काठमाडौं – नयाँ शक्ति पार्टीनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ। बुधबार काठमाडौंमा सोसाइटीले चियापान कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो। गत वर्ष २०७२ फागुन २५ गते सोसाइटीको स्थापना गरिएको थियो। संगठन स्थापना भएको एक वर्षमै देशैभरी संगठनको सम्पर्क स्थापना भएको र ४३ जिल्लाहरुमा जिल्ला समिति गठन गरिसकिएको सोसाइटीका संयोजक रुद्र भट्टले जानकारी दिए।
स्थापना दिवसमा बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सूचनाको हक महत्वपूर्ण भएकाले यतिबेला सबै जनता सुसूचित हुनु पाउनु पर्ने बताए। उनले पत्रकारहरुले सत्य, तथ्यमा आधारित भएर सूचना प्रवाह गर्नुपर्ने र त्यसलाई विकास र समृद्धिमा जोडनुपर्ने कुरामासमेत जोड दिए।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संगठन निर्माण भएको एक वर्ष पुगेको उपलक्ष्यमा महासंघको तर्फबाट शुभकामना व्यक्त गर्दै नेपालजस्तो देशमा पत्रकारिता राजनीतिक परिवर्तन र आन्दोलनमा पनि जोडिने कुरा बताए। उनले नेपालको परिवर्तनमा पत्रकारहरुको सबैभन्दा ठूलो भूमिका रहेको उल्लेख गर्दै अबको पत्रकारिता आरोप, प्रत्यारोपबाट मुक्त भएर विकास र समृद्धिकेन्द्रीत हुनुपर्ने बताउँदै नेपाल प्रेस सोसाइटीले अगाडि सारेको नारा सान्दर्भिक रहेको टिप्पणी गरे।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नयाँ शक्ति निकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटी स्थापना भएर विकास र समृद्धिसहितको पत्रकारिता गर्नु सुखद पक्ष रहेको भन्दै शुभकामना व्यक्त गरे।
प्रकाशित: २५ फाल्गुन २०७३ ०७:१८ बुधबार