१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

हरियाली साउनमा हरियै पहिरन

साउनमा हरियो लगाउनुपर्ने सांस्कृतिक प्रचलनअनुसार महिलाले हातभरि हरियो चुरा, हरियो पोते आदिका साथै मेहेन्दी लगाउन सुरु गरिसके। हातभरि मेहेन्दीको बुट्टाले भरिभराउँ बनाउने चलन फेसनको रुपमा निकै विकसित भैसकेको छ। विवाहिता महिलाले विवाहको समयमा लगाइने मेहेन्दी अहिले साना नानीदेखि उमेरका महिलाले लगाउने गरेको पाइन्छ। विभिन्न बुट्टेदार मेहेन्दीका आकृतिले हत्केलाभरि मेहेन्दीले सजाएर साउन मनाएको देख्न सकिन्छ। साउनमा हरियो लगाउनुपर्ने मान्यताअनुसार मेहेन्दी प्रमुख सौन्दर्यको सामग्री मानिन्छ। विवाह, चाडपर्वमा लगाउने प्रचलनसँगै अचेल साउनमा मेहेन्दी लगाउनु फेसन अपडेट हुने भइसक्यो।

रत्नराज्यमा अध्ययनरत रुपा थापाले हत्केलाभरि फूलबुट्टे मेहेन्दी लगाएकी छिन्। उनी अविवाहिता हुन र पनि उनका हत्केला मेहेन्दीले सजिएका छन्। साउनको महिना सुरु नहुँदै उनले विभिन्न मेहेन्दीका विभिन्न डिजाइन हेरेपछि मन पर्ने मेहेन्दीको डिजाइनले हत्केला भरेको बताइन्। ‘हिन्दू धार्मिक मान्यताअनुसार साउनमा मेहेन्दी लगाउनुपर्छ भन्ने विश्वास छ, संस्कृतिलाई अगाडि बढाएजस्तो पनि हुने र रहर पनि पूरा हुने,’  उनले हाँस्दै भनिन्। रुपालाई मेहेन्दी लगाउन निकै मन पर्ने बताइन्। ‘अरुले लगाएको देखेर पनि रहर लागेको लगाएकी हुँ’ उनले भनिन्।

कुलदीपकुमार वाष्र्णेयले मेहेन्दी लगाउने व्यवसाय फुटपाथबाट सुरु गरेका हुन्। मेहेन्दीको व्यवसाय सन् २००३ बाट सुरु गरेको उनले बताए। ‘मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टर’ खोलेर मेहेन्दी डिजाइनका विभिन्न तालिम दिएर धेरै व्यावसायिक मेहेन्दी कलाकार उत्पादन गरेको उनी अनुभव सुनाउँछन्। उनले मेहेन्दी लगाउँने व्यवसाय सुरु गर्दाताका काठमाडौंमा मेहेन्दी व्यावसायिक रुपमा फस्टाएको उनी बताउँछन्। ‘अचेल त मेहेन्दीको व्यवसाय फितलो भएको छ, मेहेन्दी लगाउनु सामान्य नै भैसक्यो पहिला विशेष अवसरमा मात्र लगाइने मेहेन्दी जहिले पनि लगाउन थालिएको छ, उनी भन्छन्, मेहेन्दी हल्दी भनेर छुट्टै पर्व मनाउन थालियो भनौं मेहेन्दीविना विवाह सम्भव नै नहुने जस्तो।’ नेपालमा मेहेन्दीको सुरुवात देखि अहिलेसम्म हेर्दा धेरै परिवर्तन भएको उनी अनुभव सुनाउँछन्।

