९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

दसैंको मौलिकता ओझेलमा

दसैं नेपालीको मौलिक पर्व हो । दसैंको मौलिक धार्मिक तथा आध्यात्मिक पक्ष बिस्तारै ओझेलमा पर्दै जान थालेको प्रति संस्कृतिविद् चिन्तित देखिएका छन् । दसैंको सामाजिक तथा सांस्कृतिक महत्व छँदै छ ।  दसैं धार्मिक तथा आध्यात्मिक पर्व भएकाले उत्सवसँगै यसको धार्मिक तथा आध्यात्मिक पक्षलाई पनि सँगै लैजानुपर्ने उनीहरुको सुझाव छ ।

संस्कृतिविद् डा. गोविन्द टण्डन दसैंको धार्मिक तथा आध्यात्मिक महत्व रहेकाले यी पक्षलाई छोड्दा दसैं फुँङ्ग हुने बताउँछन् । ‘दसैं असत्यमाथि शक्तिको विजयको साधना हो’,डा. टण्डनले भने,‘आध्यात्मिकता बिस्तारै हराउँदैछ ।’
त्यसो त संस्कृतिविद् ओम धौभडेल पनि बिस्तारै दसैंको धार्मिक पक्ष ओझेलमा पर्दै गएकोमा चिन्तित छन् ।

‘मौलिक दसैंको धार्मिक पक्षलाई छोड्दै सामाजिक सांस्कृतिक पर्वका रुपमा मोडिँदैछ’,धौभडेलले भने, ‘मितव्ययी हुनुपर्ने पर्वमा यसको धार्मिक तथा सांस्कृतिक पक्षलाई सँगै लैजानुपर्छ ।’ दसैंको उत्सवसँगै होहल्लाको पर्व हुनुहुन्न । यस पर्वमा आफ्नै देशमा उत्पादित सामग्रीको उपभोग गर्नुपर्नेमा उनको जोड छ । दसैंमा विभिन्न वस्तु विदेशबाट आयात हुँदा धनराशि बाहिरिनेतर्फ उनी चिन्ता व्यक्त गर्छन् ।

अग्रजप्रति आदरसम्मान गर्दै टीका ग्रहण गर्नुका साथै आशीर्वाद लिने दसैं नेपालीको मौलिक पर्व हो । यस पर्वमा मान्यजनबाट टीका, जमरा ग्रहण गरिन्छ । अग्रजप्रति आदर सम्मान गरिन्छ । यस पर्वमा टाढाटाढाबाट लामो समयसम्म भेटघाट नगरेका आफन्त, स्टमित्रसमेत भेटघाट गर्ने पर्व हो ।

त्यसैगरी पारिवारिक तथा सामाजिक सद्भाव कायम गर्ने यस्तो पर्वको धार्मिक तथा आध्यात्मिक पक्षलाई छुटाउन नहुने वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनालको तर्क छ । धार्मिक तथा आध्यात्मिक पक्षलाई भुलेर भद्दा रुपमा काटमार तथा माछामासु, मदिरा खाने–पिउने पर्वका रुपमा मात्रै दसैंलाई विकास गर्न नहुने डा. टण्डनको सुझाव छ । ‘दसैं काटमार गर्ने र माछामासु खाने पर्वका रुपमा मात्रै चिनिनु हुन्न,’ डा. टण्डनले भने, ‘यो समग्र नेपालीको पर्व हो ।

सद्भाव कायम गर्ने पर्व हो ।’ दसैंको आत्ध्यात्मिकतालाई छोड्दा हिंसाको पर्व हुन पुग्ने भएकाले सामाजिक तथा सांस्कृतिक सँगै आध्यात्मिक र धार्मिक पक्षलाई लैजानुपर्ने संस्कृतिविद्को सुझाव छ । दसैंलाई माछामासु तथा मदिराको पर्वकारुपमा विकसित गर्न नहुने उनीहरुको तर्क छ । वेदमा काटमार गर्न नहुने उल्लेख भएको उनी बताउँछन् । डा. खनालले भने स्त्री जातिलाई भने बध गर्न नमिल्ने धर्म शास्त्रीय दृष्टिकोण रहेको बताए ।

