१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चियर्स ! नयाँ यात्रा सुरु गरौँ

यशोदा अधिकारी

केही वर्षअगाडि मात्रै नेपालीले भोगेको विनाशकारी भूकम्पको झड्काको झझल्को बोकेका कथाहरु, नारी संवेदना र उनीहरुको आवाजलाई उनिएको कथामाला हो– दिलीप शाहको कथासंग्रह ‘चियर्स’। मौन धारण, श्रद्धासुमन, मुर्दार काठमान्डु र बघिनीजस्ता समसामयिकता बोकेका पाँचवटा कथा संग्रहमार्फत साहित्यमा उपस्थिति दर्ज गराइसकेका कथाकार शाहको यस पछिल्लो संग्रहमा हाम्रै समाज र जीवनका कथा संग्रहित छन्।

शीर्षक ‘चियर्स’ झट्ट सुन्दा मदिरासहितको भोजजस्तो लाग्छ, तर पढ्दै जाँदा धेरै विषयका कथा आउँछन्। मूल कथा ‘चियर्स’को कथावस्तु यस्तो छ– गाउँबाट जागिरको सिलसिलामा सहर पसेको म पात्र डेरामा बसेको हुन्छ। सम्पन्न परिवारबाट आएको ऊ केही सोखिन खालको छ। काठमाडौंमा दुई कोठाको व्यवस्थापनका लागि पनि म पात्रले सहयोगी राखेको छ। उमेरले ४० काटेको ऊ अविवाहित हुन्छ। पहिले प्रेम सम्बन्धमा रहेको उसले प्रेममा धोका खाएपछि महिलालाई नकारात्मक दृष्टिले बुझ्न थालेको हुन्छ। त्यसैले उसमा विवाह गर्ने रुचि छैन। बारमा जानु, रक्सी पिउनु, चुरोट तान्नु, रमाइलो गर्नुमै आनन्द मान्ने उसले एक दिन बारमा एउटी महिला भेट्छ, जसले ऊसँग ह्विस्कीको पेगले ‘चियर्स’ गर्छे।

गुलाबी रङको गाउन लगाएकी त्यो युवती भने केटाहरूदेखि टाढै बस्न रुचाउँछे। किनभने, ऊ पनि आफन्तबाटै बलात्कारको सिकार भएकी हुन्छे। त्यसैले उसले केटाहरुलाई नकारात्मक दृष्टिले बुझ्न र हेर्न थालेकी हुन्छे। यी दुईको भेटपछि कथा टुंगिन्छ। उनले यस्तो प्रयोग गरेर समाज, महिला विभेद र ‘प्रिसेट माइन्ड’बाट अगाडि बढ्न प्रेरित गरेका छन्।

अर्को कथा हो– चुरा फुट्नु हुँदैन। यस कथामा नारी मनको कोमलताबारे कथाकारले विशेष धारणा बनाएका छन्। यौन मनोविज्ञानको धरातलमा उभिएर उनले यौनभित्र घर, परिवार, वंश, माया, प्रेम, दुःख–सुख र विवाह अटाउने तर्क गरेका छन्। मुना पात्रको हातको चुरा फुटेको आवाज सुनेर दिक्क भएको पात्र धर्मपालको धारणा जोगी बाबाले चुराको महत्व बताएपछि परिवर्तन हुन्छ। त्यसपछि ऊ चुरा बजेको सुन्ने चाह गर्छ र चुरा नफुटाई प्रेमपूर्वक जीवन बिताउने संकल्प गर्छ। यस कथाले परम्परागत रूपमा नारीको नाडीको चुरा कहिल्यै फुट्नु हुँदैन, चुरा फुटेपछि नारीको जीवनको रङ उडेर जान्छ अर्थात् नारीले विधवा जीवन भोग्नपर्छ भन्ने मान्यतालाई मिथ्या मानेको छ।

विभिन्न २० वटा कथा सङ्ग्रहित ‘चियर्स’मा अटाएका खातेभोग, रमितागन्ध, कालो दूध, सडेको फर्सी, कल्चुरी लगायत कथा हाम्रै समाज वरिपरिकै कथा हुन्। सामाजिक मनोविज्ञान, यौनमनोविज्ञानको प्रयोग कथाहरूमा पाइन्छन्। कथाकार कहिले नारी मनको सूक्ष्म भावनामा पौडिन पुगेका छन् भने कहिले द्वन्द्वकालीन समय कोट्याउन पनि भ्याएका छन्। यी कथाले सुदूरपश्चिम, कर्णाली, केन्द्रीय राजधानीदेखि हिमाल, पहाड र मधेसको जनकपुरसम्मका विषयलाई उठाएको छ।

कथामा बढीजसो घरानियाँ पात्र आउँछन्, अंग्रेजी शब्द प्रयोग गर्छन्, यसले यी कथाले निम्न वा मध्यम वर्गलाई नसमेटेको पनि देखिन्छ। अर्को, कमजोरी भनेको विषयवस्तुलाई थप्दै कथा लम्ब्याउँदै जानुजस्ता पनि छन्। फेरि पनि सटीक रूपमा कथाको बिट मार्न सक्नु कथाकारको बेजोडको सफलता हो। स–साना कथालाई उप कथाझैं बनाएर उन्दै पाठकलाई तानेर अन्त्यसम्म पढ्न बाध्य पार्न सक्ने विशिष्ट कथा शिल्प कथाकारमा पाइन्छ।
कृतिः ‘चियर्स’
विधाः कथा
लेखकः दिलीप शाह
प्रकाशकः भुँडीपुरान प्रकाशन, काठमाडौं
पृष्ठः १८२
मूल्यः रू २९०

प्रकाशित: ५ पुस २०७६ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App