१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

मुस्लिम महिला: जसले समुदायको सोच बदले

तस्बिर: नागरिक

 नेपालगन्ज - पतिको अल्पायुमै निधन भएपछि नेपालगन्ज–३, एकलैनीकी मोहम्मदी सिद्धिकीको संघर्षका दिन सुरु भए । समाजसेवा र राजनीतिक कामको लागि जब उनी घर बाहिर निस्कन खोज्थिन्, परिवारले घरभित्रै आफ्नो बन्धनमा राख्न चाहन्थ्यो । घर र समाजभन्दा बाहिर निस्केपछि इस्लाम धर्मको ‘खिलाप’ हुने परिवारको बुझाइ थियो । तर, घर परिवारको यस्तो बुझाइ धेरै दिन टिक्न सकेन ।

धेरै संघर्षपछि २०४९ सालमा मोहम्मदी परिवार र समुदायको अवरोधबाट बाहिर निस्कन सफल भइन् । पतिले छाडेर गएका अधुरो काम पूरा गर्नकै लागि राजनीति र मुस्लिम महिलाको अधिकारका लागि समाजसेवालाई सँगसँगै अघि बढाइन् । उनी मानवअधिकारको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुगिन् । राजनीतिक यात्राबाट वडाअध्यक्ष, उपमेयरको उम्मेदवार हुँदै संविधानसभा सदस्यको जिम्मेवारीमा पुगिसकेकी छन् ।

मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन । परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल मोहम्मदी विस्तारै समुदायको नकारात्मक सोचलाई चिर्दै अघि बढिन् । राजनीति र सामाजिक क्षेत्रबाट मुस्लिम महिलालाई सशक्तीकरण गर्न सुरु गरिन् । ‘घर परिवार र समाजबाट बाहिर आउन नमिल्ने मान्यता थियो, म बाहिर आएर केही गर्न चाहन्थ्यें, त्यसमा सासुको सहमति पाउन गाह्रो हुन्थ्यो । तैपनि म परिवारबाट बाहिर निस्कन सफल भएँ र समुदायमा पनि छिर्न सकें,’ मोहम्मदीले विगत सम्झिइन् ।

सिलाइकटाइसम्बन्धी सीप सिकेकी उनीसँग प्रमाणपत्र भने थिएन । तत्कालीन नारी विकास नामक सामाजिक संस्थाबाट प्रमाणपत्र लिएपछि मोहम्मदीले मुस्लिम महिलालाई प्रशिक्षण दिन थालिन् । हातमा सीप भएपछि मुस्लिम महिला आत्मनिर्भर बन्न सक्छन् र उनीहरु बाहिर निस्कन सक्छन् भन्ने सोचका साथ उनले प्रशिक्षण दिँदै गइन् । ‘घर बाहिर निस्कन नसक्ने धेरै मुस्लिम महिलालाई मैले प्रशिक्षण दिए,’ उनले भनिन्, ‘सिलाइकटाइको प्रशिक्षण पाएपछि धेरैजना आत्मनिर्भर बने र विस्तारै बाहिर आए र मुस्लिम महिलाको पक्षमा आफैं वकालत गर्न थाले ।’ २०४९ मै उनले नारी कल्याण समाज बाँकेको सचिव भएर काम गरिन् ।

    महिलालाई अगाडि ल्यायो भने उनीहरु इस्लामविरुद्ध लाग्छन् भन्ने मान्यता ब्याप्त समाजमा परिवर्तनको लहर फैलाउनु चानचुने काम थिएन, तर त्यही जटिल काममा मुस्लिम महिला सफल ठहरिएका छन्

समाजसेवा र राजनीतिमा सक्रिय भइरहँदा मोहम्मदीलाई परिवारले सहमति दिए पनि समुदायले स्वीकार गर्न सकेन । मुस्लिम समुदायभित्रैबाट उनीविरुद्ध षडयन्त्र सुरु भयो । डर, धम्की र त्रास दिएर उनको सामाजिक र राजनीतिक यात्रामा बारम्बार अवरोध पु¥याउन खोजियो । उनी बारम्बार समुदायबाट मानसिक हिंसामा परिन् । तैपनि हरेस खाइनन् । ‘म आफैं संघर्ष गरेर बाहिर निस्केको मुस्लिम महिला थिएँ, यो काम हाम्रै समुदायका पुरुषलाई मन परेन । झन् अरु मुस्लिम महिलालाई पनि बाहिर ल्याउन खोजेपछि मलाई डर, धम्की दिएर हतोत्साहित गर्न खोजियो, म निडर भएर अभियानमा लागिरहें,’ मोहम्मदीले भनिन् ।
इस्लाम धर्मको अपव्याख्या गरेर समुदायका केही व्यक्तिले उनलाई बहिसकारसम्म गर्न भ्याए । तर, यहाँका आम नागरिक समाजको आँखाअगाडि उनी ‘चम्किलो तारा’ झैं उदाउँदै अगाडि बढेकी थिइन् । उनको संघर्षबाट प्रभावित भएर नेपाली कांग्रेसले टिकट दियो र २०४९ सालमा तत्कालीन नेपालगन्ज नगरपालिका वडा नम्बर ९ को वडाअध्यक्षमा निर्वाचित भइन् । ‘त्यतिबेला मुस्लिम समुदायबाट चुनाव लड्ने म सायद पहिलो महिला थिएँ । मुस्लिम समुदायबाट महिलालाई अगाडि ल्याउनु हुँदैन, यिनीहरु इस्लामको खिलापमा जान्छन् भन्ने गलत मान्यता ब्याप्त थियो,’ उनले स्मरण गर्दै भनिन्, ‘मलाई हराउन चारजना मुस्लिम पुरुष बागी उम्मेदवार बने पनि मैले उनीहरुलाई पराजित गरिदिएँ ।’

