३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

'नयाँ सन्देश' भर्सेस 'देबोनायर'

व्यस्त कार्यतालिकाबीच अफिसबाट एक साता छुट्टी मिलेको छ । यो बिदाको यस्तो सदुपयोग होस् कि त्यस्तो अघिपछि कहिल्यै पनि गर्न नसकिएको होस् । हरेक पटक बिदा लिँदा मेरो मानसपटलमा यस्तै विचार उत्पन्न हुन्छ । कतिपय बिदा उपलब्धिहीन र निरश बन्छन् त कतिपय अधिक सृजनशील र रचनात्मक।


समीक्षाका निम्ति भनेर प्राप्त भएका नयाँ पुस्तकहरूको खात लागेको छ– उपन्यास, संस्मरण, कथा, कविताका दुई दर्जन पुस्तक छन् मेरा अघिल्तिर । अधिकांश पुस्तक मैले पल्टाएकै छैन, समयाभावका कारण र समय नष्ट हुने पूर्वानुमानका कारण । योचाहिँ समीक्षाका लागि उपयुक्त होला भनी समय निकालेर र्‍याकबाट तानेका पुस्तकले झनै बढी निराश पारिदिएका छन् । यसकारण पनि यो बिदामा कुनै समीक्षा लेख्ने मेरो 'मुड' छैन । समीक्षा लेखेकै कारण केही मित्र वा मसँग मित्रता गाँस्न चाहने लेखक मेरो छायासँग पनि रिसाउन थालेका सुनेको छु । समीक्षा लेख्नु वा नेपाली साहित्यको वर्तमान अवस्थाबारे 'क्रिटिकल' बन्नु र लेखक जमातबाट 'एक्लो बन्नु' उस्तैउस्तै लाग्न थालेको छ मलाई । त्यसकारण पनि उमेरले अर्धशतक छोएपछि समीक्षा सकेसम्म लेख्नु नपरोस् भन्ने लाग्न थालेको छ । बरु 'पठनअनुभव' लेख्न मन लागेको छ ।

बिदा सुरु भएकै दिन हान्निन्छु मेरो प्रिय गन्तव्य पोखरा । झोलामा छन् दुइटा पुस्तक– रमेशनाथ पाण्डेको 'कूटनीति र राजनीति' अनि विनोद मेहताको 'एडिटर अलप्लग्ड' । दुई समकालीन पत्रकारका पुस्तक मेरो हातमा छ र समय पनि पर्याप्त छ पढ्नका निम्ति– म रोमाञ्चित भएको छु । यी दुई लेखक–पत्रकारका सोचाइ, चिन्तन, पत्रकारिता शैली, देश र राजनीतिकर्मीलाई बुझ्ने तरिका कस्ता होलान् ? यिनको तुलनात्मक अध्ययनले दिने आनन्दको कल्पनाले मेरो रोमाञ्चकता ह्वात्तै बढाइदिएको छ ।

महाराजा होटलको ८ इन्च बाक्लो मेट्रेसमा पल्टिएको छु र छेउमा मलाई हेरिरहेका छन्, तिनै दुई पुस्तक । कुन पहिला पढूँ ? प्रश्नसँगै उत्तर आउँछ, नेपाली लेखकबाटै सुरु गर्नु उत्तम ।

पाण्डेको पहिलो अनुसूचीमा 'सत्र सालको सेरोफेरो' परेको छ । त्यो सेरोफेरो यति लामो छ कि तन्किएर २०४७ र अझै तन्किएर २०६२ सालसम्म पनि पुग्छ । २०१६ साल असार १६ गते राजा महेन्द्रले पहिलो जननिर्वाचित (विश्वेश्वरप्रसाद कोइराला नेतृत्व) सरकारलाई शपथग्रहण गराउने समारोहको दृश्यबाट उनको 'आत्मकथा !' सुरु हुन्छ । आफू पत्रकार भएकाले शपथग्रहणमा भाग लिने अवसर पाएको वृत्तान्त प्रस्तुत हुन्छ । आमन्त्रित विदेशी पाहुनामा भारतीय प्रधान मन्त्री जवाहरलाल नेहरुले आफ्नो प्रशंसा गरेको लेख्छन् उनी । त्यसबखत उनी केवल १६ वर्षका छन् ।

