१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पाँचौँ आर्यसत्य

बौद्ध दर्शनमा ‘पाँच आर्यसत्य’ वा पाँचौं आर्यसत्य भन्ने शब्दावली छैन। चार आर्यसत्यको कुरा त बौद्ध धर्मको आधारभूत कुरा भइहाल्यो। दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्ने मार्ग छन् भन्ने चार कुरा नै बौद्ध दर्शनमा ‘चतुर्आर्यसत्य’का रूपमा प्रख्यात छ। बुद्धत्व प्राप्तिपछि सारनाथमा पाँच ब्राह्मण समक्ष बुद्धले गरेको प्रथम धर्मचक्रप्रवर्तनमा बुद्धले चतुर्आर्यसत्यको कुरा प्रस्ट्याएका थिए। त्यस उप्रान्त पनि चतुर्आर्यसत्यको प्रसङ्ग बेलाबेला आइरहेको पाइन्छ। चतुर्आर्यसत्य नबुझ्नु बौद्ध धर्मदर्शनको केही कुरा नजान्नु हो।

धर्मको गहन र गम्भीर अध्ययनका क्रममा ‘प्रतीत्यसमुत्पाद’ दर्शनको कुरा तड्कारो आउँछ। स्वयं बुद्धले ‘जसले ‘प्र्रतीत्यसमुत्पाद’ बुझ्छ, उसले धर्म बुझ्छ, जसले धर्म बुझ्छ उसले ‘प्र्रतीत्यसमुत्पाद’ बुझ्छ’ (मज्झिमनिकाय) भनेको पाइन्छ। बौद्ध दर्शनभित्रै विकसित अनेक बाद वा दर्शनको चुरो कहीँ न कहीँ प्रतीत्यसमुत्पाद दर्शनसँगै जोडिएको पाइन्छ। ऋद्धिवान भिक्षु मौद्गल्यायन सबै लोकको भ्रमण सकाएर फर्केपछि आफूले बुझेको कुरा रेखाचित्रको माध्यमबाट व्यक्त गर्न बुद्धबाट आज्ञा भएपछि उनले विहारको भित्तामा द्वादशांगले युक्त ‘प्रतीत्यसमुत्पाद’ लाई कोरेका थिए। यही भएर यसको महत्व दर्शाउने क्रममा यसलाई पाँचौं आर्यसत्य भनी प्रत्याख्यान गरेको पाइन्छ, तर व्यवहारमा प्रतीत्यसमुत्पाद दर्शन मात्रै भन्ने गरिन्छ। यसलाई ‘कार्यकारणको नियम’ वा ‘भवचक्र’ पनि भनिन्छ।

द्वादशाङ्गले युक्त प्रतीत्यसमुत्पाद दर्शनलाई क्रमशः अध्ययन गर्दा यस प्रकार आउँछ–
अविद्या : क्लेश उत्पन्न गर्ने जति पनि कुरा छन्, ती अविद्याका कारण हुन्। के गर्दा के हुन्छ वा हुँदैन, के गर्न हुन्छ वा हुँदैन भन्ने ज्ञान नहुनु अविद्या हो। बौद्ध धर्मले त सोझै चार आर्यसत्य नबुझ्नुलाई नै अविद्याका रूपमा व्याख्या गरेको पाइन्छ। त्रिलक्षण अर्थात्, अनित्य, दुःख, अनात्माको कुरा नबुझेर नित्य, अजरअम्बर वा शाश्वत भनेर बस्नु, बारम्बार जन्म लिइरहनुपर्ने दुःखलाई नै सुख ठान्नु तथा हुँदै नभएको आत्माको अस्त्वित्वलाई विश्वास गरेर त्यसको सत्ताबाट शासित हुनु अविद्या हो।

संस्कार : प्रत्येक प्राणीसँग बेग्लाबेग्लै संस्कार रहेको हुन्छ। चेतना संस्कारअनुसार नै हुने गर्दछ। र, अविद्याको कारण संस्कार उत्पन्न हुने गर्दछ।

