१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रमा १५ सय सदस्य

काठमाडौं- अघिल्लो महिना १० कम्युनिस्ट घटकसँग एकतापछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति, पोलिटब्युरो तथा सचिवालय विस्तार गरेको छ। पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्‍याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्‍याइएको छ भने ८५ सदस्यीय सचिवालयलाई ९९ जनामा विस्तार गरिएको छ।

सातवटा प्रदेशमा पनि विभिन्न नेतालाई  इन्चार्ज बनाइएको छ। जसअनुसार १ नम्बर प्रदेशमा राम कार्की, २ मा मात्रिका यादव, ३ मा रामबहादुर थापा, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, ६ मा जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई ल्याएको छ। नारायणकाजी श्रेष्ठलाई प्रवास, कृष्णबहादुर महरालाई सदन र टोपबहादुर रायमाझीलाई सरकारको नेतृत्व गर्ने जिम्मा दिइएको छ। पार्टी केन्द्रीय कमिटी ठूलो बनाइएको भन्दै कार्यकर्ता तहमा विरोध भइरहेको बेला झन् विस्तार गरिएको हो।

प्रवक्ता भुसाल भने अहिले विस्तार गरिएको कमिटी महाधिवेशन आयोजनक समिति भएको बताउँछिन्। 'पार्टी एकीकरणपछि धेरैलाई समेट्नु पर्ने भएकाले समिति ठूलो भएको हो,' उनले भनिन्। आउँदो माघमा एकता महाधिवेशन गर्ने भुसालले जानकारी दिइन्।

दाहालले भेटे देउवा र ओलीलाई

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका छन्।  बूढानीलकण्ठस्थित  निवासमा देउवालाई भेटेका दाहालले ओलीलाई बालुवाटारमा भेटेका हुन्। दाहालका स्वकीय सचिव जोगबहादुर महराका अनुसार दुवै भेटमा वर्तमान राजनीतिबारे छलफल भएको थियो।

अस्ट्रेलिया भ्रमण स्थगित

केन्द्रका अध्यक्ष दाहालले बुधबारदेखि गर्ने भनिएको अष्ट्रिलया भ्रमण भने स्थगित गरेका छन्। एकातिर वर्तमान राजनीतिबारे छलफल गर्नुपर्‍यो र अर्कोतर्फ पार्टीको आन्तरिक व्यवस्थापनले गर्दा अस्टे्रलिया जाने कार्यक्रम स्थिगत गर्नुपरेको महराले जानकारी दिए। दाहाललाई अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा भाग लिन बोलाएको थियो।

प्रकाशित: ९ असार २०७३ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App