काठमाडौं–शीर्ष नेता र कार्यदलको संयुक्त बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्। बैठकस्थल नयाँबानेश्वरस्थित संसद भवनबाट उनी बाहिरिएका हुन्।
कांग्रेस नेता प्रकाशशरण महतले बैठकमा प्रधानमन्त्रीले भूकम्प पीडितलाई एकमुष्ठ दुईलाख रुपैयाँ दिन विश्व बैंकलाई सोध्नुपर्ने र कार्यविधि संशोधन गर्नुपर्ने सुनाएको बताए। 'पहिले घर बनाएकालाई दिने कुरा गर्नुभयो। एकमुष्ठ दुईलाख दिने कुरामा अघिल्लो सरकारले विश्व बैंकलाई सोध्नुपर्छ, कार्यविधि संशोधन गर्नुपर्छ भन्नुभयो', उनले भने।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अबरुद्ध गरेपछि सो विषयमा सहमति जुटाउन शीर्ष तहमा संसद भवनमा बैठक राखिएको हो। प्रधानमन्त्री बाहिरिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने बैठकमै छन्।
कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडान राख्दै गत शुक्रबारदेखि संसद अबरुद्ध गर्दै आएको छ। माग सम्वोधन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि प्रमुख दलले सोमबार संयुक्त कार्यदल गठन गरेका थिए।
प्रकाशित: १४ असार २०७३ १३:१० मंगलबार