पशुको बध नभई साधना गरी व्यक्तिले आफूभित्रको पशुताको बलि दिनुपर्ने टण्डनको तर्क छ । साधना गरी  पशुताको बलि दिँदा मन शान्त हुन्छ । दसैंका कतिपय विकृति हटाएर दसैंलाई स्वस्थ पर्व बनाउनुपर्नेमा संस्कृतिविद्को जोड छ । काटमारलाई प्रोत्साहन गर्न नहुने संस्कृतिविद्को मत छ ।

विशेषगरी सहरी क्षेत्रमा खाली ठाउँको अभावमा चङ्गा उडाउने, पिङ खेलेर मनोरञ्जन लिनेजस्ता मौलिकता हराउँदै गएका छन् । जसले सहरी क्षेत्र खानपानको पर्व बन्दै गएको छ । दसैं व्यापारिक क्षेत्र हावि हुँदै गएको देखिन्छ । गाउँमै पनि लिंगे पिङ बिस्तारै लोप हुँदै गएका छन् ।  

विजयको पर्व
यो विजयको उपलक्ष्यमा मनाइने पर्व हो । दसैंमा मान्यजनबाट टीका तथा आशीर्वाद थापिन्छ ।
रातो रङ विजयको प्रतीक हो भने सेतो शान्तिको प्रतीक । नेपालका केही जनजाति समुदायले रातो टीका लगाउने चलन छ । ‘मतवाली भनेको असुरका सन्तान हो,’ धौभडेलले भने, ‘जनजातिले आफ्ना पूर्खालाई आर्यहरुले हराएका हुन् भन्ने मान्यताका कारण सेतो टीका लगाउने चलन छ ।’ विरोध स्वरुप सेतो टीका लगाउने चलन छ । शान्तिको प्रतीकका रुपमा सेतो टीका लगाउने परम्परा रहेकोे डा. टण्डन बताउँछन् । नेवारी समुदायमा समेत सेतो टीका लगाउने चलन छ ।

धौभडेलका अनुसार नेवारी समुदायमा दसैंमा सिन्काले कालो टिकासमेत लगाउने चलन छ । कालो टीका लगाउनुको पौराणिक कथा छ, ‘राक्षसले दुःख दिइरहेका थिए । राक्षसलाई बध गर्न कठिन थियो । देवीले परास्त गर्न कालो टीका लगाइन् । कालो टीका लगाएकी देवी राक्षसका अगाडि उभिइन् ।

सुन्दरी देवीलाई देखेर राक्षस मन्त्रमुग्ध भए । मोहित भए । देवीको सुन्दरताले मोहित भएका राक्षसलाई देवीले त्रिशुलले हानेर बध गरिन् ।’ राक्षसलाई देवीले मोहित गराएर बध गरेको हुनाले नेवारी समुदायमा दसैंलाई ‘मोहनी’ पनि भन्ने गरिएको धौभडेलले बताए । दसैंको टीका, जमरा लगाउँदा व्यक्ति सुन्दर देखिनुका साथै मन्त्रमुग्ध हुन्छ । त्यसैले दसैंलाई नेपालीले उत्सवका रुपमा मनाइएको डा. टण्डन बताउँछन् ।

गोरखाबाट खाली खुट्टा काठमाडौंमा फुलपाती
काठमाडौंको हनुमान ढोकामा फुलपाती भित्र्याउने परम्परा पनि रोचक छ । षष्टीकै दिन गोरखाबाट फुलपाती लिएर हिँडिन्छ । एकै दिनमा फुलपाती वसन्तपुर भित्र्याउनुपर्ने भए पनि सप्तमीकै दिन गोरखाबाट हिँड्दा एक दिनमा वसन्तपुर पुग्न मुस्किल पर्ने भएकाले षष्टीकै दिन हिँडिन्छ ।

