८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

हामीभित्रै छ यौन हिंसा, खोज्नै पर्दैन

बिन्ति गुरागाईं

मेरी बहिनी मभन्दा एघार वर्ष कान्छी छे । बेलाबेला ऊ मलाई फोन गर्छे र सोध्छे, ‘दिदी, यो ‘नकारात्मक स्पर्श’ त होइन नि ?’

अचानक आएको फोनले म यसै झस्कन्थें साथमा ‘नकारात्मक स्पर्श’को कुरा आउनेबित्तिकै म सशंकित हुन्थें । केही वर्षअघि बालसुलभ उमेरमै रहेकी बहिनीको मनोविज्ञानलाई ध्यानमा राख्दै यौन सचेतनाका लागि सकारात्मक स्पर्श (गुड टच) र नकारात्मक स्पर्श (ब्याड टच) सिकाएको थिएँ । यौन सचेतनासम्बन्धी सिकाइले बहिनीको कलिलो मस्तिष्कमा गहिरो आघात परेछ सायद । उसलाई आफन्त साथी र शिक्षकले धाप मार्दा वा मायाले गाला मुसार्दा पनि ऊ संशकिंत भएर मलाई फोन गर्थी ।

यसमा बहिनीको कुनै दोष छैन । आफूमाथि हुने हिंसाको जानकारी राख्न मैले उसलाई सुरुमै सचेत पार्न खोजेको मात्र हो । म घर आएको समयमा ऊ यस विषयमा धेरै कुरा सोधिरहेकी हुन्थी । एक त म आफैं किशोरी जसलाई पाइलैपिच्छे यौन हिसांको मार खेपिरहनु परेको हुन्छ । त्यसमाथि आफ्नो बहिनीको पीडा सुन्नुपर्दा  म विचलित हुन्थें । मेरो पीडा त उसको अगाडि म सामान्य देख्न थाले । कम्तीमा म यौन  दुरव्यवहारबारे सचेत  छु । म त्यसको विरोध गर्न सक्छु र आफूलाई सुरक्षित  राख्न कोसिस गर्छु । तर मेरी बहिनी र उसका उमेरका अबोध बालिकालाई यौन दुरव्यवहारबारे केही थाहा छैन तिनीहरूलाई कसरी सुरक्षित राख्ने भनेर म उपाय खोजिरहेकी हुन्थें ।

उमेरमा अन्तर भए पनि मैले बहिनी जन्मिनुअघि नै उसको नाम  रोजिसकेकी थिएँ ।भगवानप्रतिको आस्था र विश्वासका कारण बहिनी जन्मिएकी हो भन्ने सोचाइले मैले उसको नाम ‘स्तुति’ राखिदिएँ ।

बिस्तारै बहिनीको उमेर बढ्दै गयो । सामाजिक संजालमा बालबालिकामाथि यौन दुरव्यवहारका भएका घटना धेरै सुनिन्थ्यो । यस्ता घटना  सुन्दा म मर्माहत बन्थें । मेरा हातखुट्टा चिसा हुन्थे । त्यही क्षण बहिनीलाई सम्झन्थें ।  ऊमाथि पनि यस्तै घटना घट्ने हो कि भन्ने सोचाइबाट मात्र पनि म अतालिन्थें । अबोध बालिका जसले पुरुषलाई आफ्नै पिता, काका र दाजुसमान सम्झिन्छन् ती नै उनका यौन दंशक हुन सक्ने सम्भावना स्वीकार्न मुस्किल पथ्र्यो मलाई ।

बेलाबेलामा  एक कदम अगाडि बढेर कलिलै उमेरमा मैले उसको मस्तिष्कमा तनाव दिएँ कि भन्ने पनि  लाग्थ्यो । यस्तै दोधारमा दिन बित्दै गयो । यसैक्रममा गत चैत्र ११ गतेदेखि कोरोना भाइरसको लकडाउनले गर्दा मैले बहिनीसँग समय बिताउने मौका पाएँ । २०७७, जेठ ३२ गते कैलालीको क्वारेन्टिनमा राखेकी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीबाटै सामूहिक बलात्कार भएको घटना समाचारमा आयो । त्यो समाचार बहिनीले पनि सुनेकी रहिछ  । उसले मलाई बहिनीले सोधिहाली, ‘दिदी, बलात्कार भनेको चाहिँ के हो ?’