विज्ञान : आमाको गर्भमा जब प्रवेश गरिन्छ, विज्ञान सुरु हुन्छ। यसलाई चेतना हो। योविना जीवको अस्तित्व छैन। भौतिक कुरालाई जीव बनाउने नै विज्ञानले हो, अर्थात् भौतिक पदार्थको सिर्जनामा विज्ञानको हात हुन्छ। संस्कारका कारण र विज्ञानका कारण नामरूपको उत्पन्न हुन्छ।

बुद्ध स्वयंले भनेको पाइन्छ, ‘जसले ‘प्र्रतीत्यसमुत्पाद’ बुझ्छ, उसले धर्म बुझ्छ, जसले धर्म बुझ्छ उसले ‘प्र्रतीत्यसमुत्पाद’ बुझ्छ।’

नाम रूप : चार हप्ताको भू्रणमा नाम रूपको सिर्जना हुन्छ। यो गर्भमै रहेको अवस्थामा चार मानसिक तथा शारीरिक अवस्थाको विकास हो। व्यावहारिक रूपमा भन्नुपर्दा सबै प्रकारका भौतिक पदार्थ रूपभित्र पर्छन् भने मानसिक क्रियाहरू मनभित्र पर्छन्। जीवमा भौतिक र मानसिक दुवै हुने हुनाले नाम रूपको संयोग नै जीव भनेर बुझ्नुपर्छ। र, यी दुईको संयोगबाट षडायतन अर्थात् इन्द्रियको उत्पन्न हुने गर्दछ।

षडायतन : छ वटा आयतन भन्नु छ प्रकारका इन्द्रिय हुन्। यसमा ५ वटा बाहिरी इन्द्रिय नाक, कान, आँखा, जिब्रो र छाला हो भने अर्को भित्री इन्द्रिय मन हो। बाहिरी इन्द्रियको संयोजन भित्री इन्द्रिय मनले गर्दछ। इन्द्रियको अभावमा कुनै पनि जानकारी प्राप्त हुँदैन वा गलत जानकारी प्राप्त हुने हुन्छ। यस प्रकार षडायतनका कारण स्पर्शको अनुभूति हुन्छ।

स्पर्श : कुनै वस्तु वा कुरासँग इन्द्रियको सम्पर्कबाट स्पर्श हुन्छ। जसरी इन्द्रिय छ प्रकारको हुन्छ, स्पर्श पनि छ प्रकारकै हुन्छ। विनास्पर्श वेदना हुँदैन।

वेदना : स्पर्शले धेरै प्रकारका वेदनाको जानकारी दिने हुन्छ र वेदनाले अन्तर्जगतको ज्ञान दिने हुन्छ। यो बिस्तारै विकास हुँदै गर्छ। सुख, दुःख र न सुख न दुःख गरी तीन प्रकारका वेदना हुने गर्दछ। यसको अभावमा कुनै कुरामा तास्सिने वा मुक्त हुने इच्छाको जन्म हुँदैन। र, वेदनाकै कारण तृष्णाको उत्पत्ति हुन्छ।

तृष्णा : वेदनाबाट जुन अनुभूति हुन्छ, त्यसमा मन परेको कुरामा मन टाँसिरहेको हुन्छ र पाउने वा पुनः पाउने लालसा नै तृष्णा हो। तृष्णाले उपादान बढाउँछ।

उपादान : आफूले चाहेको कुरा पाउन लालायित भइरहेको वा अनुरागी हुने प्रवृत्ति नै उपादान हो। यसैको शृंखलाले संसार चलिरहेको हुन्छ, अर्थात् यसैका कारण भव हुन्छ।

भव : आशक्तिको वशमा परेर मानिस राम्रा–नराम्रा काम–कुरा गरिरहेका हुन्छन् र कुशल–अकुशल कर्मका कारण विपाक भोग्नुपर्ने हुन्छ। यसैको आधारमा पुनर्जन्म तय हुन्छ। 

जाति : जन्मनु वा शरीर धारण गर्नु नै दुःख हो। जातिको कारण भव हो भने जरामरणको कारण जाति हो।  

जरामरण : बौद्ध दर्शनअनुसार जन्मनु, बुढाबूढी हुनु, मर्नु दुःख हो। चाहेको कुरा नपाउनु तथा नचाहेको कुरा पाउनु पनि दुःख नै हो। यी कुरा थाहा नपाउनु भनेको अविद्या हो अर्थात् अविद्याको कारण जरामरण हो। यही अविद्याले गर्दा पुनः संस्कार उत्पन्न हुन्छ र संसारचक्र चल्दै गर्छ। यसैलाई भवचक्र भनिएको हो।

