१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिस्पर्धा कांग्रेससँग : एमाले

काठमाडौं- एमालेले प्रदेश दुईमा चुनावी प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको निष्कर्ष निकालेको छ। महोत्तरीको बर्दिवासमा बिहीबार सम्पन्न एमालेको दुईदिने प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले यस्तो निष्कर्ष निकालेको हो।

'सबै जिल्लामा चुनावका लागि उत्साहपूर्ण अवस्था रहेको जिल्ला कमिटीका अध्यक्षले जनाउनुभएको छ। मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने मूल्यांकन हो,' सचिव योगेश भट्टराईले भने, 'एमाले शक्तिशाली देखिएकाले सबै एकातिर भएको निष्कर्ष हो।'

मधेसी मोर्चाका नाममा भइरहेका गतिविधि पछाडि कांग्रेसको सक्रिय भूमिका रहेको र माओवादीलेसमेत त्यसबाट लाभ लिन खोजिरहेको एमाले निष्कर्ष छ।

भेलामा सप्तरीका जिल्ला कमिटी अध्यक्ष गोविन्द न्यौपानेले राजविराज घटनापछि मोर्चाका कार्यकर्ताले एमाले नेता तथा कार्यकर्तालाई धम्क्याउने काम जारी राखेकाले केही समस्या रहेको रिपोर्टिङ गरेका थिए। एमालेको मेची–काली राष्ट्रिय अभियानअन्तर्गत राजविराजको कार्यक्रममा मोर्चाले अवरोध गर्न खोज्दा प्रहरीसँगको झडपमा ५ जनाको मृत्यु भएको थियो। एमालेले त्यसपछि प्रदेश २ का सबै कार्यक्रम स्थगित गरेको थियो।

संविधान संशोधनबिना चुनावमा भाग नलिने मोर्चाले जनाउँदै आएको छ भने एमालेले संविधान संशोधन प्रस्ताव असफल बनाउने बताउँदै आएको छ।

दुईदिने भेलाले अबका सबै कार्यक्रम स्थानीय चुनावलाई लक्षित गर्दै आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए। 'जिल्लास्तरमा कार्यकर्ता भेलापछि स्थानीय तहमा  आमसभा हुने छ,' साहले भने, 'केही दिनभित्रै स्थानीय तहअनुसार पार्टी संगठनको संरचना निर्माण हुनेछ।'

बर्दिवास भेलामा प्रदेश २ का केन्द्रीय नेता, प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य, क्षेत्रीय तथा गाउँ कमिटी पदाधिकारीको सहभागिता थियो।

प्रकाशित: १८ चैत्र २०७३ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App