उसको सोधाइले एकछिन त म  मौन भएँ  तर उसले जिद्दी गर्न थाली । उसको बालहठको अगाडि मैले नभनी सुख पाउँदिन भन्ने थाहा पाएपछि सम्झाउँदै भनें, ‘तिमीलाई मैले गुड टच र ब्याड टचको बारेमा भनेको थिएँ । हो यदि तिमीलाई कसैले ब्याड टच गर्छ र तिम्रो शरीरको संवेदनशील अंग काटिदिन्छ भने त्यसलाई बलात्कार भनिन्छ ।’ यति भन्दा उसको अनुहारमा त्रासको साथसाथै कौतूहलता पनि देखियो । उसले एकोहोएिर मलाई हेरिरही । अनि मलाई सोधिन्, ‘हजुरले त मलाई ‘गुड टच’ र ‘ब्याड टच’ बारेमा भन्नुभएको छ । तर मेरा साथीहरू र ससाना बहिनीहरूलाई कसले सिकाउन पायो होला र ?’

बहिनीको प्रश्नले म अवाक् भएँ । हरेक बालिकाहरूलाई उनीहरूमाथि सम्भावित यौन बेलाबेलामा   दुव्र्यवहारप्रति सचेत गराउन अत्यावश्यक छ भन्ने मलाई महसुस भयो । हाम्रो समाजमा यौनसंग सम्बन्धित विषयलाई ‘वर्जित विषय’ मानिन्छ । अझै यौनिक विषयलाई सामाजिक अपराधको रूपको हेरिन्छ । बालबालिकामाथि यौनहिंसा बढिरहेको अवस्थामा हामी जस्ता सचेत प्राणी के मौन बस्न सुहाउँछ ?

लकडाउनको एक महिनाअघि हाम्रो देशमा उनन्तीस जना बालबालिकामाथि यौन दुरव्यवहार भएको तथ्यांक हामी देख्न सक्छौ । लकडाउनपछि (चैत्र ११ देखि जेठ १०) दुई महिनाभित्र पैँतीस जना बालबालिकामाथि यौन दुरव्यवहार भएको घटना हामीमाझ छ । यसले हामी आफ्नै घर, टोल, समाजमा सुरक्षित छैनौं भन्ने कुरा स्पष्ट पार्दछ ।

हाम्रो समाजमा आमाको दूध चुस्न नछोडेका अबोध बालिकाहरूलाई पनि यौन पिपासुहरूले छाडेका छैनन् । आफ्नै घरमा घटेको त्यस्तो निन्दनीय अपराधलाई पनि घरका सदस्यले बाहिर ल्याउन चाहँदैनन् । बाबुले  छोरीलाई, दाजुले बहिनीलाई, काकाले भतिजीलाई ..... । यस्ता कतिकति दुरव्यवहार  हाम्रो घरमा नै घट्छ । एउटा बच्चाको जिन्दगीमाथि अरूले खेलवाड गर्दा पनि आफ्नो आडम्बरी इज्जतमा लाञ्छना लाग्छ भन्ने डरले हाम्रा अभिभावक यस्ता जघन्य अपराधलाई लुकाएर प्रश्रय दिइरहेका छन् ।

मेरो स्मृतिमा भएको एक घटनाले मलाई बाल्यकालदखि नै पटकपटक झक्झकाइरहेको छ । त्यो अबुझ समयमा मैले केही बुझिनँ तर अहिले बुझ्दा समाज यस्ता घटनामा निरीह रहेको भान हुन्छ ।

म पाँच वर्षकी हुँदाको कुरा हो । छिमेकी अंकलको घर बन्दै थियो । हामी चार जना बालिका लुकीछिपी खेल्न प्रायः त्यही जाने गरथ्यौं  । त्यही क्रममा एकजना साथी खेल्न बन्दै गरेको घरको कोठामा जाँदा त्यहीँ काम गर्ने दाइले उसमाथि अनुचित क्रियाकलाप गरेको हामीले देख्दा अबुझ भएको कारण खेल खेलेको सोच्यौं । त्यति नै खेर त्यही घरको आन्टीले देखेर कराएपछि सबै जम्मा भएर त्यो दाइलाई लखेटे ।

तर कसैले त्यो दाइले गरेको  दुरव्यवहारको सजाय दिनतर्फ चासो देखाएनन् । म ९ कक्षामा पढ्दा मेरी साथीलाई ट्युसन शिक्षकले उसको संवेदनशील अंगमा स्पर्श गर्दा उसले कसैलाई भन्न सकिन । मलाई उसले जानकारी दिँदा म आफैं पनि स्तब्ध रहिरहें ।

यौनशोषण, यौन दुरव्यवहार  बालिकामा मात्र हुन्छ भन्ने छैन । आंशिक रूपमा बालकमा पनि हुने गरेको देखिएको छ । पिडियोफेलिया एक किसिमको यौन दूराचार हो । यो एक मनोवैज्ञानिक अराजकता हो जसमा वयस्क व्यक्तिले किशोरावस्थाका बालबालिकामा यौन हिंसा गर्छन् । यसमा बालिकासँगै बालक पनि पीडित हुन्छन् ।

