८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन। जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन्। कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन।  

स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन्। यतिबेला जसपामा  पार्टी महाविधेशन बोलाउन यादवलाई दबाब परेको छ । तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन्। दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्नेछैन।  

जसपामा यादव निकट नेता भने महाधिवेशन धकेल्न नभई संसद्मा चौथो ठुलो दल बन्न नेकपा एससँग एकता गर्न खोजिएको बताउँछन्। यी दुवै पार्टीबीच एकता भए प्रतिनिधिसभामा सदस्य संख्या २२ पुग्छ। प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। अहिले प्रतिनिधिसभामा २० सांसदसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो दल छ।

यादव निकट एक नेता भन्छन्, ‘उहाँ (यादव) को भित्री चाहना एकीकृत पार्टीमा माधव नेपाल (नेकपा एसका अध्यक्ष) लाई संघीय परिषद्को अध्यक्ष बनाएर पहिलो स्थान दिने र आफू कार्यकारी अध्यक्ष बन्ने देखिन्छ। त्यस्तो भएमा नेकपा एसमा आबद्ध तराई मधेस केन्द्रित नेताहरू समेटिनेछन्। जस्तो रामचन्द्र झाले एमालेमा फर्कनुभन्दा जसपासँग मिल्न सजिलो ठान्नेछन्।’ रौतहटमा क्रियाशील नेकपा एसका कार्यकर्ताले एमालेसँग भन्दा जसपासँग एकीकरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

अशोक राईलाई संसदीय दलको नेता नबनाएका कारण जसपाभित्र रहेका पहाडी समुदायका नेताहरू अध्यक्ष यादवसँग रुष्ट भएका छन्। अध्यक्ष यादवले नचाहेका कारण राई संसदीय दलको नेता हुन नसकेको भन्ने बुझाइ उनीहरूको छ। ‘जसपाभित्र पहाडी समुदायको ठूलो पंक्ति छ। कुनै पनि बेला यो पंक्ति पार्टीबाट अलग हुनसक्छ भन्ने चिन्ता यादवलाई छ। यस्तो हुन नदिन पनि यादव नेकपा एससँग एकीकरण गर्न खोज्दैछन्,’ स्रोतले भन्यो, ‘एकीकरणको प्रक्रिया अघि बढ्नेबित्तिकै जसपाभित्रको असन्तुष्टि पनि स्वतः हराउनेछ, पार्टी पनि ठुलो हुनेछ।’

यसैकारण यादवले नेकपा एससँग पार्टी एकीकरण गर्न पहाडीमूलका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ताटोली गठन गरेका छन्। श्रेष्ठ एमाले छाडेर जसपामा पसेका हुन। उनले एमालेमा रहँदा माधव नेपालसँग काम गरिसकेका छन्। त्यसैले श्रेष्ठलाई वार्ताटोलीको संयोजक बनाइएको हो।

यादवले २०७२ सालमा अशोक राईले नेतत्व गरेको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेका थिए। त्यो बेला राईको पार्टीका पाँच सांसद थिए। यादवले नेतृत्व गरेको दलका १० सांसद थिए। एकीकृत पार्टीको नाम संघीय समाजवादी फोरम राखिएको थियो।

त्यस्तै यादवले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनलगत्तै तत्कालीन नयाँ शक्ति पार्टीसँग एकता गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यादव नेतृत्वको संघीय समाजवादी फोरमले १६ सिट जितेको थियो। यादवले निर्वाचनलगत्तै नयाँ शक्ति पार्टीसँग एकता गरी प्रतिनिधिसभामा पार्टीको सदस्य संख्या १७ पुर्‍याएका थिए।

त्यसबेला अर्को मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभामा १७ सिट जितेको थियो। यादवले फेरि २०७७ वैशाखमा राजपासँग पार्टी एकीकरण गरे। एकीकृत दलको नाम जसपा राखियो। एकतापछि प्रतिनिधिसभामा जसपाका सांसद ३४ पुगे। पछि जसपा फुट्यो, महन्थ ठाकुरलगायतका नेताले लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) गठन गरे। पार्टी फुटेपछि जसपासँग १९ जना मात्र सांसद रहे।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाले अपेक्षाकृत सफलता पाउन सकेन। प्रत्यक्ष्यतर्फ जसपाले ७ सिट मात्र जित्यो। पार्टी अध्यक्ष यादव स्वयं पराजित भए। जसपाका एक नेताले भने, ‘जसपा र नेकपा एसबीच एकीकरण भएमा त्यसले निर्वाचन परिणामबाट निराश भएका कार्यकर्तामा उत्साह ल्याउनेछ। मधेसबाट चुनाव जित्न सक्ने सम्भावना भएका धेरै नेता नेकपा एसमा छन्। त्यसैले एकता भए एकीकृत पार्टी मधेसमा बलियो हुनेछ।’

जसपा कार्यकारिणी समिति सदस्य मिर्गेन्द्रसिंह यादवले अहिले दुवै पार्टीले वार्ताटोली गठन गरेको तर धेरै कुरा मिलाउन बाँकी रहेको बताए। जसपाका अर्का नेता प्रमोद साहले नेकपा एससँग पार्टी एकताको सम्भावना प्रबल रहेको बताए। जसपाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका छ भने यस मामिलामा नेकपा एस अनिर्णित छ।

प्रकाशित: २४ पुस २०७९ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App