१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

बौद्धिक बुझाइभन्दा माथि

 बसन्त महर्जन
मानिस मात्रै होइन, समस्त प्राणी जन्मेपछि एक दिन मर्नुपर्छ। बौद्ध धर्म दर्शनअनुसार ‘सर्वम् अनित्यम्’ हो। प्राणी मात्र होइन, हरेक चीज एउटा अर्कोबाट प्रभावित भएर परिवर्तनशील भइरहेको हुन्छ। नित्य केही छैन। वास्तवमा गौतम बुद्ध (इ.पू. ५६३–४८३) ले जीवनभर जे जति बोले अर्थात् बुद्ध वचनको सार यही हो। झट्ट हेर्दा यो सरल र सहज देखिन्छ। तर कुराको बोध गर्न नसक्दा प्राणी जन्म र मरणको चक्र जसलाई बुद्धले दुःखको रुपमा परिभाषित गरेका छन्, बाट मुक्त हुने प्रयास नै गर्दैनन्। विभिन्न तह र तप्का तथा पृष्ठभूमिका मानिसलाई यही कुरा बुझाउन गौतम बुद्धले अनेक उपाय अपनाएको पाइन्छ र ती प्रयत्नहरुलाई बुद्ध वचन, बुद्ध शिक्षा, बौद्ध धर्म वा दर्शन आदि नामबाट जान्न सकिन्छ।

सर्वसाधारणदेखि धुरन्धर दार्शनिकहरु पनि गौतम बुद्धकहाँ जीवनका समस्याहरु लिएर विचारविमर्शका लागि आइरहेका हुन्थे। श्रावस्ती निवासी कृषा गौतमी एक्लो छोराको मृत्युले आकुलव्याकुल थिइन् र कसैले केही गरी जीवन फर्काइदिन्छ कि भन्ने ठूलो आशाले भौंतारिइरहेकी थिइन्। जन्मेपछि पछि एक दिन मर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा छ र सबैले यही कुरा सम्झाउन खोजिरहेका थिए तर कृशा गौतमीले बुझ्न सकेकी थिइनन्। छोराको जीवन फर्काउने कुराबाहेक उनी केही पनि सुन्न तयार थिइनन्। बुद्धले ‘हुन्छ, तिम्रो बच्चालाई म जीवित पारिदिन सक्छु’ मात्रै के भने, उनी बुद्धका हरेक कुरा सुन्न तयार भइन्। बच्चालाई जीवनदान दिन एउटा औषधि बनाउनु पर्ने र त्यसका लागि अलिकति सरस्युँ भए पुग्ने भनेपछि ती महिलालाई के चाहियो र ? गाउँघरमा सजिलैसँग पाइने सरस्युँ ल्याउन तयार भइन्। सरस्युँ त ल्याउने तर कोही नमरेको घरबाट ल्याउनु पर्ने कुरा पनि सम्झाएर पठाए। सरस्युँ लिन जुनै घरको दैलो टेकेपनि त्यो घरमा कुनै न कुनै बेला कोही न कोही मरेकै हुन्थ्यो। आफ्नो छोरालाई बचाउन हार नमानी उनी एकपछि अर्को घर चहार्दै गइन्। आफू पुगेको घरमा कोही न कोही मरेको पाएपछि उनलाई बोध भयो, जन्मेपछि मर्नु पनि पर्दोरहेछ। जीवन बुझाइको यो एउटा ठूलो झट्का थियो। यसपछि उनी विहार फर्केर बुद्धको शरणमा भिक्षुणी बनिन्।

एकै समयमा लोग्ने, दुई छोरा र माइती खलकका सबै बन्धु गुमाउनु पर्दा विक्षिप्त बनेकी श्रावस्ती शहरकी एक महिलाको नाम त कतै उल्लेख पाइँदैन तर पटाचारा नामबाट बौद्ध जगतमा उनी प्रसिद्ध छिन्। पटाचारा शब्दले विक्षिप्त महिला वा बहुला अर्थ दिन्छ। विक्षिप्त अवस्थामा यताउता दौडादौड गर्ने, हाँस्ने र कराउने तथा मनपर्दी गर्ने भएका कारण सबैले बहुला बहुला भन्दाभन्दै ‘पटाचारा’ नाम हुन पुग्यो। बेहोसी अवस्थामा उनी निर्वस्त्र पनि हुन्थिन्। समाजबाट छिःछिः र दूरदूर पनि हुने गर्थिन्। उनी बुद्धले उपदेश गरिरहेको विहारको समीपमा पुगिन् र शान्त वातावरण देखेर छक्क परिन्। त्यो शान्त वातावरणले उनलाई आकर्षित ग-यो र बुद्धकै समीपमा पुगिन्। सबैले पटाचारा भन्दै जिल्याउने गरिएकी उनलाई बुद्धले ‘बहिनी’ शब्दबाट जसै सम्बोधन गरे, पटाचाराको मनमस्तिष्कमा बेग्लै खालको तरङ्ग उत्पन्न भयो। होस फर्कियो। तिनी पनि बुद्धको शरणमा गई भिक्षुणी बनिन्।

