१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सहर पसेपछि...

प्रकट पगेनी ‘शिव’

यता आउने बेला
अलिकति मन चुँडालेर इन्दुलाई दिएथेँ
उसले त्यो मन
अलिकति सिन्दुरको डब्बामा राखी
अलिकति पोतेमा तिलहरीसँग गाँसी
फर्किंँदा भरोसा ल्यादिने आग्रहमा
अलिकति निधारमा टिकासँग टाँसी
सोचें,
कि लोग्ने हुनुको दायित्वभन्दा
स्वास्नी बन्नुको भावना ठूलो हुँदो रै’छ।
...
यता आउने बेला
छोरी सुतिरहेकै थिई
उठाउन मन लागेन
सिरानीमुनि उपहारस्वरूप
अलिकति ‘आशीर्वाद छोडेर आएथेँ
र, इन्दुलाई भनेथें
छोरी उठेर मलाई खोजी भने
बाबा नानुलाई सपना किन्न
बजार गएको छ भन्दिनु
र, स्कुल पठाउँदा
त्यही आशीर्वादको रिवन बाटिदिनु
ठूली बन्नु रे भन्नु
ज्ञानी बन्नु रे भन्नु
एउटा कुरा के भने नि इन्दु !
छोरीको जात
सधैं सँगै नबस्ने भएर हो कि किन हो
औधी माया लाग्दो रै’छ।
...
यता आउने बेला
स्कुल जाँदै गरेको छोरालाई बाटोमा भेटेथेँ
टिफिनमा अलिकति मकै रहेछ
त्यसमा अलिकति मायाको ‘भट्ट’ राखिदिएँ
झोलामा किताब फाटको रहेछ
त्यसमा स्नेहको गाता टाँसिदिएँ
बाबु ! राम्रो पढ्नु, असल बन्नु
बैनीलाई नपिट्नु
आमालाई नपिरोल्नु
छोरा भनेको लौरी हो भन्छन्
दुःखका उकालीहरूमा टेक्न पाइने
अभावका दुवालीहरू छेक्न पाइने
ती कुरा त पछि गर्दै गरौंला
म नफर्किञ्जेल तिमी जुनकीरीसँग खेल्दै गर
म झोलाभरि उज्यालो ल्याइदिऊँला
एउटा कुरा के भने नि
हरेक बाउहरूलाई नियतिले ठगे पनि
छोरा असल होस् भन्ने मनासाय हुँदो रै’छ।
...
यता आएपछि
आज सोच्दै छु
लोग्ने बन्नुको भरोसा र बाबु बन्नुको आदर्शमा
खोई, म कुन छेउमा आदर्श बाँचे?
कुन कुनामा स्वाभिमान बाँचे?
यो सहर पसेपछि
हरेक छाक विश्वास बेचेर पेट धान्नु परेको छ
स्वाभिमान बेचेर छाक टार्नु परेको छ
नाम भए पनि बेनामबेनाम बाँँचेको छु
ठेगाना नभएर बेठेगान बाँचेको छु
ठेगाना हराएको मान्छेलाई
इन्दुले कहाँबाट चिठी पठाओस्
छोरीले केबाट पापा मगाओस्
छोराले कसरी रहर सुनाओस्...।
...
थाहा छैन,
कसरी बालबच्चा धानेकी छ इन्दुले
चुल्हामा बल्ने आगो धुरीमा पो सल्क्यो कि?
खेतमा लाग्ने कुलो मझेरीमा पो पस्यो कि?
सपना पनि नराम्रो देख्छु अचेल
अब त घर फर्किनु पर्छ
बचेको स्वाभिमान बरु पूरै बेचेर
अब त केही जोरजाम गर्नै पर्छ
स्वास्नीलाई ‘भरोसा’
छोरालाई ‘उज्यालो’  
र छोरीलाई ‘सपना’ कमाउन आएको मान्छे म
चौबाटोमा उभिएर सोधिरहेछु:
ए दिदी, भरोसा कुन टोलमा पाइन्छ?
ए भाइ, उज्यालो कुन खोलमा पाइन्छ?
ए बैनी, सपना कुन मोलमा पाइन्छ?

प्रकाशित: ११ श्रावण २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App