१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

भूमि व्यवस्थापन आयोग गठनको माग

बुटवल–प्रदेश ५ का सभासदहरूले सदनमार्फत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सभासदहरूले आमजनताको जीवनस्तर माथि उठाउन प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने, विकास निर्माणलाई गति दिनु पर्ने, सुकुमबासी तथा भूमिहीनहरूको समस्या सम्बोधन गर्नु पर्नेलगायतका माग गरेका हुन्।

सदनमा विशेष समय लिएर बोल्दै सांसद अम्मरबहादुर डाँगीले सरकारले किसान र आमजनताको जीवनस्तर माथि उठाउने खालका प्रभावकारी कार्यक्रम ल्याउन नसके समृद्ध प्रदेश खुसी जनताको नारा नारामा मात्रै सीमित हुने बताए । प्रदेश सरकार गठन भएको वर्ष दिन नाघिसक्दा पनि किसान तथा आमजनताको जीवनस्तरमा कुनै सुधार आउन नसकेको भन्दै सभासद डाँगीले जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरू अगाडि बढाउन माग गरेका हुन्।

विशेष समयमा बोल्दै अर्का सांसद कूलप्रसाद पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा सभासदलाई सहभागी गराइनु पर्ने बताए। सभासद भोजप्रसाद श्रेष्ठले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्याका समाधानमा सरकारलाई गम्भीर हुन् आग्रह गरे।

भुमि व्यवस्थापन तथा भूमिहीन सुकुमबासी समस्या समाधानका लागि प्रदेशसभामा पटकपटक आवाज उठे पनि प्रदेश सरकारले त्यस विषयमा अहिलेसम्म कुनै जवाफ नदिएको गुनासो पनि सभासद श्रेष्ठले गरे। सभासद श्रेष्ठले प्रदेशसभाको चालू अधिवेशनबाटै भूमि व्यवस्थापन आयोग गठनको माग पनि गरे।

बिहीबारको बैठकले दुई वटा विधेयक पारित गरेको छ। प्रदेश ५, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो। अर्को बैठक वैशाख २२ गते बस्ने छ।
 

प्रकाशित: २० वैशाख २०७६ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App