२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तत्काल निर्णय लिन कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- नेपाली कांग्रेसका सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे निर्णय लिन तत्काल संसदीय दलको बैठक डाक्न माग गरेका छन्। महाभियोग प्रस्तावमाथि संसद्मा सैद्धान्तिक छलफल सुरु हुँदा पनि कांग्रेसले आफूलाई पक्ष वा विपक्ष कुन कित्तामा उभ्याउने भन्ने निर्णय लिन सकेको छैन।

महाभियोग प्रस्ताव सर्वत्र चासो र गम्भीर विषय भएको जनाउँदै सांसदहरूले तत्काल स्पष्ट धारणा बनाउन संसदीय दलको बैठक माग गरेका हुन्। 'पार्टीले जो निर्णय गर्ने हो अब ढिला गर्न हुन्न,' सांसद रामहरि खतिवडाले भने, 'संसदीय दलको बैठक तत्काल बोलाउनु पर्छ।'

महाभियोग प्रस्ताव संसद्को विशेषअधिकार र न्यायिक निरुपणको विषय भएको जनाउँदै कांग्रेस केन्द्रीय समितिले महाभियोग सिफारिस समितिले प्रतिवेदन दिनुअघि यसबारे निष्कर्षमा पुग्नु पूर्वाग्रह हुने ठहर गरेको छ। सिफारिस समितिको अन्तिम प्रतिवेदन आएपछि संसदीय दलको बैठक राखेर निर्णयमा पुग्ने निर्णय कांग्रेसले गरेको छ।

तर, सांसद खतिवडाले संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवा तिहारलगतै भारत भ्रमणमा निस्कने भएकाले त्यसअघि नै पार्टीले महाभियोगबारे आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने बताए। 'दिल्ली जानुअघि नै निर्णयमा पुग्दा हामी (सांसद) लाई पनि सजिलो हुन्छ,' खतिवडाले भने, 'उहाँ (देउवा) को पूर्वर्निधारित भ्रमण कार्यक्रम भए पनि फर्केर आएपछि निर्णयमा पुग्दा बाहिरी प्रभाव र दबाबमा परेको सन्देश जनमानसमा प्रवाह हुन सक्छ।'

सभापति देउवा गोवामा इन्डिया फाउन्डेसनले  आयोजना गर्ने सेमिनार र दिल्लीमा जवाहरलाल नेहरु विश्वविद्यालयले गर्ने कार्यक्रममा भाग लिन कात्तिक १९ गते भारत जाने तय भएको छ। उनी २४ गते  स्वदेश फर्कने कार्यक्रम छ। २५ गते संसद् बैठक डाकिएको छ। महाभियोग प्रस्तावमा मंगलबार संसद्मा छलफल भएपछि अर्को बैठक २५ गते बस्नेगरी डाकिएको हो।

कांग्रेस संसदीय दलका सचिव धु्रव वाग्लेले तिहार, छठका कारण संसद् बैठकसमेत स्थगित भइसकेकाले संसदीय दलको बैठक पनि तिहारपछि नै बस्ने जानकारी दिए। 'संसदभित्रको छलफल र महाभियोग सिफारिस समितिको कामसँगै हाम्रो संसदीय दलमा पनि छलफल हुन्छ,' वाग्लेले भने, 'तिहारपछि बैठक बस्छ।'

महाभियोग प्रस्तावको पक्ष/विपक्षमा मतदान गर्ने अधिकार दलको हो भन्ने कुरालाई पार्टीले सम्मान गरेको जनाउँदै वाग्लेले भने, 'प्रजातान्त्रिक प्रक्रियालाई आत्मसात् गर्दै पार्टीले जनताका निर्वाचित प्रतिनिधिलाई अधिकार दिएको छ। दलले सोही अनुसार काम गर्छ।'

एमाले र माओवादी केन्द्रका केही नेतामाथि अख्तियारले मुद्दा चलाउन थालेको सुइँकोपछि महाभियोग प्रस्ताव आएको चर्चा चलिरहेको जनाउँदै सांसद खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारलाई छानबिन प्रक्रिया निरन्तर अघि बढाउन निर्देशन दिनुपर्ने जनाए। 'अख्तियारले नेतामाथि मुद्दा चलाउने तयारी गरेपछि महाभियोग प्रस्ताव आएको हो भने त्यो दुःखद हो,' उनले भने, 'कांग्रेसका नेतामाथि मुद्दा दायर हुँदा हामी महाभियोग लगाउन गएनौं, त्यसको सामना गर्नुपर्छ।'

भ्रष्टाचारमा मुछिएकाले उन्मुक्ति पाउन नहुने जनाउँदै खतिवडाले थपे, 'अख्तियारले भ्रष्टाचारको अभियोगमा केही नेतामाथि मुद्दा दायर गर्ने तयारी गरेको हो भने प्रक्रिया अघि बढ्नुपर्छ रोकिनु हुन्न।'

एक साताअघि एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App