५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्य

मलाई कालाेले सुहाउँछ !

‘यात्रा’ फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मलिका महत अहिले खगेन्द्र लामिछाने निर्देशित ‘पानी  फोटो’मा अभिनय गरिरहेकी छन् । मलिकाले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताइन् ।

पुस्तक
पछिल्लो समय राम्रा नेपाली पुस्तक बजारमा आएका छन् । सबै किनेर पढ्न त भ्याएको छैन । हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पढेकी थिएँ । मलाई राम्रो लागेको थियो । त्यस्तै ‘समर लभ’, ‘कर्नाली ब्लुज’ पनि राम्रो लागेको थियो ।

लेखक
धेरै लेखकहरु हुनुहुन्छ । पुरानामा लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा अनि नयाँमा भन्ने हो भने सुविन भट्टराई । त्यस्तै भारतीय लेखक चेतन भगत पनि मन पर्ने लेखक हुन् ।

गीत
त्रिबल रेनको ‘भनाइ’ बोलको गीत प्रायः म गुन्गुनाइरहेकी हुन्छु । त्यस्तै ‘तिमी आज भोलि किन बोल्दिनौ, माया लाउँदिनौ’ बोलको गीत मन पर्छ । सानै छँदा स्कुलमा हुने कार्यक्रममा यो गीत धेरै मात्रामा बज्थ्यो । धेरै साथीहरुले यही गीत गुन्गुनाउँथे । अहिले पनि यो गीत सुन्दा बाल्यकालमै फर्किएको आभाष गराउँछ । मैले पनि सुनेको यो गीत असाध्यै गुन्गनाउने गर्थें । मुडअनुसार अरु गीतहरु पनि गुनाइरहेकी हुन्छु । मेरा लागि के आधुनिक के पप, सबै गीत उत्तिकै प्रिय छन् ।

भेट्न मन लागेको व्यक्ति
जस्टिन बिबर मलाई मन पर्छ । यस्तो क्युट गायकसँग एकपटक भेटेर गफ गर्न मन लागेको छ । म उनको फ्यान हो । उनको बोलीचाली, गेटअप मन पर्छ । अंग्रेजी गीतहरु मिठासपूर्वक गायक भएकाले पनि मन परेको हो ।

भेटिरहन मन लाग्ने व्यक्ति
मेरो घर परिवार नै हो । परिवारसँग नै बसिरहूँ भन्ने लाग्छ । अरु त्यस्तो कोही छैन ।

कलर
मलाई ब्ल्याक कलर मन पर्छ । मलाई यसले सुहाउँछ पनि । मैले लगाउने धेरै जसो लुगा कपडा ब्ल्याक नै हुन्छ । ममीले पनि तँलाई कालो कपडाले राम्रो देखिन्छ भनेर फुक्र्याउनुहुन्छ । त्यसैले पनि कपडा किन्दा ब्ल्याक नै किन्छु ।

गायक
मलाई जस्टिन बिबर, सुगम पोखरेल मलाई बेस्ट लाग्ने गायकमा पर्नु हुन्छ । उहाँहरुको आवाजले मेरो ध्यान तान्न सक्ने भएकाले मलाई मन परेको हो ।

गायिका
नेपाली गायिकामा त मलाई सबै मन पर्छन् । एकसे एक नयाँ आउनु भएको छ । अन्जु पन्त, मेलिना राईको स्वर दिल छुने खालका हुन्छन् । आस्था राउतका पनि आफ्नै खाले गीत छन् । त्यस कारण मेरा लागि सबै प्रिय नै हुनुहुन्छ ।  

मन परेको फिल्म
मलाई नेपाली भन्दा पनि ‘टाइटानिक’ फिल्म मन परेको हो । यो अंग्रेजी फिल्म नहेर्ने त मेरो पुस्तामा शायदै कोही होला । यो फिल्म जति हेरे पनि हेरिरहन मन लाग्छ । यसको स्टोरी पनि राम्रो छ । हेर्दा कतै बोर लाग्दैन । मन परेकै कारण यो फिल्म कति पटक दोहा¥याएर हेरिसके, गन्न सक्तिनँ । अझै पनि मिल्नेबित्तिकै  हेर्न मन लाग्छ ।

सपिङ स्टोर
मेरो फेभरेट सपिङ स्टोर कुनै छैन । जहाँ राम्रो लाग्छ, त्यहीँ किन्छु । सपिङका लागि दरबारमार्ग पनि पुगेकै हुन्छु, असन पनि गएकै हुन्छु । यहीँ र एउटै ठाउँमा किनमेल गर्ने भनेर चुज गर्ने गरेकी छैन ।  

