८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

इन्द्रजात्राका सात स्वर

साँझ पर्नै लाग्दा मानिसको भीडभाड बढ्दै जान्छ। पुराना इँटा र काष्ठकलाले सजिएको डबली खचाखच हुन्छ। साइट–साइटमा टागिँएका लाइटले मधुरो उज्यालो फ्याकिरहेको छ। सहजै त्यहाँ उपस्थित मानिसको अनुहार छुट्याउन मुस्किलै पर्छ। हनुमानढोकास्थित ननिको डबलीमा देवी, देवता र दानवको भेषमा कोही देखा पर्छन्। मानव कंकालरूपी मुखुन्डो भिरेको त्यो दृश्यले भीडको ध्यान खिँचिदिन्छ। अनि सुरु हुन्छ– दीप्याखं अर्थात् देवीनाच।

यो नाच इन्द्रजात्राको बेला देखाइन्छ। इन्द्रजात्रा नजिकिँदै गर्दा सात संयोजनले बनेको देवी नाच देखाउन सुरु भइसकेको छ। हरेक साँझ यो नाच डबलीमा मञ्चन गरिन्छ। देवी नाच देखाएपछि मात्रै इन्द्रजात्राको तयारी र साइत गरिन्छ। तीजको भोलिपल्ट (भाद्र शुक्ल चतुर्थी)देखि हनुमानढोकास्थित ननिको डबलीमा देवी अर्थात् दीप्याखं नाच सुरु भएको हो।

यो नाच जारी इन्द्रजात्राको अन्तिम दिनसम्म रहन्छ। नाचको बेला देवी, देवता, दानव र मानव कंकालको मुखुन्डो लगाइन्छ। सात ताल, सात बाजा, सात सुर र सातै पात्रलगायत सातको संयोगयुक्त देवीनाचलाई इन्द्रजात्रा सुरु भएको संकेत गर्ने नाचका रूपमा लिइन्छ। मंगलबारदेखि किलागलस्थित ननिको डबलीमा देखाउन सुरु गरिएको यो नाच जैसिदेवल, वसन्तपुर, इन्द्रचोकलगायत विभिन्न सात डबलीमा देखाइने छ।

इन्द्रजात्राका अवसरमा कुमारीको रथ सहरको दक्षिणतर्फ तान्दै ल्याउने क्रममा जैसिदेवल आइपुग्दा रथ रोकेरै कुमारीलाई देवीनाच देखाउने प्रचलन रहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले जानकारी दिए। उनका अनुसार यो नाच इन्द्रजात्रा डाक्ने नाच हो। हनुमानढोका क्षेत्रका नेवार समुदायबाट सञ्चालित विभिन्न गुठीहरू मिलेर जात्राको बेला विभिन्न कला प्रस्तुत गर्छन्।

देवी नाच एक परिचय पुस्तकका लेखक एवं नृत्यगुरु नरेन्द्र महर्जनका अनुसार  काया अष्टमी (भाद्र शुक्ल अष्टमी)देखि समुदायमा नाच देखाउन गरिन्छ। उपत्यकाभित्र देखाइने जात्रामध्ये देवीनाचको बेला प्रस्तुत गरिने नाचको विषेशता भिन्नै छ। ‘उपत्यकामा चल्ने कुनै पनि जात्रा वा नाचमा सातको प्रयोग भएको छैन, यहाँ सातको प्रयोग हुनु संयोग नै मान्नुपर्छ,’ उनले भने, ‘यसमा सुर, बाजा, ताल मात्र होइन, गुरु पनि सातैजना रहन्छन् र सात घण्टा नै देखाउनुपर्छ, यो देवी नाचको विषेशता नै हो।’ देवीनाचमा कुमारी, भैरव, गणेश, चण्डी, दैत्य, कवः (कंकाल), वेताः र ख्याःको भेषमा सजिएका पात्रले नाच मञ्चन गर्छन्।

समिति अध्यक्ष शाक्यका अनुसार यो नाचको इतिहास पनि लामै छ। राजा गुण कामदेवले यो नाच सुरु गरेको किंवदन्ती छ। ‘देवीनाचका हरेक गीतहरूमा कामदेवको बारेमा उल्लेख गरिन्छ, अझ कतिपय गीतमा त कामदेवका गुण पनि समेटिएको छ,’ उनले भने।

संस्कृतिविद् हरिराम जोशीका अनुसार देवीनाचको बेला भैरवकोे चर्चा गीतमा गरिएको छ। ‘राजा कामदेव अत्यन्तै गुणवान राजा थिए, नेपालको आजसम्मको वंशावलीलाई हेर्दा कामदेव राजाको जत्तिको गुण अरु कसैमा पनि देखिन्न,’ उनले भने। जोशीका अनुसार देवी नाचका दुई किंवदन्ती छन्। पहिलो किंवदन्ती अनुसार कुनै ताका काठमाडौंको हनुमानढोका दरबारस्थित कालभैरवअगाडि रहेको देवी स्वरूपमा हरेक रात ईश्वरीय शक्ति प्रकट भएको देखिन्थ्यो। त्यो शक्तिले दरबार वरपर त्रास निम्त्याउथ्यो।

हरेक दिन एक–एक जनाका दरले मानिसको भोग खाने गथ्र्यो। प्रजाको संख्या घट्दै गएपछि राजा दुःखी भए। त्यसपछि उनले प्रजा जोगाउने जुक्ति रच्न थाले। सोहीबेला एक रात सपनामा राजालाई भगवान्ले कालभैरवअगाडि देखिने ईश्वरीय शक्तिकै पहिरनमा नाच देखाएका थिए। त्यसपछि समस्या हल हुने आज्ञा गरेर उनी सपनाबाट भागे।

सोही आज्ञाअनुसार राजाले देवीनाच सुरु गराएको किंवदन्ती छ। अर्को किंवदन्ती अनुसार सयौं वर्षअघि काठमाडौं उपत्यकामा ठूलो महामारी फैलियो। त्यसबाट धेरै मानिसले ज्यान गुमाए। महामारीले प्रजा सकाउन थालेपछि राजालाई चिन्ता पर्न थाल्यो। त्यसपछि उनी रोगबाट कसरी बच्ने भनेर जुक्ति खोज्न थाले। विपनामा धेरै सोचेका कारण उनले एकरात देवीनाच देखाए महामारी रोकिने सपना देखे। भोलीपल्ट देवीनाच देखाएपछि महामारी रोकिएको थियो। त्यसपछि राजाले देवीनाचलाई महामारी रोकथामको उपचार मान्दै प्रचलन चलाएका थिए।

प्रकाशित: २१ भाद्र २०७६ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App