पाँच वर्ष वडाअध्यक्ष भएर काम गरेपछि उनको राजनीतिक उचाइ झन् माथि पुग्यो । २०५४ सालमा उपमेयरको टिकट पाए पनि चुनाव जित्न सकिनन्् । राजनीतिसँगै समाजसेवा क्षेत्रमा काम गरिरहिन् । २०५४ सालमा मानवअधिकारको क्षेत्रमा क्रियाशील एमनेस्टी इन्टरनेसनलको महिला गु्रपको केन्द्रीय सदस्य भइन् । यस्तै साउथ एसियन फर ह्युमन राईट्सको केन्द्रीय सदस्यको जिम्मेवारी पनि मोहम्मदीले निभाइन् ।

नारी कल्याण समाजमार्फत महिला मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभवको आधारमाा मुस्लिम महिलालाई लक्षित गरेर २०६१ सालमा नेपालगन्जमा फातिमा फाउन्डेसन नेपाल नामक सामाजिक संस्था स्थापना गरिन् । त्यसको संस्थापक अध्यक्ष मोहम्मदी नै थिइन्। यो मुस्लिम महिलाको पक्षमा वकालत गर्ने सम्भवतः मुलुककै पहिलो संस्था भएको उनी बताउँछिन् । ‘संस्था स्थापना भएपछि मुस्लिम महिलाका घरेलु हिंसासम्बन्धी घटना बाहिर आउन थाले, पीडितको न्यायका लागि हामीले वकालत गर्न थाल्यौं,’ उनले भनिन्, ‘फिल्डमा गएर पीडित महिलाको पक्षमा बोल्दा थ्रेट आउँथ्यो, संस्था नै बन्द गरिदिने धम्की दिन्थे । तर, उनीहरुको केही सीप चलेन ।’ महिला अधिकारको क्षेत्रमा काम गरिरहँदा उनले नयाँ संविधान निर्माणका लागि तत्कालीन संविधान सभा २०६४ मा समानुपातिक सभासद् भएर काम गरिन् । उनी सभासद् रहँदा महिला र त्यसमा पनि मुस्लिम महिलाको अधिकारलाई संविधानमा स्पष्ट व्यवस्था गर्नुपर्ने मुद्दा स्थापित गराउन विशेष भूमिका खेल्न सफल भइन् । अहिले उनी संविधानमा भएको व्यवस्था अनुसार मुस्लिम र अन्य समुदायका महिलाको सशक्तीकरणमा सक्रिय छिन् ।

फातिमा फाउन्डेसन नेपालको नेतृत्व गरिरहेकी मोहम्मदीलाई अहिले एक्लो महसुस हुँदैन् । पहिले उनलाई बहिष्कार गर्ने, डर, धम्की दिने व्यक्तिले अहिले सम्मान गर्छन् । अहिलेसम्म करिब १० हजार मुस्लिम महिला मोहम्मदीको अभियानसँगै जोडिएका छन् । बाँके, बारा, पर्सा, कैलाली र सुर्खेतमा संस्थाको शाखा विस्तार गरेर काम गरिरहेको बताइन् । घरभित्र सीमित मुस्लिम महिलालाई सशक्तीकरण गर्दै उनीहरुलाई सीपमूलक, आयमूलक तालिम दिने र आत्मनिर्भर बनाउने काम आफूहरुले गरिरहेको उनको भनाइ छ । ‘आय आर्जनको कामसँगै महिलालाई हिंसामा पर्न नदिने र हिंसामा परेका महिलालाई न्याय दिलाउने काम गर्छौं,’ उनले भनिन् । महिलालाई सीपमूलक तालिम दिएपछि उनीहरु आत्मनिर्भर बन्ने र स्वतः उनीहरुलाई समाजसेवासँगै राजनीतिमा ल्याउन सकिने मोहम्मदीको बुझाइ छ । मुस्लिम महिलालाई परिवार र समुदायबाट बाहिर ल्याउन मोहम्मदीले गरेको संघर्षबाट प्रभावित भएपछि अहिले थुप्रै महिला राजनीति र सामाजिक काममा लागेका छन् । यस्ता महिला असंख्य मात्रामा देखिन्छन् ।