कृषा गौतमी र पटाचारका जस्ता घटनाहरु बौद्ध साहित्यमा अनेकौं छन्, सबैको चर्चा यहाँ सम्भव हुन्न। दुवै घटना मृत्युसँग सम्बन्धित छन् र जीवन र मृत्युको यथार्थबोध गराउने खालका छन्। बुद्धको सम्पर्कमा नआएका भए यी दुवै महिलाले जीवनको यथार्थ बुझ्ने थिएनन्। दुवैले भिक्षुणी भएर ध्यान भावना बढाउँदै अन्ततः अर्हत्व प्राप्त गरी अर्हत् भए।

अविद्याका कारण मान्छेले गर्न हुने–नहुने सबै गर्न पुग्छन् र कर्मसिद्धान्तअनुसार त्यसको फल भोग्नु पर्ने हुन्छ। यसले जन्म र मृत्युको चक्रमा घुमाउँदै गर्छ जसलाई बुद्धले ‘दुःख’ भनेका छन् तर दुःखको अन्त्य हुनु भनेको अविद्या नाश हुनु हो र जीवन–मृत्युको चक्रलाई नै तोड्न सफल हुनु हो। यस्तो अवस्था प्राप्त हुनु भनेको अर्हत्व प्राप्त हुनु हो। यो ज्ञान प्राप्त गरिसक्ने अवस्थामा आफू मात्र दुःखबाट मुक्त भएर के गर्नु अरु प्राणीहरु त दुःखमा नै छन्, उनीहरुको दुःख पनि अन्त्य गर्छ भनेर पुनः साधना गर्ने प्रक्रियालाई ‘बोधिचर्या’ भनिन्छ। यो अत्यन्तै कठिन हुन्छ। अन्यप्रति करुणाले ओतप्रोत भएर जस्तोसुकै अवस्थामा पनि बोधिचर्या गर्छु र सेवा गर्छु भनी बारम्बार जन्म लिने यिनीहरु ‘बोधिसत्व’का रुपमा चिनिन्छन् र पालना गर्नुपर्ने सम्पूर्ण पारमी पूरा गरेपछि ‘सम्येकसम्बुद्ध’ पद लाभ हुन्छ। गौतम बुद्ध पनि यस्तै बोधिचर्या गर्दै बनेका सम्येकसम्बुद्ध हुन्।

बुद्ध वचनलाई धर्म वा दर्शन दुई शब्दमध्ये कुन उपयुक्त हुन्छ भन्ने प्रश्न बौद्धिक जगतमा लागि चपाउन नसकिएको सुपारीजस्तो भएको छ। कसैका लागि यो वाणीविलासको साधनजस्तै पनि भएको पाइन्छ। धर्म भनुँ वा दर्शन, बौद्ध सन्दर्भमा यसले एउटै अर्थ राख्छ। यसलाई अर्को शब्दमा शिक्षा पनि भन्न सकिन्छ। बुद्ध एउटै शिक्षा सबैलाई एकै प्रकारले दिँदैनन्। एउटै व्यक्तिको मनस्थिति सधैँ एउटै हुँदैन र बच्चा बेलाको क्षमता बूढो हुञ्जेलसम्ममा कतिपय गुमिसकेको हुन्छ वा थप क्षमता ग्रहण गरिसकेको हुन्छ। यसरी नै सबैको क्षमता एउटै हुँदैन। शिक्षा दिनेले यो कुरामा गम्भीर हुनुपर्छ। कसलाई कसरी शिक्षा दिने र कस्तो उपाय अपनाएर दिने भन्ने कुरा उपायकौशलमा निर्भर हुन्छ। बौद्ध जगतमा उपायकौशललाई बडो महŒवका साथ लिनुको कारण यही हो। जस्तोसुकै अवस्थामा बहुजनको हितका लागि कसरी सेवा गर्ने भन्ने सवालमा उपायकौशलले महŒवपूर्ण भूमिका निर्वाह गर्छ। यो शिक्षासँग पनि सम्बन्धित कुरा हो।

भोकप्यासले आकुलव्याकुल भएर आएकालाई बुद्ध उपदेश दिँदैनन् बरु उनका लागि खानेकुराको बन्दोबस्त गर्छन्। भोकाएको मान्छेले धर्मको कुरा कसरी सुन्न सक्छन् र ? सुनि नै हाले पनि बोध गर्ने संभावना कम मात्रै हुन्छ। कस्तो अवस्थामा बौद्ध शिक्षा दिनु वा कस्तो अवस्थामा नदिनु भन्ने निर्देश पनि चिन्तनयोग्य छ। मान्छे बेग्लै समस्याले रन्थनिएको अवस्थामा बिना प्रसङ्ग उपदेश दिइरहँदा समय र प्रयास खेर जाने हुन्छ तर त्यसैलाई सम्बन्धित बनाएर आवश्यकताअनुसार शिक्षा दिँदा चाँडै बोध हुने हुन्छ।