विवाहको समारोहमा आध्यात्मिक प्रचलनमा रहेको मेहेन्दीले अहिले मेहेन्दी हल्दी भनेर जनैसुपारी जस्तै सांस्कृतिक चाड बनेको छ। मेहेन्दीविना विवाह नै सम्पन्न नहुने जसरी मेहेन्दी कल्चरले बिस्तारै नेपाली समाजमा संस्कारको नाममा जरा गाडेको देख्न सकिन्छ। समारोहमा मात्र सीमित मेहेन्दी भने अचेल फेसनको रुपमा निकै फस्टाएको पाइन्छ। अन्य महिनामा भन्दा साउनको महिनामा मेहेन्दीको विशेष महŒव रहेको पाइन्छ। साउन महिनामा महिलाहरु विशेष हरियो पहिरनमा सजिएको देख्न सकिन्छ। हरियो मेहेन्दी, हरियो चुरा, हरियो पहिरन, विवाहिता महिलाले हरियो पोते लगाउने फेसन निकै फस्टाएको पाइन्छ। सांस्कृतिक चलनसँगै फेसनेबल पनि देखिने भएकाले हरियो पहिरनमा सज्जिनेको जमात वर्षेनी बढ्दै गएको पाइन्छ। स–साना नानीदेखि पाका उमेरसम्मले साउनमा मेहेन्दी मात्र नभएर हरियो पहिरन लगाउँछन्। यसबेला मेहेन्दी आर्टिसहरुलाई भ्याइ–नभ्याई देख्न सकिन्छ।

रजत शाह मंगलबजारस्थित मेहेन्दीको आकृति कोर्नमा व्यस्त देखिन्थे। केही युवतीले घेरिएका उनी पाखुरामा मेहेन्दीको बुट्टा कोर्दै थिए। यसरी बाटोमा बसेर मेहेन्दीको फूलबुट्टा भर्न थालेको ३ वर्ष भएको उनी बताउँछन्। हत्केलामा लगाइने मेहेन्दीको डिजाइन हेर्दै गरेका ती युवती भने मेहेन्दीको डिजाइनको क्याटलक हेर्दै थिए। सानै उमेरमा घर छोडेर कमाइ गर्न हिँडेका उनी मौसमअनुसारको व्यापार गर्ने बताउँछन्। ‘रौतहटबाट यहाँ आएर काम गर्न थालेको ५ वर्ष भए पनि मेहेन्दी लगाउन थालेको भने ३ वर्ष मात्र भयो,’ उनले भने।

साउन महिनामा लगाइने मेहेन्दीले प्रेम दर्शाउने माध्यमको रुपमा पनि लिइएको पाइन्छ। महिलाले लगाएको साउनको मेहेन्दीको रंगको गाढापनले प्रेमी वा जीवनसाथीले गर्ने प्रेम र समर्पण झल्काउँछ भन्ने भनाइ पनि यदाकदा सुन्न पाइन्छ। हरियो मेहेन्दीले प्रेमी वा जीवनसाथीको नाम हातपाखुरामा सजाएर माया दर्शाएको पनि देख्न सकिन्छ।  कति माया गर्छन्, प्रेमप्रति कत्तिको समर्पित छन् भनेर प्रमाणको रुपमा मेहेन्दीको रंगलाई मापन गर्ने चलन रहेको पाइन्छ। श्रीमान्को सुस्वास्थ्यको कामना सँगै चल्दै आएका चलनलाई आत्मसाथ गर्दै आएको बताउँछिन् सितामाया अधिकारी। ललितपुरस्थित कस्मेटिक व्यापार गर्दै आएकी उनी यसपालि हरियो चुरा, पोते, मेहेन्दी बेच्न सुरु भैसकेको बताउँछिन्। मेहेन्दी किन्न आउने ग्राहकहरु दिनानुदिन बढ्दै गरेको उनी बताउँछिन्। उपहारको रुपमा दिदी बहिनीलाई दिने चलन निकै बढेको उनी बताउँछिन्। प्रतिगोटा मेहेन्दी २० रुपैँयामा बेच्ने उनी बताउँछिन्। रातो टीका, चुरा, पोते हिन्दू महिलाले शृंगारको रुपमा प्रयोग गर्ने उनी बताउँछिन्। रातो सँगै हरियो, पहेँलो रंगको निकै माग हुने उनी अनुभव सुनाउँछिन्। साउन महिनासँगै चाडबाडको सुरुवात हुने भएकाले व्यापार हुने समय मानिने उनी बताउँछिन्। साउनमा अनिवार्य प्रयोग गरिने हरियो चुरा, पोते, मेहेन्दीलगायतका साडी कुर्ताको व्यापार सामान्य फुटपाथ हुँदै बुटिक, सपिङमल, पसल, ब्युटिपार्लरसम्म फैलिएको छ। असार मसान्तकोे अन्तिम हप्तादेखि नै मेहेन्दी आर्टिस्टहरुलाई मेहेन्दी लगाइदिन फुटपाथमा बसिरहेको देख्न सकिन्छ। मेहेन्दी आर्टिस्टहरु न्युरोड, वसन्तपुर, मंगलबजार, पाटनलगायत अधिकांश मानिस ओहोर–दोहोर गर्ने ठाउँमा मेहेन्दीको सुन्दर डिजाइन डिस्प्ले गरेर बसेको देखिन्छ। 

