१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

बुद्धलाई बुझौँ

संसारमा केही यस्ता व्यक्तिको जन्म हुन्छ, उनीहरूको प्रभाव हजारौँ वर्षसम्म रहिरहन्छ। उनीहरूले दिएको दर्शनलाई आत्मसात गर्दे ठूलो समुदाय अनुयायी बन्न पुग्छन्। धार्मिक मान्यताको दृष्टिकोणले कतिपय अर्थमा त्यस्ता महापुरुषहरू स्थापित गरिन्छ, जसका प्रतिपादित विषय र दर्शन अनुशरणयोग्य हुन्छन्। अहिलेको नेपाल भूमिमा पर्ने लुम्बिनीमा २५ सय वर्षअघि जन्मिएका सिद्धार्थ गौतम अहिलेको वैश्विक युगमा संसारका कुनाकाप्चामा फैलिसकेका छन्। अहिलेको भौतिकवादी प्रगति र प्रविधि निर्देशित समाजमा उनका व्यावहारिक शिक्षाको महत्त्व झनै बढेर गएको छ। सायद यही कारण संसारभर उनको बाटो सोच्ने र खोज्ने क्रम बढेर गएको छ।

सिद्धार्थ गौतम निरन्तरको अध्ययन, जप, तप र ध्यानका कारण बुद्धत्व प्राप्त गरेका हुन्।  उनले सांसारिक सुखसयलको जिन्दगी परित्याग गरे। २५ सय वर्ष पुगिसक्दा पनि उनले प्रतिपादन गरेका शिक्षा र ध्यानका नियमले विश्वको ध्यान आकृष्ट गरिरहेको छ। वैज्ञानिक, अनुसन्धानदाता, खेलाडी, उद्योगी, व्यापारी, लेखकको ठूलो समुह बुद्ध शिक्षाबाट प्रभावित छन्। बुद्धको पालामा धेरै विकसित भएको विपश्यना ध्यान विधिको प्रयोग अहिले आएर अझ व्यापकता पाएको छ। अन्तरिक्षमा पुगेकी वैज्ञानिक स्यान्ड्रा म्यागनसले समेत विपश्यना ध्यान विधि अन्तरिक्षमा पनि प्रयोग गरेको नेपाल आएको बेला बताएकी थिइन्। इजरायली लेखक युभल नोह हरारीले बुद्ध र उनको शिक्षाले आफ्नो जीवनमा पारेको प्रभावबारे बरोबर उल्लेख गर्ने गरेका छन्। यसको अर्थ पश्चिमा समाजमा पनि बुद्ध शिक्षाको व्यापकताले प्रभावित पार्दै गएको छ।

यही जेठ ४ गते २५६३ औं बुद्ध जयन्ती मनाइँदै छ। नेपालले सदाझैँ  धुमधामका साथ बौद्ध जयन्ती मनाउँछ। बुद्ध जन्मिएको देशको नाताले नेपालले बुद्ध जयन्ती भव्यताका साथ मनाएर औपचारिकता निर्वाह गर्ने परम्परा वर्षौंदेखि चलिरहेको छ, चलिरहने छ। खासमा बुद्धका उपदेश के हुन् र तीनले समाज, व्यक्तिले कसरी जीवनयापन गर्नुपर्छ भन्ने कुरालाई महत्त्व दिइनुपर्ने हो तर नेपालमा बुद्धका सिद्धान्तबारे मसिनोसँग अध्ययन, चिन्तन हुनपर्ने हो, त्यस्तो भैरहेको छैन। बुद्धका उपदेशहरूको आत्मा, आदर्शको व्याख्या, व्यवहारमा उतार्ने भन्दा आवरणमा बुद्धलाई पुज्ने काममा हामी बढी केन्द्रित भएका छौं। र, पछिल्ला समय बुद्धलाई बजारीकरण गर्ने अभ्यास पनि भइरहेका छन्।

बुद्ध शिक्षा भन्नेबित्तिकै घरबार छाडेर संन्यासै लिनुपर्छ भन्ने धारणा व्याप्त छ तर त्यसो होइन। बुद्धले प्रतिपादन गरेका त्रिपिटकअन्तर्गत रहेका सूत्रपिटक र विनयपिटक दर्शनमा  गृहस्थका कुरा छन् र राज्य व्यवस्था कसरी सञ्चालन गर्ने भन्नेसम्मका कुरा छन्। सबैभन्दा महŒवपूर्ण कुरा बुद्ध त  हरेक कुराको कारण र प्रभावबारे अध्ययन हुनुपर्छ भन्थे।

हाम्रो देशमा बुद्धप्रति लगाव त छ तर बुद्ध शिक्षामा आकर्षण भने देखिँदैन। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्व गर्ने कुरामा नै नेपाली समाज रुमल्लिएको छ। बुद्ध जन्मिएको भूमि अहिलेको नेपालभित्र पर्दछ। र, उनले प्रतिपादन गरको शान्ति, अहिंसा, प्रेम, ज्ञानजस्ता बौद्धिक र आध्यात्मिक तहको चिन्तन अहिलेको भौतिक जमानमा अझ सान्दर्भिक हुँदै गएको छ। हामीले यस पटकको नागरिक परिवारमा आवरणमा बुद्ध, बुद्ध शिक्षाबारे सामग्री प्रस्तुत गरेका छौं।

जीवनयात्रा, कर्पोरेट कुराकानी, कलेज लाइफ, अर्थ संवाद, दाम्पत्य जीवन, अभिभावकत्व लगायत नागरिकको स्वास्थ्य, सौन्दर्य, साहित्य, घुमफिर जस्ता नियमित स्तम्भ समावेश छन्। नागरिकको जेठ अंक पाठकहरूका लागि रुचिपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App