शिक्षा कसले प्राप्त गर्न सक्छ वा सक्दैन भन्ने कुरा पनि बडो रोचक छ। बुद्धको शिक्षा सहज र सरल रुपमा ग्रहण गर्नेहरु सर्वसाधारण हुने गरेको पनि पाइन्छ। बाटोमा हिँड्दाहिँड्दै वा छोटो सम्वादमा नै पनि धर्मबोध भइसक्ने अनेकौं उदाहरणहरु छन्। तर यसको विपरीत ठूल्ठूला पण्डित तथा दार्शनिकहरु लामो र गहन दार्शनिक विमर्शपछि पनि बुद्धको शिक्षालाई बोध गरेका हुँदैनन्। यस्तो अवस्थामा बुद्धको शिक्षा प्रदान गर्ने उपायकौशल्य ताज्जुबको हुन्छ। यस प्रसङ्गमा बुद्ध र सोणदण्ड (स्वर्णदण्ड) नामका ब्राह्मणबीच भएको सम्वाद महत्त्वपूर्ण छ। सोणदण्डसूत्रमा उल्लेख भएको यी दुईबीचको सम्वादमा बुद्धले बुद्धले कति गुणले युक्त भएको पुरुषलाई ब्राह्मण भनिन्छ भनेर सोधेका थिए। जवाफमा पाँच गुण (१. दुबै तर्फबाट शुद्ध, २. अध्यापक (वेदपाठी, मन्त्रधर ), ३ अभिरुपी, दर्शनीय, गौर वर्णयुक्त, ४. शीलवान र ५. पण्डित मेधावी, यज्ञ–दक्षिणा ग्रहण गर्नेमा प्रथम वा द्वितीय) ले युक्त पुरुषलाई ‘ब्राह्मण’ मानिने जवाफ दिए। यी पाँच गुणमा एकलाई छाड्न सकिन्छ ? भनेर बुद्धले सोध्दा तेस्रोमा रहेको गुण ‘अभिरुपी, दर्शनीय, गौर वर्णयुक्त’ लाई छाड्न सकिने जवाफ दिए। किनभने अरु गुणको अगाडि यो ठूलो होइन। चार वटा गुण बाँकी रह्यो। बुद्धले पुनः अर्को एउटा छाड्नु परे कसलाई छाड्न सकिन्छ भनेर सोध्दा सोणदण्डले दोस्रोमा रहेको गुण ‘अध्यापक (वेदपाठी, मन्त्रधर)’ छाड्न सकिने बताए। बाँकी रहेको तीन वटा गुणमा पनि एउटा छाड्नु परे पहिलो ‘दुवैतर्फबाट शुद्ध रुपमा जन्मेको’ गुण छाड्न सकिने बताए। अब बाँकी रह्यो दुई गुण–  शीलवान र पण्डित मेधावी, यज्ञ–दक्षिणा ग्रहण गर्नेमा प्रथम वा द्वितीय। बुद्धले पूर्ववत् प्रश्न गर्दा सोणदण्ड ब्राह्मणले यी दुई गुणलाई छाड्न नसकिने जवाफ दिन्छन् जसको अर्थ हो जन्ममा आधारित जातिवाद, वर्ण, पाण्डित्याइँ ठूलो कुरा होइन। बुद्धसँग शास्त्रार्थ गर्न आएका ती मेधावी ब्राह्मण बुद्धसँग सन्तुष्ट भएर फर्के।

बुद्धसँग विवाद गर्न आएका हुन् वा जिज्ञासावश बुझ्न आएका, बुझेपछि यस्तो भन्ने गरेको पाइन्छ– ‘जस्तै घोप्टिएकोलाई उत्तानो पारिदिँदा वा ढाकिएकोलाई उघारिदिँदा वा बाटो भुलेकोलाई बाटो देखाइदिँदा वा अन्धकारमा तेलको बत्ती राखिदिँदा आँखा मानिसले रुप देख्छ– त्यसैगरी तपाईं गौतम (बुद्ध)ले मलाय अनेक प्रकारले धर्मप्रकाश पारिदिनुभो।’

हामी धेरै कुरा बुझेको भन्ठान्छौं तर त्यो अवबोध भएको हुँदैन। जन्मेपछि मर्नुपर्छ भन्ने कुरा बुझेर पनि जन्म र मरणको यो चक्रबाट उन्मुक्तिको बाटोमा नलाग्नु भनेको वास्तवमा अवबोध नभएर हो। अवबोध बिनाको बुझाइ बौद्धिक बुझाइ मात्र हो, जसले खासै लाभ दिएको हुँदैन। बुद्धको शिक्षा पद्दति मान्छेलाई बौद्धिक बुझाइको स्तरबाट माथि अवबोध नै गराउनु हो।  

प्रकाशित: १९ जेष्ठ २०७६ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App