१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली सहभागी हुने कार्यक्रमबारे पार्टीभित्रै विवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

नेपालगन्ज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन लागेको कार्यक्रमका विषयमा पार्टीभित्रै विवाद भएको छ। मदन भण्डारी फाउण्डेशन बाँकेले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा बिहीबार ‘विकासमा हाम्रो सरोकार तथा सम्मान कार्यक्रम’ आयोजना गर्दैछ। फाउण्डेशनले उक्त कार्यक्रम पार्टी कार्यालयको सभाकक्षमा सम्पन्न गर्ने निश्चित गरी कार्यकर्तालाई निमन्त्रणा गरे पनि अन्तिम समयमा पार्टीको जिल्ला नेतृत्वले कार्यक्रम गर्ने ठाउँ नदिएपछि स्थानीय भेरी प्राविधिक शिक्षालयमा सारिएको छ ।

फाउण्डेशन बाँकेका अध्यक्ष सुर्य ढकालले पार्टी कार्यालयमा कार्यक्रम गर्न नदिएर जिल्ला नेतृत्वले केन्द्रीय अध्यक्षको अपमान गरेको गुनासो गरे। ‘पार्टी कार्यालयमै गर्ने कोसिस गरेका थियौं, तर पार्टीकै जिल्ला नेतृत्वले नदिएपछि अन्तिम समयमा आएर भेरी प्राविधिक शिक्षालयमा गर्ने तय भएको छ,’ ढकालले नागरिकसँग भने।

ढकालका अनुसार फाउण्डेशनका संरक्षकसमेत रहेका अध्यक्ष ओलीले पार्टी कार्यालयकै सभाहलमा ‘विकासमा हाम्रो सरोकार तथा सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। ढकालले थपे, ‘स्वर्गीय मदन भण्डारीका बिचारलाई जनतामाझ पु¥याउने संस्थाले गर्न लागेको कार्यक्रमलाई पार्टीबाटै असहयोग भयो, साथीहरुले बुझिदिनु भएन।’

फाउण्डेशनका अध्यक्ष ढकाल ओली समुहका हुन्। एमाले बाँकेको अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत कार्यसमिति पदाधिकारीमा वरिष्ठ नेता माधव नेपाल समुहको वर्चस्व छ। ढकालको नेतृत्वमा फाउण्डेशन गठन भएयता जिल्लामा पटक–पटक विवाद उत्पन्न हँुदै आएको छ। एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले मदन भण्डारी फाउण्डेशन पार्टीको आधिकारीक संगठन भएको जिकिर गर्दै भने, ‘पार्टीको आधिकारिक संगठनलाई मात्र कार्यालयभित्र कार्यक्रम गर्न दिने हो, मदन भण्डारी फाउण्डेशन एमालेको आधिकारिक संगठन होइन।’

ओलीको प्रमुख आतिथ्यतामा बिहीबार नै पार्टी कार्यालयको सभा कक्षमा कार्यकर्ता भेला आयोजना गरिएको कोइरालाले जानकारी दिए। ‘हामीले आफ्नै व्यानरमा केन्द्रीय अध्यक्ष ज्यूको उपस्थितीमा पार्टी कार्यालयमा कार्यकर्ता भेला राख्दैछौं, मदन भण्डारी फाउण्डेशनले बाहिर के कार्यक्रम गर्छ, त्यसको सरोकार हामीलाई छैन,’ अध्यक्ष कोइरालाले थपे।

पार्टी अध्यक्ष सहभागी हुने कार्यक्रममा पार्टीभित्रैबाट असहयोग भएको भन्दै ओली पक्षका कार्यकर्ता रुष्ट बनेका छन्। उनीहरुले माधव नेपाल पक्षले आफूहरुलाई बाइपास गरेको आरोप लगाएका छन्। अध्यक्ष ओली बिहीबार बिहान काठमाडौंबाट पहिलो उडानमा नेपालगन्ज आउने कार्यक्रम तय भएको छ।

 

प्रकाशित: १५ मंसिर २०७३ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App