पिडियोफेलियाजस्तो यौन   दुरव्यवहार   विदेशीद्वारा नेपाली बालबालिकामा बढी भएको पाइन्छ र यो बढ्दो क्रममा छ । बालबालिकाको पहिलो पाठशाला उनीहरूको आफ्नै घर हो । यस्ता यौन दुराचारप्रति  अभिभावक सचेत भई आफ्ना बालबालिकालाई बेलैमा सचेत गराउनु आवश्यक हुन्छ । बालबालिका अबोध हुन्छन् । त्यसैले उनीहरूले यो उमेरमा यौनहिंसाबारे बुझाउनु सजिलो कुरा होइन । तर आफ्नो संवेदनशील अंगमा कसैले स्पर्श गर्छ भने त्यो गलत हो र त्यस्तो भएमा चिच्याउनु, कराउनु र हामीलाई जानकारी गराउनु भनी सिकाउन सक्छौं ।

बालबालिका किशोर अवस्थामा जाँदा उनीहरूलाई यौन शिक्षा विस्तृत रूपमा दिनु जरुरी हुन्छ । जसले गर्दा उनीहरूलाई कसैले गलत काममा प्रयोग गर्न नसकून् । उनीहरूले यौनिक विषयलाई कौतूहलता र जिज्ञासुपूर्वक लिएर गलत कदम नउठाऊन् । 

आफ्नो शरीरमा उमेरसँगै हुने परिवर्तनसम्म बालबालिकालाई  थाहा हुँदैन । हाम्रो समाजमा महिनावारी रोकिएकी किशोरीको पेट बढ्न थालेपछि मात्र ऊ गर्भवती भएको कुरा उसकी आमालगायत गाउँका अन्य महिलाले थाहा पाउँछन् । तर अझै त्यो किशोरीले आफूमा आएको शारीरिक परिर्वतनको अन्दाज लगाउन सक्दिनँ । यी सबै हुनुको कारण यौन शिक्षाको कमी हो । तसर्थ घरपरिवारका सदस्यले यौन विषयलाई लाजमर्दो विषय एवं वर्जित विषयका रूपमा नलिएर अन्य विषयसरह सामान्य विषयका रूपमा लिएर उनीहरूसँग मित्रवत् सम्बन्ध राख्नुपर्छ ।

प्रविधि मैत्री आजको युगमा आफ्ना बच्चाहरू प्रविधिसँग खेल्दा अभिभावकले निकै सतर्कता अपनाउनुपर्छ । आजभोलि इन्टरनेटको सहयोगमा आफ्ना साथीसँगीसँग मिलेर अश्लील गतिविधि हेर्ने क्रम बढेको हुनाले त्यतातिर पनि अभिभावक सचेत हुनुपर्छ । त्यति मात्र होइन आफ्ना अग्रजले पनि अश्लील भिडियो देखाएर गलत बाटातर्फ लाने हुनाले बालबालिकालाई इन्टरनेटमा आवश्यकताअनुरूप संलग्न गराउनेतिर पनि अभिभावक सचेत हुनुपर्छ ।

यौन शिक्षाका बारेमा घरमा मात्र सचेत गराएर नपुग्ने हुनाले शैक्षिक संस्थामा पनि यो विषयमा जोड दिन आवश्यक छ । अतिरिक्त क्रियाकलापमा यौन शिक्षाको विषयलाई गम्भीर रूपमा लिनुपर्छ ।

बालबालिकालाई पढाइभन्दा गीत, अभिनय, कविताबाट उनीहरूमाथि हुन सक्ने यौनहिंसाबारे सन्देश दिन जरुरी छ । यस विषयमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आइसकेको छ । सरकारी तथा गैरसरकारी शैक्षिक संस्थामा स्वास्थ्य र जनसंख्या विषयअन्तर्गत यौन शिक्षालाई एक गहन विषयका रूपमा स्थान दिन जरुरी छ । कम्तीमा पनि त्रैमासिक रूपमा बालमनोवैज्ञानिक परामर्शदाताको पनि व्यवस्था गर्नु जरुरी देखिन्छ ।

अज्ञानता नै हरेक समस्याको जड हो । यौन हिंसाको सवालमा पनि हाम्रो अज्ञानताले हामीलाई डसिरहेछ । अज्ञानतासँगै हाम्रो मौनताले गर्दा यो दिनदिनै बढ्दै छ । बालबालिकाको सुरक्षाको प्रत्याभूति राज्यले गर्न सक्दैन भने हाम्रो गणतान्त्रिक प्रक्रिया र सभ्यतामाथि नै प्रश्नचिन्ह खडा हुन्छ ।

प्रकाशित: ३० असार २०७७ ०१:०२ मंगलबार

जूनकीरी