१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेलाई जिम्मेवार बन्न देउवाको आग्रह

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्तावमा समर्थन जनाएर निर्वाचनको वातावरण बनाउन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका छन्।

पार्टी नेता भीमबहादुर तामाङको स्मृति दिवस अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय एकतामा खलल आउनेखालका अभिव्यक्ति नदिन पनि एमालेलाई सचेत गराए।

मुठभेडभन्दा सहमतिको राजनीति गर्न एमालेलाई आग्रह गर्दै देउवाले संविधान कार्यान्वयनकै लागि संशोधन विधेयक दर्ता गरिएको स्पष्ट पारे। कांग्रेस र एमालेले विगतमा तयार गरेको साझा प्रस्तावलाई नै सरकारले प्रदेश सीमांक्न गर्नेगरी संशोधन दर्ता गराएको जिकिर गर्दै देउवाले भने, 'पहिले आफैंले अघि सारेको प्रस्ताव अहिले मान्दिन भन्नु एमालेका लागि राम्रो भएन।'

तराई–मधेसका जनताको माग पूरा गर्दै संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक रहेको दोहोर्‍याउँदै देउवाले भने, 'अहिले राजनीति जटिल मोडमा भएकाले सबै दल एक ठाउँमा उभिएर तराई, पहाड र हिमालका जनताबीचको एकतामा जोड दिनुपर्छ।'

यसैबीच, देउवाले बिहीबार नेपालस्थित राष्ट्रसंघीय मिसन प्रतिनिधि भेलेरी जुलीया र राष्ट्रसंघ मुख्यालय न्युओर्कको चुनावी सहयोगसम्बन्धी निर्देशक क्रेग जेनेससँगको भेटमा सबै राजनीतिक दलको सहयोग र समर्थनमा संविधान कार्यान्वयन अघि बढ्ने बताएका छन्। देउवालाई भेट्न उनीहरू बुढानिलकण्ठस्थित निवास पुगेका थिए।

संविधान कार्यान्वयन महŒवपूर्ण राष्ट्रिय दायित्व र जिम्मेवारी भएका जनाउँदै देउवाले कांग्रेस सबै राजनीतिक दल र समूहलाई सहमतिमा ल्याई मुलुकका  चुनौती समाधान गर्न अग्रसर रहेको जानकारी गराएका जनाए। 'तोकिएकै समयमा स्थानीय निकायलगायत तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गरी राजनीतिक स्थायित्व कायम गर्ने र आर्थिक विकासको मार्गमा मुलुकलाई अग्रसर गराउन कांग्रैस सक्रिय रहन्छ,' देउवालाई उद्धृत गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

दलीय सहमतिमा चैत्र महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने पनि देउवाले बताएका थिए।

संशोधन प्रस्तावको स्वागत

कांग्रेस सांसदले संविधानलाई सर्वस्वीकार्य बनाउँदै निर्वाचनमा जान संशोधन प्रस्ताव कोसेढुंगा साबित हुने बताएका छन्। आन्दोलनका सबै उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयन जरुरी रहेको जनाउँदै मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २७ सांसदले बिहीबार विज्ञप्तिमार्फत एमालेलाई संशोधन प्रस्तावमा जिम्मेवार हुन पनि आग्रह गरेका छन्।

मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको संशोधन विधेयक स्वागतयोग्य रहेको विज्ञप्तिमा उल्लेख छ। 'एमालेजस्तो जिम्मेवार पार्टीले संशोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्नेगरी संसद् अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउन चाहनुले ऊ समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्यत् भएको आभास हुन्छ,' विज्ञप्तिमा लेखिएको छ, 'यस्ता घटनाले एमाले स्वयं निर्वाचनको पक्षमा नभएको सन्देश दिएको छ।'

फर्मुल्लाह मन्सुर, महेन्› यादव, किरण यादव, तेजुलाल चौधरी, रामचन्› चौधरी, गणेशकुमार मण्डलसहित २७ सांसदले संशोधन विधेयकका पक्षमा दृढताका साथ उभिन र दुईतिहाइ मतबाट अनुमोदन गराउन संसद्मा भएका सबै दल र सांसदलाई अपिलसमेत गरेका छन्।

प्रकाशित: १७ मंसिर २०७३ ०२:४० शुक्रबार

एमालेलाई जिम्मेवार बन्न देउवाको आग्रह