१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

गाईघाट–दिक्तेल सोझो यातायात ६ महिनालाई ठप्प

फोक्सिन्टारस्थित सुनकोसीमा खोल्दै गरिएको बेलिब्रिज। तस्बिरः महेश्वर/नागरिक

उदयपुर– गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोल्ने क्रम अन्तिम चरणमा पुगेको छ। बेलिब्रिज खोल्न थालेपछि उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको छ। ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको बेलिब्रिज खोल्न थालेदेखि नै २ जिल्लाबीचको सोझो यातायात सेवा आउँदो ६ महिनाका लागि ठप्प भएको हो।

उदयपुरतर्फ रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङतर्फ खोटेहाङ गाउँपालिका–१ को फोक्सिन्टारमा बेलिब्रिज हरेक वर्खायाममा खोल्ने तथा हिउँदमा पुनर्जडान गर्ने गरिएको छ। वर्षाको मौसममा कोसीमा आउने बाढीले बगाउने जोखिमबाट बँचाउन बेलिब्रिज खोल्ने गरिएको हो।  गत १४ गतेदेखि खोल्न थालिएको बेलिब्रिज ८० प्रतिशत खोलिसकिएको र २÷३ दिनभित्र सबै खोलिसक्ने गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ।

योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले वर्षायाममा कोसीमा अत्याधिक आउने बाढीबाट जोगाउन बेलिब्रिज खोलेर सबै सामग्री सुरक्षित गर्ने गरिएको बताए। हिउँद लागेपछि हरेक कात्तिकमध्यतिर पुनर्जडान गरेर दुई जिल्लाबीचको सोझो यातायात आवागमन सुचारु गर्ने गरिएको छ भने हरेक जेठमा बेलिब्रिज खोलेपछि सोझो यातायात सम्पर्क टुट्ने गरेको ज्ञवालीले बताए।

यो वर्ष त्यत्ति पानी नपरेकाले बेलिब्रिज केही ढिला खोलिएको जोड्न तथा खोल्न जिम्मा पाएको ठेकेदार कम्पनी सगरमाथा कन्स्ट्रक्सन गाईघाटले जनाएको छ। कम्पनी सञ्चालक प्रेमराज कार्कीले वर्षा छिटो सुरु भएको साल वैशाख अन्तिमदेखि जेठ पहिलो साताभित्रै बेलिब्रिज खोलिसक्ने गरिन्छ भने ढिला सुरु भएको वर्ष ढिलै खोल्ने गरिएको छ। यो वर्ष अहिलेसम्म त्यति ठूलो वर्षा नभएकाले जेठ दोस्रो सातादेखि मात्र खोल्न थालिएको उनले बताए।

यो वर्ष बेलिब्रिज जडान र खोल्नका लागि सडकले ८७ लाख हाराहारी खर्च गरेको छ। फोक्सिन्टारमा पक्की मोटरेबल पुलको अभावमा विगत ४ वर्षयता करोडौं खर्च बेलिब्रिज लगाउने र खोल्ने काममा खर्च भइरहेको छ। त्यसअघिसम्म फोक्सिन्टामा फेरि सञ्चालन गरेर मान्छे, उपभोग्य सामग्री तथा सवारी साधन कोसी वारपार गर्ने गरिएको थियो। ०७२ को बाढीले फेरि बगाएपछि बेलिब्रिजको प्रयोग गरिँदै आएको छ।

सात वर्षदेखि फोक्सिन्टारमा निर्माणाधीन पक्की मोटरेबल पुलको काम भर्खर जग मात्र राखिएको छ। ०७५ चैत २० गते सम्पन्न गरिसक्नेगरी ०६९ चैत २० गते ठेक्का सम्झौता भएको पक्की पुल निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म २० प्रतिशत मात्र काम भइरहेकाले आउँदो २ हिउँद/बर्खा बेलिब्रिजकै भर पर्नुपर्ने सम्भावना रहेको स्थानीय बताउँछन्। १९ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको गौरीपार्वती/बाइपी जेबीले अहिलेसम्म ६ करोड ६६ लाख भुक्तानीसेमत लिइसकेको पुल योजना सेक्टर १ सुनसरीले जनाएको छ।

रौतामाई–५ का वडाध्यक्ष पाण्डव राईका अनुसार पुल बनाउने ठेकेदारको लापरबाहीले पुल बनाउन ढिला हुँदा दुवै जिल्लावासी उपभोक्ता मारमा पर्दै आएका छन्। बेलिब्रिज हटाइएसँगै यातायात सम्पर्क अवरुद्ध हुने हुँदा कोसी वारपार गर्न डुंगा र बाँसका चेफामार्फत जोखिमयुक्त कोसी तर्न स्थानीय बाध्य हुँदै आएका छन्। ‘जिल्ला फरक भए पनि स्थानीय चिनजान, नरनाता, आफन्त र छिमेकी नजिक हुने हुँदा कोसी वारपार गरिरहनु पर्छ’ वडाध्यक्ष राईले कठिनाइ सुनाए, ‘तर पुल बन्न ढिला भएकाले बेलिब्रिज भत्काएसँगै ६÷७ महिनासम्म डुंगा र बाँस, केराको चेफा बनाएर जोखिमपूर्ण रुपमा वारिपारि गर्नुपर्ने बाध्यता हामीलाई छ।’

गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग ०५३ सालदेखि जारी रहे पनि अझै पूर्ण हुन सकेको छैन। फोक्सिन्टारदेखि उदयपुरतर्फ ५३ किलोमिटर र दिक्तेलसम्म ७६ किलोमिटर गरी १ सय ३९ किलोमिटर लामो लोकमार्ग दोहोरो लेनको पक्की र कालोपत्रे गर्ने क्रम चलिरहे पनि अहिलेसम्म १९ किलोमिटर (गाईघाट–साउने) सम्म) कालोपत्रे सम्पन्न भएको छ। आउँदो ०७६ असारभित्र दिक्तेलसम्मै कालोपत्रे भइसक्ने गरी काम अघि बढिरहेको डिई ज्ञवालीले बताएका छन्।

प्रकाशित: २० जेष्ठ २०७६ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App