२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल हुनुपर्ने सांसदको माग

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन्। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन लागेको भारत भ्रमणबारे संसद्मा जानकारी गराउनुपर्ने माग राखेका हुन्।  

सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको विषय महत्वपूर्ण रहेकाले त्यसबारे संसद्भित्र छलफल हुनुपर्ने बताए। ‘भारतसँगको सम्बन्ध हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ, त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ, भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौं, अहिले पनि ती समस्या विद्यमान छन्,’ उनले भने, ‘भारतसँग सन् १९५० को सन्धि ७३ वर्ष भइसक्यो, यसलाई फेर्नुपर्यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो तर आजसम्म त्यो आलटाल भइरहेको छ।’  

दुवै देशका प्रबुद्ध व्यक्तिको समूहले बनाएको प्रतिवेदन अझै भारतले नबुझेको र त्यसबारे यो भ्रमणमा के हुन्छ? भन्दै उनले भारतलाई मात्र फाइदा हुने महाकाली सन्धि पनि फेर्नका लागि आवाज उठाउनुपर्ने बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यका निकाय आफैं भ्रष्टाचारमा लिप्त हुँदा भ्रष्टाचारसम्बन्धी कानुन कार्यान्वयन हुन नसकेको बताए। ‘कानुन नभएकाले भ्रष्टाचार मौलाएको होइन। भएका कानुन प्रभावकारी ढंगले कार्यान्वयन भएनन् र राज्यका ‘मेकानिजम’ आफैं भ्रष्टाचारमा लिप्त भए। त्यहीँभित्र डुबेको कारणले यो समस्या आएको हो,’ उनले भने। देश भ्रष्टाचारका कारण कंगाल भएको, अर्थतन्त्र जर्जर भएको र जनतामा निराशा बढ्दै गएको भन्दै उनले यो समस्या समाधान गर्ने इच्छाशक्ति भएको नेतृत्व देशले पाउन नसकेको बताए। उनले प्रस्तावित भ्रष्टाचारसम्बन्धी विधेयकमा जति भ्रष्टाचार गरे पनि १४ वर्षभन्दा बढी जेल बस्न नपर्ने प्रावधानलाई अझै बढाउनुपर्ने बताए। राजकीय पदमा रहेकाहरूलाई भ्रष्टाचारमा मुद्दा चलाउन पाँच वर्षे हदम्याद रहने प्रावधानको विरोध गर्दै उनले भने, ‘भ्रष्टाचारमा हदम्याद राख्नुहुँदैन, जहिले पनि छानविनको दायरामा ल्याउन पाउनुपर्छ।’

कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास भएको भन्दै विरोध गरे।  

‘भारतसँगको सम्बन्ध हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ, त्यो सम्बन्ध सुदृढ होस्, फलदायी होस् भन्ने हाम्रो चाहना छ, भारतसँगको सम्बन्धमा इतिहासदेखि नै हामीले थुप्रै समस्या झेल्दै आएका छौं, अहिले पनि ती समस्या विद्यमान छन्, भारतसँग सन् १९५० को सन्धि ७३ वर्ष भइसक्यो, यसलाई फेर्नुपर्यो भनेर २८ वर्षपहिले मनमोहन अधिकारीले भारत भ्रमणको क्रममा उठाउनुभएको थियो तर आजसम्म त्यो आलटाल भइरहेको छ।’

भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था राखेर राष्ट्रियसभाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। यस्तो व्यवस्था कुनै हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ छ। ‘पाँच वर्षभित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने भन्ने कुरा सबै भ्रष्टाचार गर्नेहरू बच्नको निम्ति ल्याएको हो, यो कुनै हालतमा हुन्न,’ उनले भने।

कांग्रेसका नेता प्रकाशमान सिंहले बर्खाको समयमा पनि मेलम्चीको पानी काठमाडौंमा निरन्तर आइरहने व्यवस्था मिलाउन माग गरे। उनले बर्खामा पनि मेलम्चीको पानी काठमाडौंका घर–घरमा आउने गरी काम गरिनुपर्ने बताए। ‘वर्षायाम सुरु हुँदै छ।  

मेलम्चीको पानी फेरि रोकिने हो कि भन्ने पिर काठमाडौंवासीलाई छ’भन्दै उनले यसबारे ध्यान दिनुपर्ने बताए। कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि पुँजीगत खर्च कटौती गर्न नहुने बताए। उनले पुँजीगत खर्च कटौती गरेर मुलुकको अर्थतन्त्र उकास्न नसकिने बताए। उनले भने, ‘कृषिमा आधुनिकीकरण गरौं, कृषिमा वैज्ञानिकीकरण गरौं भनिरहँदा लगाएको बाली टिप्ने बेलामा कुनै पनि प्रकारको अवरोध आउन दिन हुँदैन भन्दै अहिले बाँदरले समस्या निम्त्याएकाले यसको समाधानको उपाय खोज्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेबाट निर्वाचित भई फौजदारी अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी लगातार १० बैठकमा अनुपस्थित हुँदा पनि कारबाही नभएको भन्दै प्रश्न गरिन्, ‘सांसद कोइरी सभामुखलाई जानकारी दिएर हो कि नदिई हो? अनुपस्थित भएको जानकारी चाहियो।’

अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा समावेश गरिने कार्यक्रमबारे कांग्रेसका सांसदसँग सुझाव लिएका छन्। सोमबार कांग्रेस सांसदसँग उनले आगामी बजेटबारे सुझाव माग गरेका थिए। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थानलाई केन्द्रित गरेर कार्यक्रम ल्याइनुपर्ने कांग्रेस सांसदको सुझाव रहेको एक नेताले बताए। ‘सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भयो,’उनले भने, ‘बजेटका सिद्धान्त, प्राथमिकता र आधारबारे सांसदहरूले आफ्नो राय दिनुभयो।’

‘देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ सांसद नरहेको जानकारी गराएका छन्। मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले सांसद पद नरहेको जानकारी गराएका हुन्। एक व्यापारीसँग दुई करोड रूपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो। रास्वपाले कारबाही गरेको पत्र गत वैशाख ३ गते दिएपछि त्यसैअनुसार १५ दिनभित्र सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसद्लाई गराएका हुन्।

प्रकाशित: १३ वैशाख २०८० ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App