३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

फिलिली...

सफलताको श्रेय लिने होडबाजी चल्छ– विफलताहरू बाटामै बेवारिसे छाडिन्छन्। आधा वर्ष लामो तराई–मधेस आन्दोलनको पटाक्षेप भएको छ। त्यस आन्दोलनको परिचय वा उल्लेख नेपाली राजनीतिक इतिहासको कुन पृष्ठमा हुने हो यसै भन्न सकिन्न। हजारौँ मधेसवासी सहभागी भएको एउटा आन्दोलनको परिचय नै गुम्नु र डा. धु्रवचन्द्र गौतमले आजभन्दा झन्डै ३ दशकअघि मधेस (वीरगन्ज)कै पृष्ठभूमिमा लेखेको उपन्यास 'अलिखित'मा वर्णित गाउँ 'बरेवा'बीचको सम्बन्ध के छ? जसरी उपन्यासको मुख्य सेटिङ रहेको बरेवा गाउँ नेपालको नक्सामा छैन, त्यसैगरी ६ महिना लामो मधेस आन्दोलनको इतिहास नेपालको राजनीतिक मानचित्रमा नहुने हो? उत्तर खोज्नु यस आलेखको उद्देश्य होइन।

अलिखितमा बरेवामा रहेका भनिएका पुरातात्विक महत्वका सामग्रीबारे अध्ययन–अनुसन्धान गर्न जाने टोलीमा ११ जना थिए, तर मेरो टोली (हामी)मा धु्रवचन्द्र र म २ जनामात्र छौँ। हामीमा कुनै अनुसन्धान भएको छैन, भएको छ त आफ्ना कमजोरी वा मनोरन्जनका निम्ति अपनाइएको बाटोको लेखाजोखा। दुवैजना फिलिली भएको घटनाको सम्झना।

आजभन्दा अढाइ दशकजति अघि अलिखित पढ्दै गर्दा मेरो मानसपटलमा धु्रवचन्द्रको आकृति नाचिरहेको थियो। जीवनमा मैले अनुमान गरेको मानवआकृति प्रायः मिल्दैन। तर, धु्रवचन्द्रका बारेमा भने ठ्याक्कै मेल खाएको छ। पहिलो पटक नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिँदै गर्दा देखेको उनको शरीर मेरो अनुमानसँग मेल खानेखालको थियो। म फुरुङ्ङ परेको थिएँ, आफ्नो अनुमान पहिलो पटक मिलेकोमा।

...

चावहिलस्थित अभिव्यक्ति छापाखानाको प्रांगणमा पहिलो पटक (२०४९/५० सालमा हुनुपर्छ) अचानक उनलाई देखेँ। आफूलाई नचिन्ने मान्छे (दोहोरो चिनाजानी)सँग नबोल्ने मेरो खराब आदत छ। यो आजसम्म नफेरिएको आदतले मलाई धेरै पटक धोका दिइसकेको छ, घाटा पारिसकेको छ। मलाई लाग्थ्यो, धु्रवचन्द्रले मलाई चिन्दैनन् कसरी बोल्नु? किन नमस्कार गर्नु? कौसीबाट अभिव्यक्ति साहित्यिक द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्मा ओर्लिए र धु्रवचन्द्रलाई भने, 'ए डाक्टर राजेन्द्रजीलाई चिन्दैनौ तिमी?' मलाई धु्रवचन्द्रतिर आउन भन्दै नगेन्द्रले भनेका थिए।

