१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

साकाहारको लहर

तस्बिर: नागरिक

दाङ -  ‘बँधुवा किसान’को परचयमा सदियौं बिताएको थारु समुदायले मालिकको खेतबारीलाई नै जीवनयापनको निर्विकल्प स्रोत मान्थ्यो । न त शिक्षा, न कुनै व्यवसायप्रतिको आकर्षण । थारु अध्येयताका अनुसार त्यो बेला पढ्यो भने ‘भूत लाग्ने वा अशुभ हुन्छ’ भन्ने मान्यता यो समुदायमा थियो । त्यसैले हो, ‘जमिन जोताहा’ किसानको उपमा अहिले पनि यो समुदायबाट हटेको छैन ।
अर्काको जग्गा जोतभोग गरेर जीवन निर्वाह गर्दै आएको इतिहास यो समुदायसँग छ, जो मालिकको घरमा कमैया बस्नुलाई नै जातीय धर्म ठान्छ । त्यसैले त थारु समुदायलाई कमैयाकै दृष्टिकोणले हेर्ने प्रवृत्ति अद्यापि कायम छ ।
थारु समुदायमा केही समययता चेतनाको स्तर ह्वात्तै बढेको छ । शिक्षामा बढेको पहुँचले चेतनाको स्तर माथि लग्यो । अहिले थारु समुदायको पहिचान फेरिएको छ । कमैया तथा कमलरी जस्ता ‘दासत्व’बाट उनीहरु मुक्त छन् । सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा उनीहरुको पहुँच विस्तार भएको छ । अगुवाहरु भन्छन्, ‘लोकतन्त्रले थारुमा ठूलो चेतना ल्याउने काम ग-यो ।’
लोकतन्त्रपछि अंगीकार गरेको ‘साकाहारी’ आदत थारुहरुको जीवनमा आएको अर्को महŒवपूर्ण परिवर्तन हो । थारु समुदायमा माछामासु तथा जाँड–रक्सीको ठूलो महत्व थियो । कुनै पूजा होस् वा ठूलो पर्व, यी चिज अनिवार्य मानिन्थ्यो । यहाँसम्म कि जाँड–रक्सी सेवनलाई थारु समुदायले जातीय अधिकार ठान्थ्यो । पछिल्लो समय थारु समुदायमा मांशाहारी आदतका बेफाइदा खोज्न थालिएको छ । सँगै साकाहारी जीवनका फाइदाबारे प्रचारप्रसार पनि ।  

२०५१ मा साकाहारी अभियान सुरु भएयता २० हजार जतिले माछामासु र जाँड–रक्सी छाडेका छन्, माछामासु र जाँड–रक्सी छाड्नेमध्ये ८० प्रतिशत थारु समुदायका सदस्य छन् ।

केही वर्षयता चाडपर्वको खुसियालीका नाममा गरिने फजुल खर्चप्रति थारुहरु सचेत बन्दैछन् । मदिरा पिउनुलाई धर्म र पुर्खाले चलाएको ‘रीत’ ठान्ने थारु समुदायका बूढापाका पनि अहिले यो रीतलाई नाजायज मान्न थालेका छन् ।
‘प्राणीहत्या, रक्सी खाएर झगडा गर्नु राम्रो कुरा होइन,’ कपासी गाउँका ६० वर्षे खिरटिया चौधरीले भनिन्, ‘धर्म गर्ने भनेर पाप

गर्नु पनि राम्रो होला त ?’
विगतमा उनी मदिरा र माछामासुको सौखिन । माघीमा मदिरा पिएर हिँड्ने महिला समूहकी नाइके नै हुन्थिन् उनी । उनले भनिन्, ‘माघीमा त मैले जति जाँड कस्ले खाँदो हो ? यो राम्रो बानी होइन रहेछ भन्ने पछि थाहा भयो ।’ नराम्ररी पेट दुख्न थालेपछि मदिरा सेवन नराम्रो रहेछ भन्ने ज्ञान आएको उनको भनाइ छ । यसैबीच, बस्तीमा जय गुरुदेव अभियान सुरु थियो । धमाधम गाउँलेहरु साकाहारी बन्न थाले । उनि पनि त्यही बेला अभियानमा लागिन् । ‘रक्सी छाडेपछि पेट दुख्न पनि छोड्यो,’ उनले भनिन् । कपासी गाउँ मात्रै होइन, जिल्लाका अधिकांश थारु बस्तीमा साकाहारी बन्ने लहर चलेको छ । मुख्यतः देउखुरीका थारु बस्तीमा ‘जय गुरुदेव’को मन्त्र व्यापक घन्किन थालेको छ ।

