१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षसँग सहमति जुटाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली। फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन पहल थालेका छन्। दाहालले आइतबार बिहान ललितपुरको गोप्य स्थलमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरी समर्थन लिने प्रयास गरे। तर, बैठकमा दाहाल र  ओलीले आआफ्ना पूर्वअडान नै दोहोर्‍याएको स्रोतले बतायो।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्ष दल एमालेलाई चिढाएर संविधान संशोधनको विषय संसद्मा लैजाने पक्षमा छैनन्। ‘प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्ष दललाई चिढाएर संविधान संशोधन टेबुल गर्ने पक्षमा हुनुहुन्न, अझै पनि उहाँबाट एमालेसँग सहमति खोज्ने प्रयास भइरहेको छ,’ प्रवक्ता भुसालले नागरिकसँग भनिन्, ‘त्यसै अनुरुप एमालेसँग पनि प्रधानमन्त्रीले निरन्तर छलफल गरिरहनुभएको छ ?’ उनका अनुसार प्रधानमन्त्री दाहाल र एमालेका वरिष्ठ नेताबीचमा पनि संविधान संशोधनलगायत अन्य विषयमा पनि सहमति खोज्ने प्रयास भइरहेको छ।

प्रधानमन्त्री दाहालले संसदीय प्रक्रियाबाट सहमति खोज्न गरेको आग्रह एमालेले स्वीकार गरिनसकेको भुसालले बताइन् । ‘एमाले पनि  देशको ठूलो राजनीतिक शक्ति हो, त्यसलाई चिढाएर जाँदा भोलि संविधान कार्यान्वयनमा समस्या आउन सक्नेमा प्रधानमन्त्रीज्यू सचेत हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि उहाँ सहमति खोज्ने प्रयासमा हुनुहुन्छ ।’ उनका अनुसार संविधान संशोधन टेबुल गर्नुअघिसम्म प्रधानमन्त्रीबाट त्यसको प्रयास हुनेछ ।

यता, एमाले अध्यक्ष ओलीनिकट नेता अग्नि खरेलले दाहाल–ओली भेटघाटमा अरु कसैलाई प्रवेश नदिइएको बताए । ‘दुवै नेताबीच संविधान संशोधन र अन्य विषयमा छलफलका लागि भेटघाट भएको हो तर त्यहाँ केके विषयमा छलफल भयो, त्यो अझै थाहा पाउन सकिएको छैन’, उनले भने, ‘यद्यपि दुवै नेताबीच अवरुद्ध राजनीतिलाई निकास दिनेबारेमा गम्भीर छलफल भइरहेको छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले ओलीलाई प्रमुख प्रतिपक्षको सहमति लिएर मात्रै संशोधन प्रस्ताव टेबुल गर्ने बचन दिएका छन् । ‘संविधान संशोधन टेबुल गर्न दिनुस्, त्यसलाई त्यहीं थाती राखेर चुनावतिर जाऔंला भन्ने प्रस्ताव प्रधानमन्त्रीबाट आएको छ,’ एमालेका एक नेताले नागरिकसँग भने, ‘तराई–पहाड छुट्याउने ग्रान्ड डिजाइनअनुसार आएको संशोधन प्रस्ताव टेबुल गर्न नदिने पूर्वअडान नै अध्यक्षबाट प्रस्तुत भएको छ।’

उनका अनुसार ओलीले संशोधन प्रस्ताव स्थगन गरेर चुनावमा जानुको विकल्प नभएको दोहोर्‍याएका छन् भने प्रधानमन्त्री दाहालले कम्तीमा टेबुलमात्रै गर्न दिएमा चुनावको वातावरण बन्ने भन्दै ओलीलाई मनाउन प्रयास गरेका छन्।

सत्तारूढ माओवादी केन्द्र र नेपाली कांग्रेससहित  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल गराउने पक्षमा उभिन पुगिसकेका छन् । प्रमुख प्रतिपक्ष दल एमाले त्यसलाई टेबुल नै गर्न नदिने अडानमा कायमै छ। उसैका कारण मंसिर १४ देखि अवरुद्ध संसद् अझै खुल्न सकेको छैन। पछिल्लो पटक संसद् बैठक सोमबारका लागि बोलाइएको छ।

प्रकाशित: १७ पुस २०७३ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App