१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रोल्पामा सुरक्षा चासो बढ्दै

होलेरीमा भएको सुरक्षा अधिकारीहरूको बैठक। तस्बिरः नागरिक

रोल्पा– रोल्पामा विप्लव समूहको सक्रियता बढेसँगै सुरक्षा अधिकारीले चासो देखाएका छन्। पछिल्लो एक महिनामा यहाँ चार जिल्लाका सुरक्षा अधिकारीको दुई पटक बैठक सम्पन्न भयो।

विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध र उनीहरूको यो क्षेत्रमा भइरहेको चलखेललाई लिएर सुरक्षा निकाय संवेदनशील बन्न थालेका हुन्। वैशाख १४ मा रोल्पाको थवाङमा बसेको अन्तरजिल्ला संयुक्त सुरक्षा अधिकारीहरूको बैठकमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको गतिविधि नियन्त्रण गर्ने सम्बन्धी साझा योजना बनाएको थियो। संयुक्त सुरक्षा अधिकारीहरूले बैठकमार्फत् द्वन्द्व, तस्करी, अपराध, प्रकोप नियन्त्रण गर्नुका साथै विकासका गतिविधिमा साझेदारी भूमिका निर्वाह गर्ने निर्णय गरेका थिए।

बैठकमा रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व र बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो। सुरक्षा अधिकारीहरू यी जिल्लामा बढ्दै गएको विप्लव नेतृत्वको नेकपाको गतिविधिप्रति गम्भीर बनेका छन्। थवाङमा बैठक बसेको एक साता नबित्दै रोल्पा, दाङ, सल्यान र प्युठानका सुरक्षा अधिकारीहरूले रोल्पाकै होलेरीमा शुक्रबार अर्को बैठक गरेका छन्।

सुरक्षा संयन्त्रले संवेदनशील मानेको थवाङसमेतका क्षेत्रलाई केही समय अगाडि विप्लव नेतृत्वको नेकपाले विशेष जिल्ला घोषणा गरेको छ। थवाङ विशेष जिल्ला भएजस्तै उनीहरूले होलेरी आसपासको क्षेत्रलाई पनि यस अघि नै विशेष जिल्ला घोषणा गरिसकेका छन्। सरकारी संयन्त्रले सुरक्षा चुनौतीका हिसाबले होलेरी क्षेत्रलाई पनि संवेदशील मानेको छ।

‘गृह सचिव र प्रमुख जिल्ला अधिकारीसँग भएको कार्यसम्पादन सम्झौताबमोजिम सिमाना जोडिएका जिल्लाहरूका सुरक्षा निकायबीचको नियमित छलफल हो,’ रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने, ‘यसमा अपराध, लागूऔषध नियन्त्रण, विपद् व्यबस्थापनलगायतका विषयमा समन्वयात्मकरूपमा काम गर्ने विषयमा समन्व बैठक हो।’ प्रदेश ५ का पहाडी जिल्लाहरूमा विप्लवले आफ्ना गतिविधिमा तीव्रता ल्याउन थालेपछि सुरक्षा निकायले सर्तकता अपनाउन थालेको एक सुरक्षा अधिकारीले बताए।

प्रकाशित: २२ वैशाख २०७६ ०६:२७ आइतबार

रोल्पा विप्लव सुरक्षा