'म त चिन्छु नि नागुबाबु उहाँलाई, तर उहाँले मलाई चिन्नु भएन, मसँग बोल्दै बोल्नु भएन!' धु्रवचन्द्रको जवाफले मलाई लज्जाबोध गराएको थियो। त्यति ठूलो लेखकले मजस्तो भर्खरै लेख्न थालेको सिकारुलाई कसरी चिनेछन्? म छक्क परेको थिएँ। त्यसपछि म उनलाई देख्नासाथ नमस्कार गर्न थालेँ। उनीसँग साहित्यिक विषयमा संवाद गर्न थालेँ। विस्तारै उनीसित हिमचिम बढ्न थाल्यो। म साहित्यिक पत्रिका चलाउने, उनी स्थापित आख्यानकार। एकलाई अर्कोको आवश्यक थियो। बढीमात्रामा मलाई उनको आवश्यकता थियो। धु्रवचन्द्रसँगको संगत मेरा निम्ति अमूल्य थियो। म उनीसँग समय बिताउँदा असाध्यै सहज महसुस गर्थें, अहिले पनि गर्छु। एउटा अग्रज लेखकसँग बनेको मित्रवत् सम्बन्धले फाइदा मलाई नै बढी हुन पुगेको थियो।

...

२०५९ सालमा शिक्षण संस्था नोबेल एकेडेमीले वार्षिक साहित्यिक पत्रिका निकाल्ने निधो गर्योे। त्यसको सम्पादनको जिम्मा मलाई दिइयो। सोही पत्रिकाका निम्ति केही दिनअघि मैले उनीसँग एउटा नयाँ कथा मागेको थिएँ। उनले दिन नै तोकेर कथा उपलब्ध गराउने बचन दिएका थिए। त्यो मिति आउन एक दिनमात्र बाँकी थियो। र, कथा दिने भनिएको दिनको पूर्वसन्ध्यामा हामी अचानक भेटिएका थियौँ, टेकुस्थित बेकरी क्याफेमा आयोजित एउटा कार्यक्रममा।

रातको १० बजिसकेको थियो। बेकरी क्याफेको रुफटपमा ४–५ जनामात्र बाँकी थियौँ। र, त्यहाँ हामी सबैका केन्द्र बनेका थिए उनै धु्रवचन्द्र। पार्टी ५ बजेतिर सुरु भएको हुनुपर्छ। सयभन्दा बढी आमन्त्रित, तर जब ८ नाघ्न थाल्यो पाहुना क्रमशः आआफ्ना थातथलोतिर लाग्न थालेका थिए। सोही समयको छेको पारेर आयोजक पनि बाहिरिइसकेको मैले देखेको थिएँ।

मसँग घर फर्कन आफ्नै बाहन थियो, एक जनालाई लिफ्ट पनि दिन सक्थेँ। त्यसैले म निर्धक्क उक्त पार्टीमा रमाइरहेको थिएँ, २–३ जना मन मिल्ने साथीसँग गफिइरहेको थिएँ। त्यसबखत मापसेको डर पनि थिएन। रात ढल्दै थियो, मसँग बसिरहेका साथीहरू पनि एकपछि अर्को गर्दै बाहिरिए। त्यसपछि म धु्रवचन्द्र भएतिर लागेँ। उनी पुराना हिन्दी सिनेमाका गीत र सुसेलीबाट बाँकी मान्छेलाई त्यहाँ अल्झाइरहेका थिए।

उनको छेउमा हाफ बोतल ह्विस्की थियो, उनी त्यही रित्ताउने तरखरमा थिए सायद। त्यसअघि उनले कति खाए, मलाई थाहा थिएन। मलाई देखेपछि उनले भने, 'तपाईंको ग्लास खोइ राजेन्द्रजी? अलिकति थपौँ न!' रित्तिनुमात्र होइन चिसिइसकेको ग्लास मैले हातमा लिइराखेको रहेछु, मलाई थाहै थिएन। मैले त्यो रित्तो ग्लास उनीतिर बढाएँ। उनले त्यस्तै ६० मिलिलिटरजति हालिदिए। बाँकी आफ्नो ग्लासमा घोप्टाए। हामी दुवैको ग्लास रित्तिँदा रात थप छिप्पिएर ११ बजिसकेको थियो। मैले उनलाई सोधेँ, 'डाक्टरसाब अब घर जानुपर्छ। तर, तपाईं कसरी जानु हुन्छ? ट्याक्सीमा?' उनी एकछिन अन्कनाए। र भने, 'त्यही त अब कसरी जानु? मैले त ट्याक्सी चढ्ने पैसा पनि बोकेको छैन। यी आयोजक पनि कार्यक्रममा सहभागी गराउन लिनचाहिँ घरमा पठाउँछन्, काम सकिएपछि पुर्याीउने जिम्मेवारी भने लिँदैनन्, त्यसैले सकभर कार्यक्रममा जानै मन लाग्दैन मलाई।'

