४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार ! यही हो सहज सेवा?

काठमाडौंको ठुलो भर्‍याङमा बिहीबार दिउँसो पौने २ बजे सेवाग्राहीको भिड। तस्बिर: उपेन्द्र/नागरिक

अघिल्लो साता गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा पाउन लाममा बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेलगत्तै धेरैले सेवा सहज हुने आशा गरेका थिए। तर काठमाडौं उपत्यकाका पाँच स्थानमा रहेका यातायात व्यवस्था कार्यालयमा बिहीबार पुग्दा सेवाग्राहीका निम्ति असहज स्थितिको पराकाष्ठा देखियो।  

कतै पुसको ठिहीमा बिहानैदेखि लाममा बसेका सेवाग्राहीको गुनासो सुनियो त कतै बालक काखी च्यापेर लामो लाममा बस्नुपर्दाको पीडा देखियो। सेवा सहज बनाउने सरकारको निर्णयले आश्वस्त भएका सर्वसाधारण घन्टौं लाममा बस्दा पनि सेवा नपाएपछि मलिन देखिन्थे। उनीहरू सबैको प्रश्न थियो, यही हो सहज सेवा ?  

भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा बिहान १०ः३० बजे पुग्दा सेवाग्राहीको ठुलो लाम देखियो। सवारी अनुमतिपत्रका लागि त्यहाँ पुगेका उनीहरूले घन्टौंदेखि लाममा बस्न बाध्य भएको गुनासो आपसमा गरिरहेका थिए। ‘यही हो सहज सेवा ?’ यो संवाददाताले तस्बिर खिचेको देख्नासाथ लाममा रहेका सेवाग्राही विक्रम शाक्यले गुनासो पोखिहाले, ‘घन्टौंदेखि सयौं जना लाममा छन् तर काम गर्ने कर्मचारी निकै कम रहेछन्।’  

त्यसपछि बिहान ११ बजे काठमाडौंको गुह्येश्वरीनजिकै वाग्मती नदीकिनारमा रहेको यातायात कार्यालयमा पुग्दा राधेराधेस्थित यातायात कार्यालयमा भन्दा झन् धेरै सेवाग्राही लामबद्ध थिए। यसअघि चाबहिलमा रहेको यो कार्यालय हालै फराकिलो ठाउँमा सरे पनि सेवाग्राहीको भिड थामिनसक्नु थियो।  

बिहान ७ बजेदेखि लाममा बसेका सेवाग्राहीले ११ बजेसम्म सेवा पाएका थिएनन्। ‘चार घन्टा लाममा बसेपछि बल्ल अलिकति काम सकियो,’ चाबहिल मनमैजुबाट आएका शिशिर पौडेलले भने, ‘यातायात कार्यालयमा लामो लाम कहिल्यै पनि हट्ने भएन।’ तीन दिनअघि यसै कार्यालयमा सेवा लिन पुगेका उनले सर्भर डाउन भएका कारण त्यसै फर्कनुपरेको गुनासो सुनाए।  

यसैगरी मध्याह्न १२ बजे ललितपुरको एकान्तकुनास्थित यायातायात कार्यालयमा पुग्दा त्यहाँको अवस्था पनि उस्तै गज्मौरो देखियो। सेवाग्राहीले कुन लाममा बस्दा के सेवा पाइन्छ र कहाँ पुगिन्छ भन्ने ठम्याउन सकेका थिएनन्। तिनलाई बाटो देखाउने सरकारी कर्मचारी पनि त्यहाँ देखिएनन्। ‘जुन झ्यालमा गए पनि लामो लाम छ,’ गोदावरीबाट आएका सेवाग्राही पुकार थापाले भने, ‘सानो–सानो कामका लागि पनि घन्टौं लाममा बस्नुपर्ने बाध्यता छ। यो बाध्यता कहिले हट्ला खै ?’

एकान्तकुनाबाट दिउँसो १२ः४५ बजे काठमाडौं सतुंगलस्थित यातायात कार्यालय पुग्दा पनि सेवाग्राहीको खचाखच भिड देखियो। कतै सवारी प्रदूषण परीक्षण गराउने त कतै राजस्व बुझाउनेको लामो लाम थियो। कार्यालयमा ‘बिचौलिया निषेधित’ क्षेत्र लेखिए पनि धेरेै बिचौलिया देखिन्थे। ‘असहजताको धमिलोमा बिचौलियाले माछा मार्ने गरेका छन्’, पुरानो नैकापबाट सेवा लिन पुगेका महेश पनेरूले भने, ‘सायद यसै भएर होला यहाँ कहिल्यै सहज नभएको।’  

सतुंगलपछि दिउँसो पौन २ बजेतिर ठुलो भर्‍याङस्थित यातायात कार्यालय पुग्दा त्यहाँ सेवाग्राहीको अझ ठुलो भिड देखियो। सवारी अनुमतिपत्रका लागि राजस्व तिर्नेको भिड हेर्दा अहिलेको समयमा पनि कर्मचारी संयन्त्रको काम गर्ने प्रणाली कति अव्यविस्थत छ भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। पाँच वर्षीय बालक बोकेका समीर आलम यही भिडमा थिए। सहज सेवा पाउन नसकेका उनी निकै निराश देखिन्थे।  

‘राजस्व बुझाउन एक घन्टा लाममा बसें, रसिद लिन तीन घन्टा कुर्नुपर्ने रे,’ बालकसहित लाममा बस्दा लखतरान देखिएका उनले भने, ‘डिजिटल युगमा पनि अनलाइन पेमेन्ट गराउन यो सरकारलाई कसले रोकेको होला ?’

तस्बिर: उपेन्द्र/नागरिक

काठमाडौंको सतुंगलस्थित यातायात व्यवस्था कार्यालयमा बिहीबार दिउँसो १२ः४५ बजे देखिएको सेवाग्राहीको भिड।
काठमाडौंको गुह्येश्वरीनजिकै कार्यालयमा बिहान ११ बजे सेवाग्राहीको भिड।
ललितपुरको एकान्तकुनामा मध्याह्न १२ बजे सेवाग्राहीको भिड।
भक्तपुरको राधेराधेमा बिहान १०ः३० बजे सेवाग्राहीको भिड।

प्रकाशित: २२ पुस २०७९ ००:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App