धौभडेलका अनुसार बेलपत्र तथा फुलपाती सिंगारेर एउटै खटमा चारजनाले बोक्ने परम्परा छ । कम्तीमा पाँच प्रकारका फूल आवश्यक हुन्छ । खट बोक्ने व्यक्तिले परम्परागत सेतो पोशाक लगाएका हुन्छन् । फुलपाती बोक्ने व्यक्ति शुद्ध हुनुपर्छ । कसैले पकाएको तथा जुठो खानु हुन्न । चारजना व्यक्तिले गोरखाबाट नुवाकोटको छोटो बाटो हुँदै काठमाडौं प्रवेश गर्छन् । सप्तमीको दिन गोरखाबाट ल्याएको फुलपाती शुभ साइतमा वसन्तपुरको तलेजु मन्दिरमा भित्र्याइन्छ ।

गोरखाबाट एकै दिनमा फुलपाती ल्याउनु पर्छ । रातभरिमा ल्याइन्छ ।
यसरी फुलपाती लिएर काठमाडौं जुन समयमा पुगेको भए पनि वसन्तपुर भने फुलपाती भित्र्याउने शुभ साइतैमा पुग्नु पर्छ । काठमाडौंमा चाँडै आइपुगेको खण्डमा वसन्तपुर नजिकै आएर बसिन्छ ।

काठमाडौंमा दसैं
घटस्थापनादेखि भक्तपुरको तलेजु भवानीमा दर्शन गर्ने परम्परा छ । अजिमालाई दर्शन गरिन्छ ।
संस्कृतिविद् धौभडेलका अनुसार भक्तपुरमा घटस्थापनाको दिन– ब्रह्मयानी, द्वितीयाको दिन–महेश्वरी, तृतीयामा–कौमारी, चतुर्थीको दिन–भद्रकाली, पञ्चमीको दिन–बाहारी, षष्टीको दिन–इन्द्रायणी, सप्तमीको दिन–महाकाली, अष्टमीका दिन–महालक्ष्मी, नवमीमा–त्रिपुरा सुन्दरीको पूजा गरिन्छ ।

दशमीमा पुनः ब्रह्मयानीको पूजा गरिन्छ । संस्कृतिविद्का अनुसार दशमीको रातमा काठमाडौं, भक्तपुर र ललितपुरमा खड्गको पूजा गरी नगर परिक्रमा गरिन्छ । जसलाई ‘पायो जात्रा’ भनिन्छ । हतियारले काट्न सक्छ भनेर पायो भनिएको धौभडेलले बताए ।

काठमाडौंको वसन्तपुरस्थित तलेजु मन्दिरको दर्शन गर्ने चलन छ । भक्तपुरको तलेजु भवानीमा सप्तमीकै दिन पूजा गरिन्छ । त्यो पूजालाई ‘द्यो क्वाहाँ विज्या केगु’ भनिन्छ । यसको अर्थ तल देवता तल सवारी हो । जहाँ जमरा राखिएको हुन्छ । अन्य शक्ति पीठमा पनि देवीको शक्तिको आराधना गर्नुका साथै पूजा गरिन्छ ।

विशेषगरी नेवारी समुदायमा अष्टमीका दिन परिवार तथा कुलका दाजुभाई सँगै बसेर मिठो मसिनो खानपान गर्ने चलन छ । जसलाई ‘कुछिभोय’ भनिन्छ । यसको अर्थ दुई माना खाने भन्ने हुन्छ । क्रमैसँग उपस्थितमध्ये जेठोदेखि क्रम मिलाएर बसेर परिकार खानपान गरिन्छ ।
अब कुरा गरौँ, फुलपाती भित्र्याउने ।