साउनकै लागि भनेर थरीथरीका डिजाइनका चुरा, पोते, पहिरनले पसलहरु सजाइएको छ। साना बालिकाका हातमा मिल्नेदेखि ठूला नाडीमा अटाउने साइजका हरिया चुरा बजारमा आइसकेको छ। ३० रुपैयाँ दर्जनदेखि सुरु हुने हरिया चुरामा पहेलो रंगसमेत मिलाएर लगाउने गरिन्छ। साउन महिनाभरि पसलमा आउनेहरुको रोजाइ नै हरियो चुरा, पोते र मेहेन्दी हुने बताउँछिन् निशा श्रेष्ठ। ललितपुरस्थित व्युटिपार्लर सञ्चालन गरेर बसेकी उनी चुरा मात्र नभएर हरियो पोते, मेहेन्दी, हरियो टप, धोतीलगायतका पहिरनहरु धेरै बिक्ने उनी बताउँछिन्। उमेरअनुसारको डिजाइन किन्ने उनी बताउँछिन्। आमालाई हरियोमा रातो बुट्टाले भरिएको धोती उपहार स्वस्प दिन किन्न आउने उनी बताउँछिन्। अविवाहिता युवतीहरुले हरियो सादा चुरामा पहेँलो सादा चुरा मिसाएर लगाउन रुचाउने उनी बताउँछिन्। उनी भन्छिन्, ‘विवाहिता महिलाले भने रातो, हरियो र पहेँलो मिक्स भएको बुट्टेदार चुरा लगाउन रुचाउँछन्।’ पोते र चुराको सेट मिलाउनेहरु पनि धेरै रहेको उनले बताइन्। विवाहिता हिन्दू महिलाले सधैँझैँ गलामा रातो पोते लगाउने चलन भए पनि साउनको महिनामा भने हरियो र पहेलो रङ मिसिएको पोते लगाउने गरेको उनी बताउँछिन्। हत्केलाबाट पाखुरासम्म टमक्क बुट्टेदार मेहेन्दी, अनि हरियो चुरा लगाउने फेसन निकै चलेको पाइन्छ। सामान्य ५० रुपैयाँदेखि चार सय रुपैयाँसम्म पर्ने एकसरो पोते बेच्ने गरेको उनी बताउँछिन्।

साउनमा नेपाली दिदीबहिनीहरुको विशेष रौनक देख्न सकिन्छ, विभिन्न कार्यालयमा मेहेन्दी चुराको कार्यक्रम आयोजनासमेत गरिन्छ। एकआपसमा कर्मचारी दिदिबहिनीहरु उपहार आदान–प्रदान गरेर मनाएको पाइन्छ। सुविधासेवा प्राइभेट लिमिटेडकी प्रितिका नन्दनी थापाले यसपालिको साउनमा मेहेन्दी, चुरा कार्यक्रमको आयोजना गर्ने योजनामा रहेको उनले बताइन्। हरेक सालझँै यो वर्ष पनि उनले कार्यक्रम गरेर आपसी सद्भाव आदान–प्रदान गर्ने उनले बताइन्। उक्त कार्यालयमा कार्यरत महिलालाई प्रोत्साहनस्वरुप हरेक वर्ष कार्यक्रम गरिने उनले बताइन्। उनी भन्छिन्, ‘एक आपसमा सुस्वास्थ्यको कामना गर्दै, नाचगान सँगै उपहार आदान–प्रदान गरेर साउन मनाउँछाैँ।’

प्रकाशित: ७ श्रावण २०७६ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App