नेपालगन्ज–३ कै मैमुना सिद्धिकी पनि संघर्षशील मुस्लिम महिला हुन् । उनले घरबाहिर निस्कन कम्ती संघर्ष गर्नु परेन । उनी २४ वर्षअघि घरबाहिर निस्केर विभिन्न सामाजिक अभियानमा आवद्ध छिन् । फातिमा फाउन्डेसन नेपालको उपाध्यक्षको जिम्मेवारीमा रहेकी उनी मुस्लिम महिलाको आय आर्जन, कानुनी उपचार जस्ता काममा ब्यस्त हुन्छिन् । दिदी मोहम्मदीको प्रेरणाले आफू सामाजिक काममा लागेको मैमुना बताउँछिन् । ‘मुस्लिम महिलालाई सशक्तीकरण गरेर बाहिर ल्याउने काम त्यति सजिलो छैन, दिदीले गरेको कामबाट प्रभावित भएरै म यो क्षेत्रमा लागेकी हुँ,’ उनले भनिन्, ‘पहिला कसैसँग पनि बोल्न नसक्ने म अहिले अरुलाई सिकाउन सक्ने भएकी छुु ।’

मुस्लिम महिलालाई सशक्तीकरण गरेर बाहिर ल्याउने काम चुनौतीपूर्ण भए पनि पछिल्लो समय धेरै सचेत भइसकेको उनको बुझाइ छ । कुनै समयमा आफू पनि घरभित्रै सीमित रहेको उनले स्मरण गरिन् । सामाजिक अभियानबाट गरिएको सशक्तीकरणसँगै संविधानको समावेशी व्यवस्थाले मुस्लिम महिलालाई बाहिर ल्याउने काम गरेको उनी बताउँछिन् ।
पतिले दोस्रो बिबाह गरेपछि बाँके, इन्द्रपुरकी केशर शेख न्यायका लागि धेरै निकायमा धाइन् । पतिको अन्याय सहन नसकेर उनले धेरै वर्षसम्म मुद्दा–मामिला गरिन् । उनी करिब ६ वर्षअघि पतिबाट अलग भएर आफैं संघर्ष गरिरहेकी छन् । चार सन्तानको संरक्षण आफैंले गरिरहेको उनले सुनाइन् । मुस्लिम समुदायमा महिलालाई बाहिर आउन बन्देज लगााउने प्रवृत्ति

अझै पनि कायमै छ । तर, उनी त्यो अवरोध छिचोल्दै बाहिर निस्कन सफल भएकी छन् । केशर आफूजस्तै पीडित महिलाको न्यायका वकालत गर्छिन् । ‘दोस्रो बिहे गरेर श्रीमान अलग्गै बसेपछि छोरा–छोरीको रेखदेख र घरको खर्च जुटाउने सबै जिम्मेवारी मेरो काँधमा आयो,’ उनले भनिन्, ‘मैले भोगेको जस्तो पीडा अरु महिलालाई नपरोस् भनेर म अहिले बाहिर निस्केकी छु ।’ उनी अचेल आफूजस्तै हिंसापीडित महिलाको वकालत गर्छिन् । घर र समाजसेवाको जिम्मेवारी निभाउन पाउँदा गर्व महसुस हुने केशर बताउँछिन् ।

इन्द्रपुरकै आमना बागवानको संघर्ष बेग्लै खालको छ । कुनै समयमा पति र सासुबाट हिंसामा परेकी उनी अहिले समाजसेवा र राजनीतिमा सक्रिय भएर लागेकी छन् । हरेक काममा उनका पति अचेल सहयोगी बन्छन् । घरमै पसल चलाएर परिवारको खर्च आफैं टार्न सक्षम आमना समाजसेवा र राजनीतिमा पनि उत्तिकै सामेल हुन्छिन् । स्थानीय तहको निर्वाचनमा सदस्यको उम्मेदवार समेत बनेकी उनी राजनीति र समाजसेवामा तल्लीन छिन् । ‘राजनीतिक काममा होस् वा महिला अन्यायमा परेको कुरामा होस्, मैले नेतृत्व गर्छु,’ उनले सुनाइन् । पछिल्लो समयमा बाँकेमा यस्ता थुप्रै हिंसापीडित मुस्लिम महिला समाजसेवा र राजनीतिमा सक्रिय भएर लागेका छन् ।

प्रकाशित: ११ वैशाख २०७६ ०७:४१ बुधबार

मुस्लिम महिला नागरिक_नायक