२०१७ साल पुस १ गतेको शाही कदमको संकेत राजा महेन्द्रले ७ महिना १४ दिनअघि नै दिएको उनलाई थाहा रहेछ ! तर, आफ्नो अत्यन्तै कुशल सम्बन्ध रहेको बीपीलाई उक्त कुरा बताउन सक्दैनन् उनी । कुशल सम्बन्ध बीपीसँग भन्दा पनि बढी महेन्द्रसँग रहेकाले यस्तो भएको हो कि ! पहिलो अध्याय म, देशको राजनीति र पत्रकारितामा मेरो अहम् भूमिका, मेरो सम्बन्ध, मेरो प्रश्न, मेरो अनुमानजस्ता 'म'हरूमै सकिन्छन् ।

मलाई अर्को अध्याय पल्टाउने जाँगर चल्दैन । चित्ताकूल हुन्छु म । मेटे«समाथि रहेको चिप्लो सिरकमै शरीर पल्टाइदिन्छु । आँखा खुल्लै छ मेरो । टेलिभिजन खोल्छु, एउटा विज्ञापन आइरहेको छ । रोहन नामको मेधावी विद्यार्थीलाई सफल कसले बनायो भनी श्रेय लिने होडबाजी चल्छ त्यहाँ । खेल शिक्षक, गणित शिक्षकलगायत रोहनकी आमाको पनि दाबी पर्छ श्रेय प्राप्त गर्न । र, त्यो दाबी जित्छ हर्लिक्सले । समाचारको संकेत देखिन्छ टीभीमा । केही दिन समाचारबाट भाग्न चाहेको छु, त्यसैले टीभी बन्द गरिदिन्छु ।

आकर्षक गाता भएको मेहताको पुस्तक मलाई एकटकले हेरिरहेको थियो । मुखपृष्ठमा राखिएको मेहताको अनुहारमा एउटा निश्छल हाँसो देखिन्थ्यो । उता पाण्डेको हाँसो बुझिनसक्नु अर्थात् कुटिल हाँसोले पुस्तकको मुखपृष्ठ ढाकेको थियो ।

एडिटर अनप्लग्ड किनेको केही महिना भइसकेको थियो । पढ्ने समय मिलाउन सकेको थिइनँ । मैले हतारहतार पहिलो अध्याय पल्टाएँ । 'वाकिङ इन्टु दि सनसेट'का हरेक लाइन स्पर्श गर्न थालेँ । उनी पहिलो पटक सम्पादक भएको पत्रिका देबोनायर (सन् १९७४) देखि सन् २०१२ सम्म आफूले चहारेका पत्रिकाबारे रोमाञ्चकता प्रस्तुत गरिरहेका थिए । आफ्नो लेखनी र पत्रकारिताबारे अनुभव पस्किरहेका थिए । तर, कतै पनि मैले यसो भन्दिएँ, उसो भन्दिएँ, फलानोलाई यति गुन लगाएँ, म बहुमुखी प्रतिभाको धनी थिएँजस्ता आत्मरतिका एक हरफ थिएनन् । यस्तो लाग्छ, उनले कुनै ठूलाबडाको संगत गरेकै छैनन् !

पत्रकारिता सुरु गर्दा सन् ७० को दशकको मध्यतिर उनले मासिक अढाई हजार तलब पाउँथे । त्यसबाट आफ्नो जीवन सहजतापूर्वक बितेको मात्र नभई कहिलेकाहीँ महँगै रेस्टुराँमा गर्लफ्रेन्डलाई कफी ख्वाउन सकेको सन्दर्भ पनि उनी लुकाउँदैनन् । त्यतिमात्र होइन, उनले बढीमात्रामा आफ्ना कमजोरी पुस्तकमा लेखेर लिएको आनन्दले मलाई उनीप्रति इष्र्यालु बनाइदिन्छ ।

यस्तो लाग्छ 'कन्फेसन' गर्न पाउँदा उनलाई जितको महसुस हुन्छ । भारतीय जनता पार्टी (बीजेपी) र नरेन्द्र मोदीले गुजरातमा सन् २००२ मा चुनाव हार्छन् भनी उनले त्यसबखत आफू सम्पादक रहेको पत्रिका 'आउटलुक'मा घोषणा गरिदिए । करिब ६ लाख रुपैयाँ खर्च गरेर 'एक्जिट पोल' गराएका थिए उनले । तर, बीजेपीले चुनाव जित्यो, मोदी सानदार मतका साथ विजयी भए र गुजरातका उदाहरणीय मुख्य मन्त्री बने । एक्जिट पोल पूर्णतः असफल भयो, उनको टाउको लाजले झुक्यो । उनले त्यसबेला आफू र आफ्नो पत्रिकालाई गाली गरेर मनोज जोशी नामका पाठकले पठाएको पत्र जस्ताको त्यस्तै छापिदिए । पत्रलेखकले उनलाई गोयबल्स शैलीको अनुकरणकर्ता भन्ने आरोपसमेत लगाएका थिए । कतिपयले गान्धी परिवारको 'चम्चा' भनेको बारे पनि उनले कतै प्रतिवाद गर्ने प्रयास गरेका छैनन् ।