लमही नगरपालिका वडा नम्बर ९, अमिलियाका शिक्षक श्रीराम दहित अहिले मदिरा, माछा मासुलाई छोइछिटो मात्रै गर्दैनन्, बजारका होटलको परिकार समेत खाँदैनन् । भन्छन्, ‘माछामासु लसपस भएको हुन सक्छ ।’ माघीमा उनको घरमा माछामासुको भतेर चल्थ्यो । जाँड–रक्सी उस्तै । अहिले यी चिजले उनको घरमा प्रवेशै पाउँदैन । ‘थारु समुदायले माछामासु र जाँड–रक्सी खानै पर्छ भन्ने पुरानो मान्यता तोडिँदै गएको छ,’ उनले भने, ‘अहिले यी चिज घरभित्र छिर्न समेत पाउँदैनन् ।’
साकाहारी अभियान जय गुरुदेवको अनुयायी उनी पूजारी बनेका छन् । धर्मान्तरका लागि सक्रिय विभिन्न धार्मिक समूहले हिन्दुत्वमाथि आक्रमण गरिरहेकाले हिन्दुत्व संरक्षणका लागि उनी समयसमयमा आफैं रुद्री पाठ गर्छन् । ‘म रुद्री पूजा लगाउँछु,’ उनले भने ‘अमिलियाको मुख्य चोकमै पनि मैले समयसमयमा रुद्री पाठ गरेर हिन्दुत्व संरक्षणका लागि पहल गरिरहेको छु ।’

माछामासु र जाँड–रक्सी खानुलाई ‘जातैले पाएको’ ठान्ने थारु समुदायमासाढे दुई दशकअघि साकाहारी बन्ने अभियान सुरु भएको जानकार बताउँछन् । कसरी सुरु भयो त जय गुरुदेवको साकाहारी अभियान ? जवाफमा एकजना जानकार भन्छन्, ‘यसको कारण थारु समुदायका एकजना बिरामी हुनु हो ।’ जिल्लामा साकाहारी अभियानको सुरुवात गर्ने गढवाका मानबहादुर चौधरी हुन् । २०५१ ताका उनी बिरामी भए । खुट्टा दुख्ने रोगले ग्रस्त उनी उपचारका लागि भारतको तुलसीपुर बजार पुगे । उनलाई उपचार गरेका डाक्टरले रोग निको पार्ने उपाय सिकाएदिए– जय गुरुदेव अभियानका गुरु । मानबहादुर उपचार चाहन्थे । डाक्टरकै सल्लाह अनुसार उनी भारतको मध्यप्रदेशस्थित उज्जैन पुगे । त्यहाँ उनको जय गुरुदेवका अभियन्ता तुलसीदाससँग भेट भयो । तुलसीदासले मानबहादुरको रोगलाई ‘पापकर्म’को फल भनिदिए । सँगै उनले माछामासुका लागि पशुको हत्या गर्नु र जाँड–रक्सी खानुलाई महापाप भनी व्याख्या गरिदिए । यी कार्यबाट अछुतो रहे रोग निको हुने सुझाव पाएका मानबहादुरले मांशाहार मात्र त्यागेनन्, जय गुरुदेवको प्रचारप्रसारमा पनि खटिए । ‘उहाँ (मानबहदुर) बाटै साकाहारी अभियान दाङमा फैलिएको हो,’ यो अभियानका अर्का अगुवा रामबहादुर चौधरी भन्छन्, ‘उहाँको तुलसीदाससँग भएको भेट नै थारु समुदायमा शुद्ध साकाहारी अभियानको सुखद सुरुवात हुनुको प्रमुख कारण हो ।’

