२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आन्दोलन छाडेर कार्यकर्ता तानातान

काठमाडौं- संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने घोषणा गरेका मधेसी मोर्चाका शीर्ष नेताहरू अहिले आन्दोलनका कार्यक्रमभन्दा पनि अर्को पार्टीका कार्यकर्ता आफ्नो पार्टी प्रवेश गराउने कार्यमा व्यस्त हुन थालेका छन्।

मोर्चासँग आबद्ध दलका शीर्ष नेताहरू केही दिनयता अर्को पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउने  होडबाजीमा छन्। स्थानीय तहको चुनावको संघारमा मोर्चाका स्थानीय नेताहरू पनि एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्न थालेका छन्। अर्को पार्टीका कार्यकर्ताहरूलाई  आफ्नो पार्टीमा  प्रवेश गराउन पार्टी अध्यक्ष र शीर्ष नेता नै सक्रिय छन्। पार्टी प्रवेश कार्यक्रममा सकेसम्म केन्द्रीय अध्यक्ष नै सहभागी हुने गरेका छन्। 

संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा पार्टी प्रवेश गर्नेलाई अबिर लगाएर  स्वागत गरे।  पूर्व शिक्षक मानिक घिसिङको नेतृत्वमा दुई सय जना फोरम नेपालमा प्रवेश गरेको दाबी सो पार्टीका नेताको छ। शनिबार साँझ यादव  काठमाडौंबाट विराटनगगर गए। आइतबार उनी सप्तरी जाने छन्। सप्तरीमा पनि उनले पार्टी प्रवेश गराउने कार्यक्रम छ। 

अघिल्लो आइतबार पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन यादव वीरगन्ज पुगेका थिए। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो शनिबार सर्लाहीको मलंगवामा व्यस्त रहे। त्यहाँ पनि उनले पार्टी प्रवेश गराएको पार्टी महासचिव मनिष सुमनले बताए। 'प्रायः दिनदिनै पार्टी प्रवेश कार्यक्रम हुन गरेको छ,' सुमनले भने। शुक्रबार पनि महतो  जनकपुरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भए।

यसैगरी राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी शुक्रबार महोत्तरीको बर्दिबासमा पार्टी प्रवेश कार्यक्रमा व्यस्त रहे। आइतबार सप्तरीमै यस्तै कार्यक्रम राखिएको पार्टी महासचिव केशव झाले बताए। यो साताभरि नै उनी मधेसका विभिन्न जिल्लामा यस्तै कार्यक्रममा व्यस्त भइरहे।

यसैगरी नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा शुक्रबार काठमाडांैमा आयोजित यस्तै कार्यक्रममा सहभागी भए। कालीमाटीमा आयोजना गरिएको पार्टी प्रवेश गराउने कार्यक्रममा नयाँ शक्तिबाट नेपाल सद्भावना मा प्रवेश गरेका कार्यकर्तालाई अध्यक्ष झाले अबिर र माला लगाइदिए। नेपाल सद्भावना पार्टीले वैशाख ३, ४ र ५ गते काठमाडांैमा बृहत् कार्यक्रम गर्ने भएको छ।

चैत ३ गते वीरगन्जमा सद्भावना पार्टी अध्यक्ष महतो सहभागी पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य रामेश्वर यादव र पूर्वसांसद रम्भादेवी यादवले सद्भावनामा पसेको घोषणा गरेका थिए। राष्ट्रिय मधेस सद्भावना पार्टीका केेन्द्रीय सदस्य राजेशमान सिंहले आफ्नो पार्टीले जिल्लामा गरेको काम देखेर प्रभावित भई अर्को पार्टीका स्थानीय नेताकार्यकर्ता प्रवेश गर्ने लहर चलेको दाबी गरे।

प्रकाशित: १३ चैत्र २०७३ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App