द्वादशांगले युक्त प्रतीत्यसमुत्पाद दर्शनमा बौद्ध दर्शनका सबै सम्प्रदाय एकमत छन्, तर बाह्र वटा अंगको व्याख्यामा भने केही फरक पाइन्छन्। प्रतीत्यसमुत्पाद दर्शनलाई ध्यान दिएर हेर्ने हो भने एकको कारणले अर्को कारण उत्पन्न भइरहेको हुन्छ । यही भएर यसलाई कार्यकारणको सिद्धान्त पनि भनिन्छ। यो कुरा भएबाट यो कुरा हुन्छ, अर्थात् जगत्का सबै वस्तु अथवा घटना यही कार्यकारणको नियम लागू भइरहेको हुन्छ (अस्मिन् सति इदं भवति)। यही एउटा खोजले गौतम बुद्धको दर्शनलाई अन्य दर्शनबाट पृथक् बनाइदिएको छ। अर्थात् जगत्को यो नियमलाई कसैले तोड्न सक्दैन, स्वयं बुद्धहरू पनि यही नियमको वशवर्ती रहेका हुन्छन्।

भवचक्र चल्दै रहने हो भने स्वाभाविक रूपमा दुःखले पनि निरन्तरता पाउँदै गर्छ। गौतम बुद्धले यो नियमको खोजी मात्रै गरेनन्, प्राणीले यसबाट छुटकारा कसरी पाउने भन्ने उपाय पनि पहिल्याएका छन्। एउटा कारणले अर्को कारणको उत्पत्ति गर्छ भने कुन कारणलाई तोड्न सके अर्को कारण पनि तोडिन्छ भन्ने प्रश्न पनि आउँछ। अरु कारणमा प्राणीले केही गर्न नसके पनि तृष्णालाई घटाउने वा सुकाउन सक्छन्। जब तृष्णा नै सुक्छ, तब रागरूपी उपादान स्वतः सुक्छ र भवको सिर्जना हुन्छ। यस अवस्थामा जन्म पनि हुँदैन। अर्थात्, पुनः जन्म लिनुपर्दैन। बुद्धको सबै शिक्षा यसैमा निहित रहेको छ। 

प्रतीत्यसमुत्पादलाई ध्यान दिएर हेरेको खण्डमा यहाँ आत्मा, परमात्मा वा ईश्वरको अस्तित्व नै भेटिन्न। त्यस्तो कुनै परम सत्ताले नभएर आफ्नै चित्तले गर्दा प्राणीले बारम्बार जन्म लिनुपरिरहेको कुरा स्पष्ट हुन आउँछ। यो संसार कुनै शक्तिद्वारा सञ्चालित वा उसको इच्छामा निर्भर नभएको पनि स्पष्ट हुन आउँछ। यस अवस्थामा आत्मा, परमात्मा, ईश्वर तथा भाग्यजस्ता कुराको स्वतः खण्डन हुन जान्छ। साथै, अविद्याले नै यी सत्ताको कल्पना गर्न पुगेको तथा त्यसैको विश्वासमा अनेकौं अकर्मण्य क्रियाकलाप हुन पुग्दा प्राणीले फेरि जन्म लिनुुपर्ने दुःखको चक्रमा पिल्सिरहनुपरेको पनि स्पष्ट हुन्छ। यस प्रकारण बुद्धको प्रमुख देन प्रतीत्यसमुत्पाद दर्शनको व्याख्या गर्नु र तृष्णाको जरालाई नै सुकाइदिएपछि अन्य कारणहरू पनि स्वतः समाप्त हुन्छ भन्ने कुरा बुझाउन सक्नु हो। र, यही दर्शनले बुद्ध तथा बौद्ध दर्शनलाई अन्यभन्दा पृथक् बनाइदिएको छ।

प्रकाशित: २८ भाद्र २०७६ ०२:२९ शनिबार

बाैद्ध_दर्शन आर्यसत्य