'म छँदै छु नि डाक्टरसाब। मेरो मोटरसाइकलमा तपाईंलाई पुर्या?इदिउँला घर, चिन्ता नलिनोस्।'

'धन्यवाद राजेन्द्रजी। अब त अर्को एक लार्ज पेग पाए थप्ने थिएँ।' उनले ढुक्क हुँदै भनेका थिए। तर, बेकरीमा कोही पनि थिएन, मूल ढोका कुरेर गार्डमात्र बसिरहेका थिए। बाँकी रहेका ३–४ जना कहिले निस्केलान् र ढुक्कले सुत्न पाइएला भन्ने गार्डको मनोकांक्षा हुँदो हो। त्यसकारण धु्रवचन्द्रको इच्छा पूरा हुने सम्भावना बिलकुलै थिएन।

टेकुबाट निस्कँदा ११ नाघिसकेको थियो। बाहिर सिमसिम पानी परिरहेको थियो। शरीरभित्र ह्विस्कीले ताप बढाइदिएको थियो, त्यसलाई सिमसिमे पानीले केही चिस्याइदिएको थियो। धु्रवचन्द्रको घर कहाँनिर पर्छ भन्ने मलाई थाहा थिएन, सुनेको मात्र थिएँ चन्डोलमा बस्छन् भन्ने। उनले त्रिपुरेश्वर नपुग्दै न्युरोडतर्फ लाग्न मलाई हातले इशारा गरे। मैले मोटरसाइकलको ह्यान्डिल देब्रे घुमाएँ। देब्रे घुम्दा मलाई रिङटा लागेजस्तो भयो। तर, मैले आफू र मोटरसाइकललाई सम्हालेँ। धु्रवचन्द्रले दिएको ह्विस्की नखाउन्जेल म एकदम दुरुस्त हालतमा थिएँ, त्यसपछि टाउको झम्म भएको थियो। यस्तै गफ गर्दै हामी त्यो सीधा र शान्त बाटो काटिरहेका थियौँ। वैरागी काइँलाको कविताजस्तो 'मातेको मान्छेको भाषण मध्यरातको सडक'मा सुनाइरहेका थिएनौँ।

'सुरुमा त राम्रै ब्रान्डको जस्तो लाग्याथ्यो, पछि मलाई ल्याएर दिएको चाहिँ अलि कमसल परेछ कि क्या हो!' उनले ह्विस्कीको स्तरप्रति शंका व्यक्त गरे। उनको आशंका सत्यताको नजिक रहेको मेरो ठहर रह्यो। किनकि, पछिल्लो पेगका कारण नै म बढी मातेको थिएँ।

लाजिम्पाटस्थित सांग्रिला होटेलछेउ पुगेपछि मलाई उनले दाहिने मोड्न भने। त्यो मोड मेरा निम्ति निकै कठिन बन्न पुग्यो, तर बल्लतल्ल त्यसलाई पार गरेँ। धु्रवचन्द्रको भारी ज्यान सामान्य अवस्थामा पनि मोटरसाइकलमा राखेर चलाउन कठिन हुने यसअघि नै मलाई ज्ञान भइसकेको थियो। ह्विस्कीले उनी आफूलाई सम्हाल्नै गाह्रो मानिरहेका थिए। फिलिली थिए उनी– मोटरसाइकल जता ढल्क्यो उनी त्यतै ढल्कन्थे। मेरो आफ्नै हालत पनि कम फिलिली थिएन। हामीबीच को बढी फिलिली हुने भन्ने प्रतिस्पर्धा नै चलिरहेको थियो। जिन्दगीको फिलिली प्रतिस्पर्धा गरिरहेका थियौँ हामी। फिलिली हुने छुट उनैलाई बढी थियो, किनकि मैले मोटरसाइकाल हाँक्नु पनि थियो।