पाण्डे र मेहताबीच धेरै कुरा समान छ । फरक यत्तिमात्र छ पाण्डे सधैँ शक्तिकेन्द्रको वरिपरि घुमे, 'पावर एक्सरसाइज'मा रमे । र, पटकपटक मन्त्री भए । मेहता गान्धी परिवारको नजिक थिए, तर उनी प्रत्यक्ष राजनीतिकर्मी भएनन् । राजनीतिको आलोचनात्मक समर्थक मात्र बने । दुवै जना दुई देशका नाम चलेका पत्रकार । पाण्डेको नाम चलाउन राजनीति र सत्ताले पनि सहायता गरेको छ । तर, मेहता केवल पत्रकार, व्यावसायिक पत्रकार, बिन्दास पत्रकार । यी दुईबीचको उमेर पनि खासै फरक छैन । पाण्डेको पत्रकारिता ३० वर्ष चल्यो भने मेहता ४० वर्ष यो पेशामा रहे । अहिलेको पुस्तामा नयाँ सन्देशको नाम सुन्ने युवा भेट्न मुस्किल छ । र, रमेशनाथ पाण्डेलाई पत्रकार हैन नेपाली समाजले राजनीतिका चतुर खेलाडीका रूपमा मात्रै चिन्छ । तर, दुवै सम्पादक थिए, समाचार सम्पादन गर्थे, लेखरचना सम्पादन गर्थे । आज त्यो विशाल छिमेकमा कैयौँ युवा पत्रकार आफूले 'सेलिब्रिटी मेहता'सँग काम गरेको र सिकेको भन्न पाउँदा गर्व गर्छन् । एक वर्षअघि उनको शरीरान्त भइसकेको छ ।

पाण्डे सारै अध्ययनशील थिए, अद्यापि छन् पनि होला । नीति निर्माण तथा शीर्ष तहका व्यक्तिहरूसँग पनि यिनको बसउठ बाक्लै हुन्थ्यो । देशीविदेशी नेता उनले नचिनेका कमै छन् । यी सबै कुराको बेलिविस्तार पुस्तकमा उनले लगाएका छन् । उनी यति धेरै बोलेका छन् कि पुस्तकका शब्द र वाक्यमा पाठकले घोत्लिनै पर्दैन । असाध्यै सजिलो छ उनका कुरा बुझ्न पाठकलाई । आफू र आफ्नो विचार थप बुझाउन उनले पुस्तकको पछिल्तिर सम्पादकलाई अन्तर्वार्ता नै लिन लगाएका छन् !

बीपी जेलमा रहँदा उनी पुस्तक पठाउने काम गर्थे, तर जेल पठाउनुअघि पहिला आफू पढ्थे । नेपालका शाहवंशीय तीन जना राजासँगको सामीप्य उनले पाए– महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र । यी तीनै राजाका यी विश्वासपात्र थिए, त्यसैले हरेकले यिनलाई नजिक राखे, मन्त्री बनाए, देशदेशावर सँगै डुलाए ।

अर्कातिर क्रान्तिकारी बीपीका पनि यिनी उत्तिकै प्रिय पात्र भए । बीपी जेलमा रहँदा यिनी नियमित भेट गर्थे । यिनलाई लाग्छ– महेन्द्र र बीपीबीच मेलमिलाप भएको भए यो देश निकै विकसित हुने थियो । देशमा माओवादी सशस्त्र द्वन्द्व चरम भइरहेका बखत त्यस पार्टीका सुप्रिमो प्रचण्डलाई भारतमा गएर सुटुक्क भेट्ने अवसर पनि उनैले पाए । त्यतिमात्र होइन, एमालेका प्रभावशाली महासचिव मदन भण्डारी, मनमोहन अधिकारीलगायतका नेतासँग पनि यिनको असाध्यै राम्रो सम्बन्ध थियो । कतिपय नेता त बिहानै यिनका घरमा चिया खान पुग्थे !