तुलसीदासको प्रशिक्षणबाट सहज महसुस गरेका मानबहादुरले जिल्लाको थारु समुदायमा साकाहारी माहोल बनाउँदै गए । यसैबीच, तुलसीदास २०५१ मा देउखुरी आए । तुलसीदासको सत्संग कार्यक्रममा देउखुरीमा ठूलो जनसमुदाय सहभागी भयो । तुलसीदासको जिल्ला आगनमपछि साकाहारी अभियानले झनै गति लियो । ‘गुरुदेव दाङमा आएपछि एकाएक साकाहारी अभियान फैलियो,’ अभियानका अगुवा रामबहादुर भन्छन्, ‘अहिले थारु समुदायमा साकाहारी बन्ने क्रम बढ्दै गइरहेको छ ।’ मानबहादुरले २०५१ सम्म एक्लै चलाएको यो अभियानबाट अहिलेसम्म दाङका हजारौं थारु साकाहारी बनिसकेका छन् ।
अभियानमा लागेर साकाहारी बनेका २० हजार हाराहारीमध्ये ८० प्रतिशत थारु छन् ।  ‘अहिलेसम्म साकाहारी थारुको संख्या हजारौं पुगिसकेको छ,’ जय धर्म गुरुदेव विकास संस्था दाङका अध्यक्षसमेत रहेका रामबहादुरले भने, ‘बढ्ने क्रम उत्तिकै छ ।’
रामबहादुरले अहिले जिल्लामा साकाहारी अभियानलाई बढावा दिने अभियानको नेतृत्व गरिरहेका छन् । अझ थारुलाई यसतर्फ आकर्षित गर्ने अभियानमा उनको सक्रियता बढ्दो छ । ‘जाँड–रक्सी र माछा–मासु भोगीका रुपमा चिनिने थारु जातिमा साकाहारी बन्ने होडबाजी छ, देउखुरीका कैयौं गाउँ साकाहारी बनेका छन्,’ उनले भने, ‘जय गुरुदेवका कुल अनुयायीमध्ये ८० प्रतिशत थारु छन् ।’

हिन्दू धर्मको संरक्षक जय गुरुदेव अभियानले मुलतः मासु र जाँडरक्सी सेवन गर्नु हुन्न भन्ने सन्देश फैलाउँछ । मासुका लागि पशु काटिनुलाई महापाप भनेर व्याख्या गर्ने यो अभियानले मासु खाँदा स्वास्थ्यलाई नकारात्मक असर गर्ने भनेर सन्देश फैलाउँछ । जाँड–रक्सी स्वास्थ्यका लागि झनै खतरनाक भन्दै यसको नियन्त्रणमा अभियानले जोड दिन्छ । ‘यो छुट्टै धर्म प्रचार अभियान होइन, हामी हिन्दुत्व संरक्षणको अभियानमा छौं,’ रामबहादुरले भने, ‘पशु बलि र जाँड–रक्सीका बेफाइदाको ज्ञान बाँडेर यी चिजलाई निर्मूल पार्नुपर्छ भन्ने मात्रै प्रमुख उद्देश्य हो ।’

गढवाका देवनारायण चौधरीले रामबहादुरलाई जय गुरुदेवको सत्संग सुन्न भारतको मथुरा लगेका थिए । मथुरामा जय गुरुदेवको प्रवचन केन्द्र थियो । तीन महिने मथुरा बसाइका क्रममा रामबहादुरले साकाहारी बन्दाका फाइदाबारे धेरै कुरा सिके । उनको मांशाहारी सोच त्यहीँबाटै मोडियो । ‘प्रवचन सुनेपछि म साकाहारी बन्ने निर्णय लिएर घर फर्किएँ,’ उनले भने, ‘थारुहरुले माछामासु, जाँड–रक्सी खानै पर्छ भन्ने पुरानो सोच गलत रहेछ भन्ने ज्ञान पाएँ, यो खाँदाका बेफाइदाका धेरै कुरा सिक्ने मौका पाएपछि म बदलिएँ ।’

साकाहारी बन्ने निर्णयमा पुगेपछि रामबहादुरले घरमा रहेका कुखुरा र खसी–बाख्रा समेत बाँडे । अहिले उनको घरमा कुखुरा र खसी–बाख्रा एउटा पनि छैन । ‘मासु नखाने भएपछि मैले मासुका लागि पालिएका खसी, बाख्रा, कुखुरा सबै हटाएँ,’ उनले भने, ‘कुखुरा सित्तैमा बाँडेको थिएँ, बाख्रा र खसी गोरुसँग साटें ।’ उनले गाईगोरु पालेका छन् ।
देउखुरीको लमही नगरपालिका–६, देउपुर गाउँमा गाई पाल्ने उनीमात्रै हुन् । ‘गाईको संरक्षण गर्नुपर्छ भन्ने सोचले गाईपालन गरेको छु,’ उनले भने । थारु समुदायमा फैलँदो साकाहारी अभियान केही परिवारमा भने घरायसी झगडा अन्त्यका लागि समेत फलदायी बनेको छ । जाँड–रक्सी पिएर कलह निम्तिएका कतिपय परिवारका सदस्यले साकाहारी अभियानमा लागेर घरायसी वातावरणलाई सहज बनाएका छन् । घोराहीको कपासी गाउँकी सन्तुली चौधरीको परिवारमा मदिराका कारण कलह भैराख्थ्यो । मदिरा पिउने श्रीमानको अनावश्यक बखेडाका कारण निम्तने कलहले आजित बन्दै गएकी सन्तुलीले निर्णय लिइन्– साकाहारी बन्ने ।