पहिलो उकालो अनि घुम्ती। मोटरसाइकल थाम्न सकिनँ मैले, हात छाडिदिएँ। धु्रवचन्द्र छेउमा थचक्क बसे, म भने केही फिट पर पुगेर पल्टिएको मोटरसाइकल उठाउनतिर लागेँ। केही मिनेटमा पुनः हामी मोटरसाइकलमा उक्लियौँ र आफ्नो गन्तव्यमा लम्क्यौँ। अर्को एउटा सानो उकालो र सामान्य मोड। तर, त्यहाँ पनि हाम्रो गति उस्तै भयो, त्यो बा ८प ८११ नम्बरको सानो सय सिसीको होन्डा स्प्लेन्डर मोटरसाइकलले थाम्न सकेन, पल्टियो। अगाडि दुईवटा बाटा आए। मैले उनलाई सोधेँ, कताबाट जाउँ भनेर। उनी एकछिन अल्मलिएर पुनः देबे्रतिर इशारा गरे। म उनले जता भन्छन् उतै लागेँ। उनको घर देख्ने उचित पात्र उनी नभए अरु को हुन्छ त भन्ने मनमनै सोच्दै। तर, आएन उनको घर। न त उनले आफ्नो घरको बाटो नै मलाई बताउन सके। त्यस्तो धेरै घम्ती पार गरियो, तर उनले आफ्नो घर बताउन सकेनन्।

सिमसिमे पानीले बाटो अलि चिप्लो बनाइदिएको थियो। ढलनिकास सधैँ समस्या बन्दै आएको राजधानीको हालतमा कुनै सुधार हुने छाँटकाँट थिएन। निकम्मा थियो सरकार र उसको कार्यशैली भ्रष्टचारमा डुबेको थियो। शासनसत्ता राजाको हातमा थियो, तर पनि विकासको गतिमा कुनै सुधार आएको थिएन। म देशको चिन्तामा डुबेको थिएँ, रक्सी लागेका बेला अलि बढी देशको चिन्ता हुने रहेछ। कतिपय कविलाई जस्तै त्यसबखत मलाई पनि 'देश दुःखीरहेको' थियो। मेरो चिन्ता बढ्दो थियो, फिलिलीपना पनि उसैगरी बढिरहेको थियो।

मोटरसाइकल एउटा खाडलमा खसेको मैले पत्तै पाइनँ। खाडल त्यति ठूलो थिएन, २–३ फिट गहिरो थियो सायद। सिमसिम भए पनि लामो समयदेखि परेको पानीले उक्त खाडल भरिएको थियो। डाक्टरसाब त्यही खाडलमा परिसकेछन्। मैले मोटरसाइकल उठाउनतिर नलागी उनलाई खाडलबाट निकाल्ने काम गरेँ। मुस्किलका साथ उनलाई खाडलबाट निकालेर ढलेको मोटरसाइकल उठाएँ। स्ट्यान्ड लगाएर ठड्याएँ त्यसलाई। हातमा समातेर उनलाई बल्लतल्ल मोटरसाइकलमा बसालेँ। उनी आफ्नो फिलिली भएको शरीर सम्हाल्न सकिरहेका थिएनन्।

मोटरसाइकल केही पर पुर्यालएको मात्र थिएँ धु्रवचन्द्रले आत्तिँदै भने, 'ए राजेन्द्रजी मेरो त एउटा जुत्तै छैन लौ न!'

परेन फसाद्! कहाँ खोज्नु उनको एउटा जुत्ता त्यो मध्यरातमा? म रनभुल्लमा परेँ। कतै त्यही पानीको खाडलमा त खसेन, मेरो दिमागले काम गर्योक। उनलाई त्यहीँ बस्न भनेर म कुद्दै खाडल खोज्न थालेँ। नभन्दै खाडलको माथिपट्टि जुत्ता तैरिरहेको रहेछ। बोकेर ल्याएँ, उनको गोडामा त्यसलाई हुलिदिएँ।

