१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

कुलदेवतालाई परिकार चढाएर मनाइने ग्याल्बु ल्होसार

डा. दावा शेर्पा

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी समुदायका शेर्पा जातिको एक प्रमुख चाड हो, ल्होसार। ल्होसार खासगरी ‘तोला, सोनाम र ग्याल्बु’ तीन किसिमका छन्। यसमध्येको ‘ग्याल्बु ल्होसार’लाई शेर्पा समुदायले उमंगका साथ मनाउने गरेका छन्। शेर्पा भाषाको ‘ग्याल्बु’ले राजा र ‘ल्होसार’ले नयाँ वर्ष बुझाउँछ। ‘ग्याल्बु ल्होसार’लाई शेर्पा जातिले प्राचीनकालदेखि मान्दै आएको मानिन्छ। यस वर्ष ‘फाक ल्हो’ (सुँगुर वर्ष) को बिदा भई फागुन १२ गतेदेखि सुरु हुने २१४६औँ क्याट फो ‘च्युवा ल्हो’ ल्होसार (मुसा वर्ष) लागेको छ। बौद्धमार्गी समुदायले मनाउने अन्य ल्होसारमा ‘सोनाम’ र ‘तोला’ ल्होसार तामाङ, हेल्मु शेर्पा र गुरुङ जातिहरूले मनाउँदै आएको पाइन्छ।

ग्याल्बु ल्होसार विधि
१५ दिनसम्म मनाइने नयाँ वर्ष ‘ग्याल्बु ल्होसार’ सुरु हुन केही दिनअघि नै शेर्पाहरूले घरमा ‘लोफुत’ (अनाजको जमरा) राख्छन्। ल्होसारको प्रमुख खानेकुरामा ‘खाप्से’ (गहुँ, जौ, उवाको पिठोलाई घिउमा मुछेर बनाइएको एक प्रकारको रोटी, अचेल मैदाको प्रयोग गरिन्छ) बनाउने चलन छ। तिथि फेरबदलका कारण कहिले माघ र कहिले फागुनमा पर्ने ‘ग्याल्बु ल्होसार’ कृष्णपक्ष औँसीको प्रतिपदाबाट सुरु हुन्छ। यस चाडमा घरभित्र र बाहिर सफा गरी निस्केको फोहोर चौबाटोमा फ्याँक्ने गरिन्छ। यसपछि साँझपख ‘गुथुक’ (क्वाँटीजस्तै विभिन्न नौ थरी अन्न मिलाइएको परिकार) पकाएर परिवारका बीचमा रमाइलो गरी खाइन्छ। गुथुकले परिवारका सदस्यको शुभ र अशुभ भाग्यको संकेत दिन्छ भनी मनोरञ्जन गर्दै खाने चलन छ।

कृष्णपक्ष औँसीको भोलिपल्ट बिहानदेखि बेलुकासम्म दीपावलीका साथ ल्होसारका लागि बनाइएको विशेष रोटी (खाप्से) र गहुँको पिठो, चिनी, घिउ मिसाइएको ‘टसी छिमार’ कुलदेवतालाई चढाइन्छ। यसपछि नयाँ वर्ष अर्थात् नयाँ दिनको आगमनसँगै सबैको सुख–शान्ति, सु–स्वास्थ्य र दीर्घायुको कामना गरी गुम्बा वा आफ्नो घरमा ‘छ्योमी’ (बत्ती बाली) पूजापाठका साथ प्रार्थना गर्ने गरिन्छ। ‘छेची’ (कृष्णपक्ष प्रतिपदा)को दिन सुरु हुने नयाँ वर्षको दिन परिवारका सबै सदस्य बिहान चाँडै उठी गाउँको मूल पधेँरोको पूजा गरी पानी ल्याइन्छ र त्यो पानी कुल–देवतालाई चढाउने चलन छ। त्यस दिन जसले पहिला पानी भरेर ल्याउन सक्छ, उसले नै जलदेवताबाट अमृत प्राप्त गर्ने जनविश्वास छ।

‘छेची’को दिन सुरु हुने नयाँ वर्षको दिन परिवारका सबै सदस्य बिहान चाँडै उठी गाउँको मूल पधेँरोको पूजा गरी पानी ल्याइन्छ र त्यो पानी कुल–देवतालाई चढाउने चलन छ। त्यस दिन जसले पहिला पानी भरेर ल्याउन सक्छ, उसले नै जलदेवताबाट अमृत प्राप्त गर्ने जनविश्वास छ।

कुल–देवतालाई पानी, बत्ती, नैवेद्य चढाई घरका भित्तामा विभिन्न शुभचिह्नको ‘चम्बा’ पिठोको टीका लगाइन्छ भने परिवारका सबैजना नयाँ पोसाक र ल्होसारको ‘खाप्से’ (रोटी) खाएर मान्यजनबाट आशीर्वाद लिने, हर्षोल्लासका साथ स्याब्रु नाची ल्होसार मनाइन्छ। त्यस दिन घर छाडेर बाहिर नजाने र आफ्नै घर वा गुम्बामा बस्ने गरिन्छ। ‘छेवा ङी’ (द्वितीया) का दिन आफन्त र मान्यजन घरमा निमन्त्रणा गरी बायाँ काँधमा ‘छिमार’ (पिठो) लगाइदिएर ‘टासी देले फुन्छोम छोक’ भनी नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिन्छ। त्यही दिन बौद्ध गुम्बा र डाँडाहरूमा ‘लुङ्दा’ (ध्वजापताका) लगाई सामूहिक रमाइलो गरिन्छ।

