्या पनि नथपिने र निर्वाचन पनि एकै चरणमा हुने स्पष्ट पारेका थिए। स्थानीय तह संख्या थपेर भए पनि मधेसी मोर्चासँग सहमति गर्ने तयारी भइरहेको भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्री दाहालले अब संख्या नथपिने स्पष्ट पारेका हुन्। आयोगका पदाधिकारीले अहिले कायम संरचना र मितिमा हेरफेर भए निर्वाचन गर्न कठिन हुने बताएका थिए।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक समस्या तत्काल समाधान गर्ने र निर्वाचन सुरक्षा प्रत्याभूति गराउने बताएका थिए। 'आचारसंहिता कडा भयो भन्ने गुनासो छ तर म खुसी छु,' प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै प्रवक्ता शर्माले भने, 'तोकिएको मितिमै निर्वाचन गर्ने हो, शान्तिसुरक्षा र राजनीतिक वातावरणमा ढुक्क हुनुस्।'

प्रकाशित: १८ चैत्र २०७३ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App