पुस्तक पढ्दै जाँदा यस्तो लाग्छ– पाण्डेजत्तिका भाग्यमानी पत्रकार तथा राजनीतिकर्मी यो मुलुकमा अर्को कोही छैन । तर, त्यो भाग्यको उपयोग गर्नबाट उनी चुकेका हुन् कि भन्ने लाग्छ ! करिब साढे ७ सय पृष्ठको उनको पुस्तकमा 'आखिर उनी को हुन् त' भनी म स्पष्ट हुन खोजिरहन्छु । बीपीले उनलाई लेखेका चिठीको संकलन प्रकाशनको तयारीमा अहिले पाण्डे छन्, सायद मेरो खोजीको उत्तर त्यस पुस्तकबाट पाउँछु कि !

पाण्डेको पुस्तक एकसरो पढिसकेपछि एक पटक म आफू उभिएको जमिनबारे घोत्लन्छु । जिन्दगीको महŒवपूर्ण उमेर बिताएको पेशालाई नियालिरहेको छु । यही पेशाबाट प्राप्त आम्दानीले परिवार चलाउँदै आएको छु । महँगा रेस्टुराँ महिनामा केही दिन जान्छु, राम्रै लगाउँछु । यो पेशामा आएकोमा कुनै पश्चात्ताप छैन । तर, मलाई पाण्डेको पुस्तकका कुनै पनि अध्यायले म किन उनीजस्तो हुन सकिन भन्ने बोध गराएन–गराउनै सकेन ।

मेहता भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीप्रति शीष्ट ढंगमा आक्रमण गर्छन् । मोदीले आफूलाई सदाचारी देखाउन धेरै पटक भनेका थिए– म एकल पुरुष हुँ । न स्वास्नी न त छोराछोरी ! मलाई किन कमाउनु प¥यो धनसम्पत्ति ! किन गर्नुप¥यो भ्रष्टाचार ? मेरो देशजस्तै छिमेकी भारत पनि भ्रष्टाचारले आक्रान्त छ । त्यसकारण मोदीको सदाचारी वक्तव्य त्यहाँ प्रशंसित रह्यो, उनको पार्टीले जित हासिल ग¥यो र सरकार बनायो । यही सिलसिलालाई जोड्दै मेहताले व्यंग्य गरेका छन् । मोदीसँग बिहा गरेर केही महिना सँगै बिताएकी जशोदाबेनलाई उभ्याइदिएका छन्, नेपाली धर्मपुत्र (जितबहादुर मगर)लाई अगाडि सारिदिएका छन् । त्यतिमात्र होइन, मोदीको 'वार्डरोब'को दृश्य सामुन्ने ल्याइदिएका छन् । स्टाइलिस मोदीको आन्तरिक कुरा अघि सार्छन् उनी । मोदीलाई आकर्षक बनाइदिने ट्रोय कोस्टाले बलिउडका कलाकार रित्तिक रोशन, सैफ अली खान, अनिल कपुर, फरहान अख्तरलाई हिरो बनाउने रहस्य उनी खोलिदिन्छन् । यत्ति भनेपछि पर्दाफास भएन त मोदीको सदाचारीपनाको !

पुस्तकमा मेहता चुपचाप छन् । त्यो चुपचापले धेरै कुरा भनिदिन्छ । उनलाई घटनाको वर्णन गर्न र विवरण प्रस्तुत गर्न पटक्कै मन पर्दैन । उनी दृश्य र घटना अगाडि ल्याइदिन्छन् र त्यसलाई पर्गेल्ने काम पाठकको जिम्मामा छाडिदिन्छन् । पुस्तकको हरेक अध्यायका अनुच्छेदले पाठकलाई आफूसँगै यात्रा गराउँछ । एउटा कुशल लेखनीको नमूना हो यो । थाहा छैन, नेपालमा मेहताको जीवनशैलीसँग कोकति प्रभावित छन् ? उनीजस्तो हुने प्रयत्न ककसले गरे, गर्दैछन् ? तर, मलाई भने उनको स्वच्छन्द आदत, खल्तीमा राजीनामा पत्र बोकी हिँड्ने स्वतन्त्र पत्रकारिता शैली र लेखनकलाले चमत्कारिक असर पारेको छ ।

............................

