१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा विवाद, बुथ कब्जा गरेको आरोप

पत्रकार सम्मेलन गर्दै एमाले उम्मेदवार।

रुकुम पश्चिममा निर्वाचनका बिषयलाई लिएर विवाद उत्पन्न भएको छ। ७ वटा मतदान केन्द्रमा सत्ता गठबन्धनका तर्फबाट कर्मचारीलाई तर्साएर फर्जि मत खसालेको एमालेका प्रतिनिधिसभा उम्मेदवार नन्दराम देवकोटाले आरोप लगाएका छन्। उनले पत्रकार सम्मेलन गर्दै एक प्रेस विज्ञप्ती समेत जारी गरेका छन्।  

देवकोटाले फर्जि मतदानको छानबिन गरि पुन निर्वाचनका लागी माग समेत गरेका गरेका छन्। एमालेका प्रतिनिधिलाई धम्काई बुथ कब्जा गरेको उनको आरोप छ। बाँफीकोट गाउँपालिकाको ६ र ७ आठविसकोट नगरपालिकाको २ र ३ सानीभेरी गाउँपापलिकाको २ र ३ मा बुथ कब्जा गरेर फर्जि मत हालिएको देबकोटाको आरोप छ।

मुसीकोट नगरपालिका १३ मा आचारसंहिता विपरितको काम भएको देबकोटाले बताए। सो मतदान केन्द्रमा नेपाली काँग्रेसका नेता एवम् वाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन परिचालन समितिका संयोजक गोपाल जि जंग शाहले मतदान गरेको मतपत्र नै विभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ।

उल्लेखित सात वटा मतदान केन्द्रमा एमालेले पुनः मतदानको माग गरेको छ। एमालेले आफ्ना मागहरु सम्बोधन नभए आफूहरू मतगणनामा सहभागी नहुने बताएको छ। यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता जनार्दन शर्मा उम्मेदवार छन्।  

एमाले जिल्ला अध्यक्ष समेत रहेका देबकोटाले निबेदन दिएको बारेमा मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले सबै मतपेटिका आए पछि छलफल गर्ने बताए। ‘निबेदन आएको छ। सबै मतपत्र आए भने यो बिषयमा पनि छलफल चलाउछौ।’

रुकुम पश्चिमका एक सुरक्षा अधिकारीले बुथ कब्जा नै भएको भए हिजो नै जानकारी गराउनु पर्ने बताए। उनले भने ‘हिजो नै खबर गरेको भए नजिकमा थप सुरक्षा बल थियो। हाम्रा मतदान अधिकृतहरु संग यथार्त बुझ्ने काम भइरहेको छ।’ सत्ता गठबन्धनका उम्मेदवारले बुथ कब्जा गरिएको भनिएका ति स्थानमा सबै  भन्दा धेरै मत खसेको स्थानीय एक पत्रकारले बताए।

प्रकाशित: ५ मंसिर २०७९ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App