१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधनविरुद्घ निरन्तर आन्दोलन

संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै भैरहवामा मंगलबार निस्केको जुलुस । तस्बिर: नागरिक

काठमाडौं-संविधान संशोधन प्रस्तावको विरोधमा रुपन्देही, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पामा आन्दोलन जारी छ । सीमावर्ती सहर भैरहवामा पनि मंगलबार पहाड र तराई अलग गरी प्रदेश सीमांकन गर्न नहुने भन्दै प्रदर्शन गरिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा भएको प्रदर्शनमा हजारौं सहभागी भए । जुलुसमा उद्योगी–व्यवसायी, राजनीतिक दलका नेता–कार्यकर्ता र पेसाकर्मी थिए । भैरहवाका ६० संघसंस्था ब्यानर लिएर सहभागी भएको सिद्धार्थ नगर उद्योग वाणिज्य संघले जनाएको छ । पहाड र तराई टुक्र्याउने नहुने पक्षमा जनता रहेको सन्देश दिन ¥याली निकालेको संघका अध्यक्ष रामकुमार शर्माले बताए ।

यसैगरी मंगलबार रुपन्देहीको मणिग्राममा पनि विशाल सभा भयो । एमाले, राष्ट्रिय जनमोर्चा, माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, अखण्ड नेपाललगायतको आयोजनामा भएको सभामा भाग लिन गाउँगाउँबाट सर्वसाधारण आएका थिए । सभामा एमाले उपमहासचिव घनश्याम भुसालले कसैले माग नगरेको ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव ल्याएर सरकारले गल्ती गरेको बताए । ‘नेपाललाई सधैं उपनिवेश बनाउन तथा अरूको इसारामा तराई र पहाडलाई टुक्र्याउने गरी षडयन्त्रपूर्वक संशोधन प्रस्ताव ल्याइएको छ,’ भुसालले भने ।

गुल्मीमा उल्टो हिँडेर प्रदर्शन

संशोधन प्रस्तावको विरोधमा गुल्मीका युवाको अगुवाइमा उल्टो हिँडेर प्रदर्शन गरिएको छ । प्रदर्शनमा राजनीतिक दलका नेता, उद्योगी, व्यापारी र नागरिक समाजका प्रतिनिधि सहभागी थिए । तम्घासको लाकुरी मञ्चबाट सुरु भएको उल्टो जुलुस सहिदचोक, भीमचोक, नया“बजार, पुतलीबजार, पुरानो बजार हु“दै करिब डेढ किलोमिटर उल्टो हिँडेर ला“कुरी मञ्चमै पुगी कोणसभामा परिणत भयो ।  सभामा नेताहरूले पनि उल्टै फर्केर भाषण गरेका थिए ।  सुन्नेले पनि उल्टै उभिएर भाषण सुनेका थिए ।

सातादेखिको अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन प्रभावित छ । जिल्लाका शिक्षण संस्थाबाहेक सबै क्षेत्र ठप्प छन् । सवारीसाधन चलेका छैनन् । नेपाली कांग्रेसका जिल्ला सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले आन्दोलनमा जनसागर उर्लिएकाले सरकारले समयमै संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।

पश्चिम पहाडमा आन्दोलन चर्कंदै

मंगलबार रोल्पा, प्युठान र पाल्पा पूर्ण बन्द रहे भने अर्घाखाँची आंशिक रुपमा खुलेको छ । सरकारी प्रस्तावको विरोधमा मंगलबार रोल्पाको सुलीचौर बजार ठप्प रह्यो । स्थानीय व्यापारीले स्वस्पूmर्त बजार बन्द गराएका हुन् । व्यवसाय बन्द गरेर उनीहरूले खबरदारी सभासमेत गरेको रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष बालकृष्ण सुवेदीले बताए । आन्दोलनको संयोजन कांग्रेस रोल्पाका सभापति तथा सांसद अमरसिंह पुनले गरेका थिए।

प्युठानमा विद्यार्थीले सरकारी प्रस्तावविरुद्ध नमुना जनमत संग्रह गरेका छन् । जिल्लाभरका विद्यार्थीले प्युठानको बाग्दुला पुल्चोकमा भेला भएर नमुना जनमत संग्रह गरेको कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए।

अर्घाखाँचीमा भने गत बुधबारदेखि जारी बन्द मंगलबारदेखि खुलेको छ । बन्द खुले पनि बजार सुनसान छ । लगातारको बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै संयुक्त संघर्ष समितिले २५ गतेसम्मका लागि बन्दका कार्यक्रम स्थगित गरेको हो ।

दाङमा भने ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्तावका विषयमा मत बाझिएको छ । एमालेसहित केही दल मोर्चा बनाएर आन्दोलनमा होमिएका छन् भने सत्तारूढ माओवादी केन्द्रले आन्दोलनको विरोध गरेको छ । कांग्रेस मौन छ । दाङमा प्रादेशिक राजधानी सरोकार केन्द्र र एमाले नेतृत्वको मोर्चाले आन्दोलन गर्दै आएका छन्। माओवादी केन्द्र दाङले भने आन्दोलन संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भएको आरोप लगाएको छ । उसले मंगलबार विज्ञप्ति जारी गरेर सीमांकनविरोधी आन्दोलनको विपक्षमा उभिन सबैमा अपिल गरेको छ ।

धनगढीमा मसाल जुलुस

एमाले र राष्ट्रिय जनमोर्चानिकट युवा र विद्यार्थी संगठनले राष्ट्रहितविपरीत संविधान संशोधन गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको विरोधमा मंगलबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गरेका छन। सुदूर पश्चिम महोत्सव उद्घाटन गर्न बुधबार प्रधानमन्त्री दाहाल धनगढी आउने कार्यक्रम रहेकाले पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन गरिएको युवा संघ नेपालका केन्द्रीय सदस्य मदन रेग्मीले बताए।

(बुटवलबाट शेरबहादुर केसी, दाङबाट देवेन्द्र बस्नेत, अर्घाखाँचीबाट अर्जुन भुसाल, पाल्पाबाट मुक्तिप्रसाद न्यौपाने र धनगढीबाट दिलबहादुर छत्यालको सहयोगमा)

रुपन्देहीमा बन्द फिर्ता

बुटवल, मंसिर २१ (नागरिक)– ५ नम्बर प्रदेशबाट तराई र पहाड अलग गरेपछि सातादेखि बन्द रुपन्देही मंगलबार खुलेको छ । आन्दोलनरत दलले बन्दहडतालजस्ता कार्यक्रम स्थगन गर्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने घोषणा गरेपछि बन्द खुलेको हो । उद्योगी–व्यापारी, यातायात व्यवसायी, विद्यालय सञ्चालक र अभिभावकको सुझावअनुसार बन्द स्थगन गरेर विरोध जुलुस, कोणसभालगायत गर्ने र संसद्लाई आन्दोलनको केन्द्र   बनाउने निर्णय भएको एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीले जानकारी दिए। मंगलबार साँझ एमाले, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, नेकपा माक्र्सवादी, नेकपा माले, अखण्ड नेपाल पार्टीलगायतको संयुक्त बैठकले मंसिर २६ गतेसम्म बन्द स्थगन गर्ने निर्णय गरेको हो।

 

 

प्रकाशित: २२ मंसिर २०७३ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App