२०३९ सालमा मैले पहिलो पटक भारतको भूमि टेक्ने अवसर पाएको हुँ । एकजना भ्राता कलकत्तास्थित महावाणिज्य दूतावासमा कार्यरत थिए । उनैका कारण एक महिना त्यस ऐतिहासिक नगरीमा बस्न जुरेको थियो । सोही बखत धर्मतल्लामा डुल्दै गर्दा चिल्लो मुखपृष्ठसहितको 'देबोनायर' देखेको हुँ । भर्खरै १८ वर्ष छोएको किशोर म, चिल्लो र रंगिन वस्तुले प्रभाव नपार्ने कुरै भएन । काठमाडौँका पत्रिका केन्द्र नयाँसडकतिर डुल्दा मैले उक्त पत्रिका कहिल्यै पनि देखेको थिइनँ, न त नाम नै सुनेको थिएँ ! न त मलाई त्यसको सम्पादक उनै विनोद मेहता थिए भन्ने नै थाहा थियो ! त्यसबखत त्यो पत्रिका निस्कन थालेको झन्डै एक दशक भइसकेको थियो ।

न्युजस्ट्यान्डमा राखिएको देबोनायर यस्सो उठाएर हेरेँ । अनायासै त्यसको मध्यपृष्ठ पल्टियो । त्यहाँ रंगिन चित्र थिए, वैँशालु नारीका । तिनको अर्धनग्न तस्बिर देखेपछि मेरो मुटु एकछिन ढक्क फुलेको थियो । किशोरउमेरको मेरो मनलाई त्यसले गज्जबले आकर्षित ग¥यो । मैले देबोनायर किनेँ । र, लुकाएर आफू बसेको ठाउँमा लगेँ । दाजु–भाउजुले देख्लान् भन्ने डर जो थियो ।

नयाँ सन्देश साप्ताहिकमा पनि त्यसबखत पछिल्लो पृष्ठमा स्यामस्वेतमै भए पनि अर्धनग्नखालकै नारी तस्बिर छापिन्थे । प्रायः मान्छेहरू त्यही तस्बिर हेर्न उक्त पत्रिका किन्थे । अन्य राजनीतिक तथा सामाजिक समाचार देबोनायर र नयाँ सन्देश दुवैमा नहुने त हैनन्, तर मान्छेका ध्यान तस्बिरले बढी तान्थे । मलाई थाहा छैन, नारी तस्बिरबाहेकका के पढ्न नयाँ सन्देश पाठकले किन्थे ? देबोनायरबारे त म झनै अनभिज्ञ थिएँ । तर, कलकत्ताको धर्मतल्लामा देबोनायर पल्टाउने पाठक र नयाँ सडकमा नयाँ सन्देश पल्टाउने पाठकको मनोभावनामा कताकता मेल खान्थ्यो । यद्यपि, देबोनायरको तस्बिरसँग नयाँ सन्देशको तुलना गर्नै सकिन्नथ्यो ।

मैले कलकत्तामा किनेको देबोनायर काठमाडौँमा ल्याएर आफूले मात्र हेरिनँ, समकालीन थुप्रै मित्रलाई पनि हेर्न दिएँ । पछि गएर केही साथी नयाँ सडकतिर देबोनायर खोज्न पनि थालेको थाहा पाएको थिएँ ।

पाण्डेले पत्रकारिता गर्दै जुनजुन पत्रिकामा सम्बद्ध भए पनि उनलाई स्थापित गर्ने 'नयाँ सन्देश' नै हो । र, नयाँ सन्देश ३० को उत्तराद्र्ध र ४० को दशकको केही वर्ष बढी चर्चित रह्यो । उक्त पत्रिकासँग मेरो अर्को नाता पनि छ, त्यो नाता अझ बढी गाढा र महत्वपूर्ण छ । मेरो पहिलो कविता र कथा प्रकाशित गर्ने पत्रिका त्यही नै थियो– २०३९ सालमा । दुर्गा बराल 'वात्सायन'को कार्टुन, सुन्दरीका तस्बिर र एक पृष्ठको साहित्य नै नयाँ सन्देशका विशेषता थिए भन्ने मलाई लाग्छ । यिनै कारण उक्त शुक्रबारे पत्रिकाको म नियमित पाठक थिएँ । नयाँ सन्देशले मेरा सिकारु रचना प्रकाशित नगरिदिएको भए सायद म शब्दहरूको कारखानामा अहिले कार्यरत हुने नै थिइन कि !

प्रकाशित: २८ फाल्गुन २०७२ २०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App