धार्मिक व्याख्यामा दसैं

संस्कृतिविद् दसैंका बारेमा देवी भागवतमा उल्लेख भएको बताउँछन् । दसैं पौराणिक कालबाटै सुरु भएको मानिन्छ । दसैंको सुरुवातका विभिन्न पौराणिक कथा पाइन्छ । कसैले रामको पालामा त्रेता युगबाट सुरु भएको पनि मानिन्छ ।
वाल्मीकि विद्यापीठकी सह–प्राध्यापक (पुराणाचार्य) प्रियंवदा काफ्लेका अनुसार दसैंको नवरात्रको व्रतको विधानका बारेमा देवी भागवतमा उल्लेख छ । शरद र वसन्त कालमा दसैं मनाउने उल्लेख छ । मौसम परिवर्तन हुने समयमा यमदस्टको दाराले मानिस बिरामी हुने भएकाले रोग व्याधि नलागोस् भन्ने हेतुले पनि सुरुवात भएको देखिन्छ । दसैंमा पूजा गर्दा देवीलाई प्रसाद चढाउने चलन भएकाले प्रसाद ग्रहणसँगै खानपानको चलन सुरु भएको हो । यसलाई विकृतरुपमा व्याख्या गर्नु हुन्न ।

दसैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ । यो दिन घटस्थापना गरी देवीको पूजाको शुभारम्भ गरिन्छ । बिहानै खोलाबाट बालुवा घरमा ल्याएर कलश तथा जमरा राख्ने परम्परा छ । घट भनेको कलश हो । कलशको स्थापना गरिने भएकाले यो दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनामा दीप, कलश, गणेश स्थापना गर्ने चलन छ । घटस्थापनामा चढाइएको धान, जौ उम्रिएकाले त्यही उम्रिएकोलाई जमरा भन्न थालियो । अहिले छुट्टैसमेत जमरा राखिन्छ ।

दसैंमा पौराणिक पाठ गर्नुका साथै नवरात्रसम्म पूजा गर्ने चलन रहेको काफ्ले बताउँछिन् ।
फूलपातीको दिन घरघरमा फूलपात भित्र्याइन्छ । उखु, बेलपत्रजस्ता फुलपाती भित्र्याइन्छ । फुलपातीको दिनसमेत बढाइँ गर्ने धार्मिक महत्व छ । फुलपातीलाई सप्तमी भनिन्छ । अष्टमी र नवमीमा शक्तिकी प्रतीक देवीलाई बलि दिने परम्परा छ ।  महाकालीको पूजा गरिन्छ । अष्टमीको दिनलाई कालरात्री पनि भनिन्छ । यो दिन शक्तिकी देवी उत्पन्न हुने धार्मिक विश्वास रहेको डा. खनाल बताउँछन् । शक्तिशाली महालक्ष्मीले मैखासुर राक्षसलाई बध गर्छिन् । यो दिन मात्रै हैन दसैंभरि नै शक्तिकी देवी हुन्छिन् । राँगो, बोकाजस्ता प्राणी काट्ने परम्परा छ । यी प्राणीलाई राक्षसका रुपमा लिइन्छ । धौभडेलले भने, ‘कुभिण्डो, फर्सीमा समेत राक्षस बस्ने मान्यताका कारण कुभिण्डो, फर्सी काट्ने परम्परा छ ।’

काफ्लेका अनुसार धार्मिक दृष्टिमा नवमीको बलि राम्रो मानिन्छ । बलि दिँदा मांसभक्षीले पशु बलि दिइन्छ भने साकाहारीले नरिवल लगायतको बलि दिने चलन छ । व्यक्तिले गर्ने भोजन देवीलाई चढाइने धार्मिक मान्यता छ । मासु खानेले पशु बलि दिन्छन् । ‘देवीलाई चढाउने बलि हिंसा हैन भन्ने देवी भागवतमा उल्लेख छ,’ सह–प्राध्यापक काफ्लेले भनिन्, ‘बलि चढाइएका पशु स्वर्गमा पुग्छन् भनिएको छ ।’ यस पर्वमा महिलालाई शक्तिका रुपमा पूजा गरिन्छ ।