मोटरसाइकल जसोतसो अलि अगाडि बढाएको मात्र के थिएँ उनी कराए– 'ऊ आयो मेरो घर, मलाई यहीँ रोकिदिनुस्।' आफ्नो घर देखे या कुनै परिचित गल्ली देखे मलाई थाहा भएन। उनी त्यसबखत मोटरसाइकलबाट हामफालुँला झैँ गरे– फिलिली कुद्दै गए। एउटा सानो बच्चा आफ्नी आमालाई देख्दा खुसी भएजसरी धु्रवचन्द्र खुसी भएका थिए।

म उनलाई छाडेर आफ्नो घरतर्फ लागेँ। मलाई चाबहिल निस्केर पुग्नु थियो तीनकुने, कोटेश्वर। त्यसका निम्ति सर्वप्रथम चक्रपथ पुग्नु थियो। चक्रपथ केहीबेरमै पुगेँ र मोटरसाइकल हुत्याउन थालेँ– फिलिली। मलाई जसरी हुन्छ चाँडो घर पुगेर अति नै थाकेको र मातेको शरीरलाई ओछ्यानमा पल्टाउनु जो थियो। तर, आउनुपर्ने समयमा चाबहिल आएन, त्यो आउँदै आएन।

परतिर एउटा साइनबोर्डमुन्तिर बत्ती बलिरहेको देखियो। मैले साइनबोर्ड पढेपछि थाहा पाएँ, वनस्थली बालाजु पो पुगेछु!

उफ् कस्तो समस्या! त्यहाँबाट फेरि चाबहिल फर्कनुभन्दा कलंकी निस्केर त्रिपुरेश्वर हुँदै घर जानु नजिक र सजिलो थियो। मैले त्यसै गरेँ।

रातको एक बजेतिर सुतेको मेरो निद्रा बिहान पाँचै बजे टुट्यो। जिउ बेस्सरी दुःखीरहेको थियो। टाउको टन्किरहेको थियो। हात अनायासै घुँडामुन्तिरको भाग सुम्सुम्याउन पुग्यो। देबे्रतिरको भागमा ५–७ वटा घाउ थिए। सम्झेँ, धु्रवचन्द्रको कतिवटा घाउ भए होलान्। तर, त्यसबेला फोन गर्नु उपयुक्त थिएन।

म उनीसँगका विगत सम्झन थालेँ। ओछ्यानमै बसेर दुई पटक चिया र कफी खाइसक्दा बिहानको ८ बजेको थियो। मैले उनलाई फोन लगाएँ। उनले आफ्नो घाउ गन्न भ्याइसकेका रहेछन्। '९ वटा पो छन् त घुँडामुन्तिर घाउ, अन्त हेरेको छैन।' हामी दुवै फोनमै खित्का छाडेर हाँस्न थाल्यौँ।

मैले कथाको कुरा गरेँ। अघिल्लो दिनको अवस्थाका कारण कथा पाउनेमा मभित्र एकखालको आशंका जन्मिएको थियो। 'आज साँझसम्ममा कुनै पनि हालतमा तपाईंको हातमा कथा पर्नेछ,' उनले भने। म साँझ कुर्दै बसेँ। 'तर, के कथा लेख्न सक्लान् र उनले?' मलाई लाग्यो। राति उनको फिलिलीपन सम्झँदा कथा लेख्न सक्ने अवस्था नै थिएन।

साँझअगावै उनको फोन आयो। हामी पुतलीसडकमा भेट्ने भयौँ।

बचनका पक्का उनले मलाई भनेको समयमा कथा दिए। अघिल्लो दिनको कुरा कफी खाँदै सम्झन थाल्यौँ। म उनको 'साठी वर्षमा हृदयाघात' शीर्षकको सुन्दर कथा ओल्टाइपल्टाइ गर्दै आफ्नो बाटो लागेँ। हातले घाउ सुम्सुम्याउँदै हामी हाँस्दै त्यस दिन छुट्टियौँ। मैले मनमनै भनेँ– कस्तो विलक्षण प्रतिभा!

प्रकाशित: १४ फाल्गुन २०७२ २१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App