सवारी साधन
मलाई त साइकल मन पर्छ । साइकलमा सररर कुदाएर हिँड्न रमाइलो लाग्छ । काठमाडौँमा साइकल कुदाउने ठाउँ पनि छैन । छिटो र समयमा पुग्नका लागि मोटरसाइकल नै ठीक छ यहाँ चैँ ।

पोशाक
म ड्रेसमा चुजी छु । मलाई क्याजुअल ड्रेस मन पर्छन् किनभने कार्यक्रमहरु भइरहेका हुन्छन् । कार्यक्रममा सरिक हुँदा त्यसै अनुसारको ड्रेस लगाउनै पर्‍यो । समय सन्दर्भ हेरेर क्याजुअल ड्रेसहरु लगाउन मन पराउँछु ।

चाडपर्व
मलाई दसैं भन्दा पनि तिहार मन पर्छ । तिहारको बेला पटेका पट्काउन, चङ्गा उडाउन रमाइलो लाग्छ । घरघरमा लक्ष्मी पूजा, रङ्गोली बनाएको अनि अरुले देउसी भैलो खेलेको देख्दा मन नै फुरुङ्ग हुन्छ । म आफूले देउसीभैलो खेलेकी छैन । राति हिँड्नुपर्ने भएकाले बुबा–ममीले त्यति रुचाउनु हुन्न । त्यसकारण पनि त्यो बेला हिँडिएन । सबैतिर झिलिमिली भएका कारण सबैको घर, चोक, बाटो उज्यालो हुन्छ । हेर्नका लागि पनि कलरफुल चाड भएकाले मलाई तिहार मन परेको हो ।

कपाल
कपाल धेरै थरिको बनाइरहेको देख्छु । ती कपालहरुमा मलाई कर्ली, सिल्की, बेबी कलर मन पर्छ । यो कपाललाई जुनै ड्रेसमा पनि राम्रो लाग्छ । यसो हेर्दा पनि आकर्षक देखिन्छ ।

शहर
आफू काठमाडौँमा जन्मेको भएर होला काठमाडौँ नै मलाई मन पर्छ ।  काठमाडौँ आफैँमा सुन्दर छ । तर धुँवाधुलो भनेको त आफ्नो ठाउँमा छ । त्यसपछि मलाई नेपालकै सुन्दर नगरी  पोखरा पनि मन पर्छ । मलाई त्यहाँको वातावरण मन पर्छ । जता गए पनि रमाइलो गर्ने ठाउँ छ ।

नेता
राजनीतिमा प्रायः त्यस्तो मन पर्ने व्यक्ति कोही छैनन् । सबै ठीकै लाग्छन् ।  

खाना
मलाई नेपाली खाना नै मन पर्छ । ममीले पकाएको दालभात तरकारी नै मलाई बेस्ट लाग्ने खाना हो ।  

अभिनेता
प्रभास मन पर्छ । प्रभासको लुक्स, बोल्ने शैली, अभिनय सबै राम्रो लाग्छ । उनको कामले नै मलाई आकर्षित गरेको हो ।

अभिनेत्री
मलाई त धेरै अभिनेत्रीहरु मन पर्नुहुन्छ । बलिउडकी ऐश्वर्या राय मन पर्छ । मैले  बच्चै बेलादेखि ऐश्वर्याको फिल्म हेरेर होला, उनका हरेक फिल्म मन पर्छन् ।

निर्देशक
भारतीय निर्देशक सञ्जय लीला भन्सालीका सबै फिल्म मन पर्छन् । ‘देवदास’ फिल्म जति हेरे पनि बोर लाग्दैन ।

चस्मा
मैले चस्मा लगाउँदा क्याजुअल नै लगाएकी हुन्छु । धुलोधुँवाबाट बच्नका लागि चस्मा लगाउँछु तर विशेष सोख भने छैन ।

घडि
मलाई सानो चटक्क परेको घडी लगाउन मन लाग्छ । यही ब्राण्डको लगाउने भन्ने छैन ।

मोबाइल
एप्पलको नै हो । आइफोन चलाउँदै आएका कारण आइफोनबाहेक अरुमा आँखा नै लाग्दैन । अहिले मैले बोक्ने मोबाइल यही हो ।

                             

 

प्रकाशित: १४ कार्तिक २०७६ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App