‘आफू पनि रोगी जस्तै थिएँ, मासु खाएकै कारण बिरामी भएको भन्ने सल्लाह पाएपछि मैले छोडें,’ उनले भनिन्, ‘जाँड–रक्सीले निम्त्याएको घरायसी झगडा रोक्न साकाहारी बन्ने निर्णय लिएकी हुँ ।’ उनको ६ जनाको परिवारमध्ये पाँचजना साकाहारी छन् । सन्तुलीका श्रीमान भने अहिले पनि मांशाहारी नै छन् । तर, घरमा मदिरा सेवन गर्ने अनुमति उनलाई छैन ।
मांशाहारी परिवारबाट बिहे गरेर साकाहारी परिवारमा आएका महिला पनि साकाहारमै रमाएका छन् । कपासी बगिया टोलकी सृजना चौधरी बिहे भएपछि साकाहारी बनेकी छिन् । ‘साकाहारी परिवारमा बिहे भयो, त्यसपछि मैले पनि मासु खान छोडें,’ उनले भनिन्, ‘बिहे भएको एक वर्ष भयो, त्यसदेखि मासु खान छोडें ।’ सुरुसुरुमा मासु छोड्दा गाह्रो भए पनि अहिले ध्यानै नजाने उनी बताउँछिन् ।

जय गुरुदेव अभियानका अभियन्ताहरु ‘बाबाजीका केहेना है, साकाहारी रहेना है,’ नारा लिएर साकाहारी अभियानको प्रचारमा छन् । गाउँगाउँमा केन्द्र खडा गरेर प्रशिक्षण दिने गरिएको छ ।  प्रत्येक पूर्णिमामा भारतका विभिन्न स्थानमा हुने सत्संगमा जिल्लाका थारु समुदायको सहभागिता बढ्दो क्रममा रहेको रामबहादुर बताउँछन् । ‘गाउँगाउँमा जय गुरुदेवका सत्संग केन्द्र खोलेर साकाहारी बन्ने अभियानबारे प्रशिक्षण दिने गरेका छौं,’ उनले भने, ‘यसका साथै भारतका विभिन्न स्थानमा प्रत्येक पूर्णिमामा चल्ने सत्संगमा यहाँका थारु समुदायका सदस्यलाई सहभागी गराउने गरेका छौं ।’  

हरेक दुःख बिमारलाई पापकर्मकै फलका रुपमा उल्लेख गर्ने यो अभियानले पशुबलि र जाँड–रक्सी सेवनलाई मुख्य पापका रुपमा चिनाउँछ । यही मन्त्रले प्रभावित थारु समुदायले साकाहारी अभियान अँगालेको यसमा लागेका अधिकांशको भनाइ छ । अभियानको धार्मिक महŒव एकथरि होला, तर थारु समुदायमा साकाहारी अभियान चल्न सक्नु ठूलो सफलता भएको यसका अगुवा रेबबहादुर चौधरी बताउँछन् । हुन पनि विहानदेखि बेलुकासम्मै मदिराकै नशामा झुम्ने थारु समुदायमा यसरी परिवर्तन आयो कि अहिले यही समुदाय मदिरा र माछा–मासुलाई अछुत ठान्छ । साकाहारी अभियान ‘जय गुरुदेव’ कुनै एकै जात विशेषका लागि मात्रै नभई हरेक जातजातिका नागरिक सामेल गराउने लक्ष्य हो । तर यहाँ यो अभियानमा थारुकै बाहुल्य छ । दाङसहित बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवरपरासी, चितवन, पर्सा, बारा, सर्लाही लगायत दर्जन बढी जिल्लामा यो अभियानले गति लिइरहेको रामबहादुरको भनाइ छ । काठमाडौंमा पनि अहिले यो अभियानको प्रचार सुरु भएको उनले बताए ।

प्रकाशित: ११ वैशाख २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App