प्रकृतिसँग सम्बन्धित
तोला ल्होसार पुसको १५ गते गुरुङ जातिले मनाउँदै आएका छन्। तिब्बतीहरुका अनुसार मुख्य ग्याल्बु ल्होसारको पूर्वतयारीको रूपमा मनाइने चाड हो, तोला ल्होसार। आचार्य ङवाङ् वासेरका अनुसार पुसको घाम फर्केका अवसरमा नयाँ संवत् फेरिने भएकाले गुरुङ जातिले ‘तमु ल्होसार’का रूपमा मान्दै आएका छन्। प्राचीन तिब्बतमा बाली भिœयाइएको अवसर पारी पुस महिनामा मान्ने चाडका रूपमा तोला ल्होसारलाई मनाइएको देखिन्छ। सोनाम ल्होसार पनि कृषकले मान्ने ल्होसारका रूपमा मनाइँदै आएको भनाइ रहे पनि सामान्यतः यो ल्होसार हिउँदको घाम उत्तरतर्फ फर्किएको महिना अर्थात् माघ शुक्ल प्रतिपदामा पर्ने हुनाले यसलाई ‘सोनाम ल्होसार’का रूपमा मानिन्छ। इतिहासकारका अनुसार हिमवत् क्षेत्रका किसानले अन्न पाकेपछि पुनः नयाँ बाली लगाउनुपर्ने हुनाले आगामी दिनमा बाधारहित रूपमा नयाँ बाली लगाउने काम सम्पन्न होस् भन्ने उद्देश्यले तामाङ, ह्योल्मु र भारतका लद्दाखीले ‘सोनाम ल्होसार’ मान्ने गरेका छन्।

जुन जातिका समुदायले जसरी मनाए पनि यसको गणना गर्ने तरिका ‘ल्हो’ अर्थात् वर्ष वा वर्गका नाम भने तीनवटै ल्होसारका एकै हुन्। तिथि गणनामा कसैको अघि र कसैको पछि पर्ने कारण ल्होसार छुट्टाछुट्टै तिथिमा मनाएको पाइन्छ। यस वर्षको ग्याल्बु ल्होसार २१४६औँ क्याट फो ‘च्युवा ल्हो’ (मुसा वर्ष) हो,फागुन १२ गतेबाट सुरु हुँदैछ। त्यस्तै, ‘सोनाम ल्होसार’ मान्नेहरूले २८५५ ‘च्युवा ल्हो’ (मुसा वर्ष) र तोला ल्होसार मान्नेहरूले २६०३ औँ ‘च्युवा ल्हो’ (मुसा वर्ष) यसअघि नै मनाइसकेका छन्। चिनियाँहरुले भने ४७१७औँ ल्होसारका रूपमा नयाँ वर्ष एक महिनासम्म मनाउने गर्छन्।

ल्होसार परम्परा
सन् १९२२ मा मंगोल बादशाह चँगेज खाँले तिब्बतस्थित सिंहु प्रान्तका राजा मिन्याङबाट राज्यसत्ता खोस्न सफल भएको खुसियालीमा हर्षोल्लासका साथ त्यस दिनदेखि नै ल्होसार मान्न थालेको पाइन्छ। तिब्बतका पाँचौँ दलाई लामाका पालामा बनेको चन्द्रमालाई आधार मानी तिथि गणना गरिने पात्रो ‘कारची’ (ज्योतिषशास्त्र) का अनुसार, फागुन कृष्णपक्ष प्रतिपदा पहिलो महिनाको पहिलो दिनलाई नयाँ वर्ष ‘ग्याल्बु ल्होसार’ सुरुवातका रूपमा मनाइन्छ। इतिहासकारका कथनअनुसार ‘ग्याल्बु ल्होसार’ मान्नुको मुख्य कारण भारतको श्रीवस्तीमा भगवान् गौतम बुद्धले तेर्थिक (राक्षस) हरूलाई परास्त गर्ने बेला फागुनको प्रतिपदादेखि १५ दिनसम्म प्रतिहार्य चमत्कार प्रदर्शन गर्नुभएकाले यस तिथिलाई धार्मिक पर्वका रूपमा मनाउने चलन कायम भएको हो।

तिब्बती चन्द्र पात्रोअनुसार ल्होसार सुरु भएको प्रतिपदादेखि नयाँ वर्षका रूपमा ‘ग्याल्बु ल्होसार’ मान्ने परम्परा पाइन्छ। शेर्पा थुप्तेन लामाका अनुसार तिब्बती शब्दकोशमा पनि ‘ग्याल्बु ल्होसार’लाई मुख्य ल्होसारका रूपमा मानिन्छ। यही समयमा तिब्बत, जापान, मंगोलिया र चीनमा पनि यो ल्होसार मान्ने चलन छ। उहाँका भनाइमा तिब्बती पुस्तकहरूमा ‘ग्याल्बु ल्होसार’ प्रमुख ल्होसार हो भने ‘सोनाम’ र ‘तोला ल्होसार’ ग्याल्बु ल्होसार सुरुवातको सङ्केत पनि हो।

प्रकाशित: १० फाल्गुन २०७६ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App