२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘लोभीपापी नेतालाई सामाजिक बहिस्कार नगरे देश उँभो लाग्दैन’

खोटाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोभीपापी नेतालाई सामाजिक बहिस्कार गर्ने संस्काबरको विकास गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले शनिबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरेको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले लोभीपापी नेता भएको देश कहिल्यै उँभो नलाग्ने भएकाले उनीहरुलाई सामाजिक बहिस्कार गर्ने संस्कारको बिकास गर्नुपर्नेमा जोड दिएका हुन्।

‘जुन देशमा नेताहरु लोभीपापी हुन्छन् त्यो देश कहिल्यै बन्दै बन्दैन,’ जिबिसको समिक्षालय हलमा आयोजित कार्यक्रममा नेता गुरुङले भने, ‘त्यसैले लोभीपापी नेता छन् भने तिनलाई सामाजिक बहिस्कार गर्न आवश्यक छ । यसको सुरुवात आफैंबाट सुरु गर्नुपर्छ ।’

कांग्रेस नेताहरु मध्ये कसैले आश्रममा, कसैले भतिजाको घरमा बसेर जीवन बिताएको उल्लेख गर्दै नेता गुरुङले कम्युनिष्ट नेताले भने विलासीतापूर्ण जीवन बिताइरहेको भन्दै आलोचना गरे।

‘कम्युनिष्ट नेता झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको कुरा गरौँ,’ गुरुङले भने, ‘सर्वहाराको नेता हुँ भन्ने तर काठमाडौंको ठूला–ठूला महलमा बस्नु पर्ने कस्तो कम्युनिजम हो ?’ आफू बदलिए मात्र अरुलाई बदल्न सकिने उनले बताए।

दिनभर राजनीतिका नाममा हिँड्ने कतिपय नेताले श्रीमतीलाई महारानीकोजस्तो सुखसयलमा राखेको उल्लेख गर्दै गुरुङले त्यस्ता विलाशी जीवन बिताउनेहरुको आर्थिक स्रोतमाथि प्रश्न गरे । ‘राजनीति आफ्नो लागि हुँदै होइन। देश र जनताकालागि हो,’ नेता गुरुङले प्रश्न गरे, ‘दिनरात राजनीति भनेर दौडिने अनि श्रीमतीलाई महारानीजस्तो पाल्ने ? कहाँबाट आउँछ पैसा ? भोली त्यस्ता मान्छे नेता भए हाम गर्छ की गर्दैन ?’ उनले आफ्नो परिवारलाई बदल्न नसक्ने नेताबाट देश र समाज परिवर्तनको अपेक्षा गर्न नसकिने बताए।

नेतालाई किलो किलोको फूल माला लगाइदिने खर्च गरीबभन्दा गरीब परिवारका छोराछोरीलाई कापीकलम दिए पुण्य हुने गुरुङले बताए। ‘प्रधानमन्त्री, मन्त्रीलाई सयौँ किलोको माला लगाइदिएको सुन्छु,’ गुरुङले भने, ‘उपचार खर्च नपाएर आत्महत्या गर्नुपर्ने बाध्यतामा बाँचेका नेपालीको नेता हौँ की होइनौँ ? गरीब नेपालको मन्त्री, प्रधानमन्त्री हुने अनि किलोको किलो माला लगाएर रमाएर हिँडेपछि यो देश कसरी परिवर्तन कसरी हुन्छ ?’ उनले फजुल खर्च संस्थागत रुपमा हटाउनु पर्नेमा जोड दिए ।

 

प्रकाशित: ७ फाल्गुन २०७३ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App