दशमीका दिन नवदुर्गाको विसर्जन गरिन्छ । देवी विसर्जन पछि गरिएको पूजाको टीका प्रसादका रुपमा लगाउने चलन सुरु भएबाटै दशमीका दिन टीका लगाउने परम्पराको सुरुवात भएको डा. खनाल बताउँछन् । दशमीका दिन टीका लगाइन्छ । बीजमा उत्पादन शक्ति हेर्नका लागि पनि परीक्षणको रुपमा जमरा उमारेर उत्सवको रुपमा जमरा लगाउने परम्परा सुरु भएको डा. खनालको आँकलन छ ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन पूर्णिमासम्म दसैं मनाइन्छ । यो दसैं पक्ष हो । मान्यजनसँग टीका ग्रहण गर्ने परम्परा पनि  हिन्दू परम्पराबाटै सुरु भएको हो । सेतो टीका शान्तिको प्रतीक भएकाले  सेतो टीका लगाउन थालियो धार्मिक दृष्टिकोणमा सुरुवाती समयदेखि नै दसैंमा सेतो टीका लगाइन्थ्यो । पछि मात्रै रातो टीकाको चलन आयो । कोजाग्रत पूर्णिमाको दिन घटस्थापनामा राखेको जमरा र कलश तथा फुलपाती खोलामा लगेर विसर्जन गरिन्छ । त्यसपछि दसैं समाप्त हुन्छ ।

सत्यको विजय
डा.वासुदेव खनाल
सह–प्राध्यापक
धर्मशास्त्र विभाग, वाल्मीकि विद्यापीठ


वर्षभरिमा चैत, असार असोज, पुस गरी चारवटा नवरात्र पर्छन् । जसमध्ये एक दसैंको नवरात्र हो । यसलाई दुर्गाको उत्सव हुने भएकाले दुर्गोत्सव पनि भनिन्छ । मार्कण्डेय पुराण र देवी भागवतमा दसैंको विशेष वर्णन गरिएको छ । देवीको उत्पत्ति तथा पूजा प्रक्रियाको बारेमा उल्लेख गरिएको छ ।

दानवहरुबाट आजित देवताहरु अत्यन्तै चिन्तित थिए । सबै देवताको शक्तिबाट देवीको उत्पत्ति गरे । अठार हात भएकी, सिंहमाथि चढेकी देवी उत्पन्न भइन् । देवीले दानवलाई परास्त गरिन् । त्यही उत्सवको रुपमा दसैं मनाइएको परम्परा छ । विभिन्न पुराणमा देवीको बारेमा चर्चा गरेको पाइन्छ ।

सत्य तथा शक्तिको प्रतीक दुर्गा माताले दुष्टको प्रतीक दानवराज मैषासुरको बध गरेको प्रसंग छ । कतिपयले भगवान् रामले शक्तिकी प्रतीक दुर्गाको पूजा तथा आराधना प्राप्त गरी शक्तिले रावणमाथि विजय प्राप्त गरेको घटनासँग दसैंलाई जोडेर हेरिएको पाइन्छ ।

त्रेता युगमा आश्विन शुक्ल प्रतिपदादेखि भगवान् रामचन्द्रले देवीको उपासना गर्नु भयो । देवी प्रसन्न भएर रावणलाई मार्ने शक्ति प्राप्त भयो । दशमीको दिन रावणलाई रामले बध गरेको प्रसंग पुराणमा छ । रावणलाई बध गरेको रगतमा मुछेर उत्सवको रुपमा दसैंको टीका लगाउने परम्परा भएको देखिन्छ । प्राचीन कालमा शत्रुलाई परास्त गरेर उत्सवका रुपमा टीका लगाइएको पाइन्छ ।

नेपालको गुल्मी, अर्घाखाँचीलगायतका पश्चिम क्षेत्रका देवी मन्दिरमा तरबार, खुँडा लिएर सराय नाच नाचिन्छ । दशमीका दिन रामले विजय प्राप्त गरेको उत्सवको रुपमा दशहरा मनाइन्छ । दसैंमै शस्त्रअश्त्रको पनि पूजा गरिन्छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले दसैंलाई जसरी व्याख्या गरिएको भए पनि यो असत्यमाथि सत्यको विजय उत्सव हो।

 

प्रकाशित: १५ आश्विन २०७६ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App