१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तेस्रोपटक पनि म्याद तामेल भएन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध मुद्दाको म्याद तामेली गर्ने सर्वोच्च अदालतको तेस्र्रो प्रयास पनि विफल भएको छ। दुईपटकसम्म विभिन्न कारण रोकिएको कार्कीको म्याद तामेल गर्न सोमबार भएको प्रयास स्थानीय टोले–युवा र आफन्तको अवरोधले असफल भएको हो।

यसअघि म्याद तामेलीका लागि खटिएका अदालतका तामेलदार शम्भु खत्रीले आफूले नसकेको प्रतिवेदन दिएपछि सर्वोच्चले नयाँ तामेलदार खटाएको थियो।

तेस्रोपटक असफल भएपछि सर्वोच्चसँग मुलुकी ऐन र सर्वोच्च अदालत नियमावलीअनुसार दुई विकल्प छन्– अर्को दिन पुनः सुरक्षा दस्तासहित म्याद टाँस गर्न जाने वा सार्वजनिक सञ्चार माध्यममा सूचना प्र्रकाशित गर्ने।

सोमबार बिहानै कार्की निवास, बानेश्वर हाइट पुगेको सर्वोच्चको टोलीलाई पहिलो चरणमा आफूलाई सामसङ मोबाइल कम्पनीका कर्मचारी बताउने समूहले अवरोध गरेको थियो। मोबाइल कम्पनीले उक्त घर भाडामा लिएकाले कार्कीका नामको म्याद टाँस्न नमिल्ने जिकिर उनीहरुले गरेका थिए।

अवरोधपछि सर्वोच्चको टोली काठमाडौं महानगरपालिका–१० को कार्यालय पुगेको थियो। वडा सचिव सरिता राईलाई म्याद तामेलीको मुचुल्का खडा गर्ने स्थानमा गइदिन भनेका थिए। राईले आफू आउने जानकारी दिएपछि सर्वोच्चका दुई तामेलदार पुनः कार्की निवास पुगेका थिए।

कार्की निवास पुग्दा उनका कान्छा ज्वाइँ प्रबल थापा नेतृत्वको युवा टोलीले अवरोध पुर्‍याएको थियो। थापाले उक्त घर कार्की निवास नभएकाले अदालतको सूचना टाँस्न नदिने भन्दै फर्काइदिएका थिए। उनीहरुले कार्की अख्तियारमै बसोबास गर्ने भएकाले उक्त स्थानमै जानसमेत सर्वोच्चका कर्मचारीलाई चुनौती दिएका थिए। दोस्रोपटक जाँदा सूचना टाँस गर्न अवरोध गर्ने टोली वडा कार्यालय पनि पुगेको थियो। उक्त समूहको नेतृत्व थापाले गरेका थिए। वडा नागरिक मञ्चको अध्यक्ष भएको दाबी गर्दै उनले कार्की नबस्ने घरमा सूचना टाँस्न नदिने तर्क गर्दै विरोध गरे।

सर्वोच्चका कर्मचारीले कार्कीको परिवारलाई घरमा नभेटिएकाले ढोकामा टाँसेको मुचुल्का उठाउने प्रयास गरेका थिए। सुरुमा वडा सचिव राईले भाडामा दिएको लेखेर  सही गर्ने बताए पनि पछि उक्त कुरामा असहमति जनाएपछि सर्वोच्चका कर्मचारी अदालत फर्केका थिए। म्याद तामेलीका विषयमा कुराकानी गर्न खोज्दा सर्वोच्च प्रशासन सम्पर्कमा आउन चाहेन।

वडा सचिव र स्थानीय अवरोधले म्याद तामेल हुन नसकेकापछि के गर्ने विषयमा मंगलबार पुनः बैठक बसेर निर्णय गर्ने तयारी रहेको अदालत स्रोतले बतायो।

थापा एन्फाका पूर्वअध्यक्ष तथा राप्रपा नेपालका सांसद गणेश थापाका भान्जा हुन्। भ्रष्टाचार मुद्दामा गणेश थापालाई अख्तियारले सफाइ दिएको थियो जब कि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भने भ्रष्टाचार अभियोगमै कारबाही गरेको थियो। उनीसँग सम्पर्क गर्दा फोन उठेन।

यसअघि म्याद तामेलीका लागि खटिएका सर्वोच्च अदालतका तामेलदार शम्भु खत्री एकाएक गायब भएका थिए। दसैं बिदा सुरु हुन एक दिनअघि उनी सम्पर्कविहीन भएका थिए।  १९ गते बुधबार टोलीसहित कार्की निवास बानेश्वर हाइट पुगेका खत्री बिहीबार बिहान एक्कासि अदालत हिँडेकामा सम्पर्कविहीन भएका थिए।

सर्वोच्च प्रशासनलाई सुरुमा अख्तियार जाने भनी हिँडेका उनले पछि पछि ट्याक्सी चढेर अदालत आउन लागेको जानकारी दिएका थिए। तर दिनभर अदालत नआएपछि आइतबार सर्वोच्चले उनीसँग स्पष्टीकरण सोधेको थियो। खत्रीले चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै सर्वोच्च प्रशासनले उनीमाथि थप विभागीय कारबाही गर्ने तयारी गरेको छ।

स्थायी ठेगानामा  म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडा सचिवलाई रोहबर राख्नुपर्ने कानुनी व्यवस्था भए पनि सचिव राई नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो। राष्ट्रपतिको कार्यालय, शीतल निवासलाई समेत विपक्षी बनाइएको उक्त सूचनामा कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नभई पूर्व मुख्य सचिवका रुपमा चिनाइएको छ।

कार्कीका नाममा तामेलीका लागि पठाइएको सूचनामा भनिएको छ-

'यस अदालतबाट मिति २०७३ र ५र३१ पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपि साथै राखी जानकारीको निम्ति यो सूचना पठाइएको छ। सो मुद्दामा आफ्नो सबुत प्रमाण लिई तपाईं आफैँ वा ऐनबमोजिम वारेसलाई उपस्थित हुन पठाउनु होला। सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेसीमा चढ्न सक्नेछ।'

अदालतबाट आदेश भएको समयदेखि कार्कीसँग भेट हुन नसकेपछि सर्वोच्चका कर्मचारी निवास पुगेका थिए। कार्की अदालतको आदेश आएको समयदेखि विदेश भ्रमणमा रहेका कारण म्याद तामेल हुन सकेको थिएन। लामो समयदेखि म्याद तामेल हुन नसकेको र नजिकै दसैं बिदा आएपछि सर्वोच्चले ताकेता गरेको हो।

कार्कीविरुद्ध मुद्दा पुनरवलोकन माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

प्रकाशित: २ कार्तिक २०७३ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App