१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पशुपतिमा किरिया बस्नै सकस

पशुपति क्षेत्र विकास कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिको किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरियापुत्रीको गुनासो छ। किरियामा बस्दै आएका धिराज बानियाँले सरसफाई नहँुदा दुर्गन्धले किरिया बस्न नसकेको जानकारी दिए। ‘जहाँतही फोहोर फालिएको छ। फोहोरले गर्दा शौचालय छिरिनसक्न छ,’ उनले भने, ‘दुर्गन्धले किरिया बस्न सकेका छैनौं। दुर्गन्ध झेलेर बल्लबल्ल ११ दिनसम्म त धानियो।’ उनका अनुसार कोठाहरु पनि साह्रै नै फोहोर छन्। त्यसमाथि बाँदरबाट बच्न पनि कठिन भएको हुँदा बाहिरसमेत ढुक्कले बस्न नसकिएको किरियापुत्रीहरु बताउँछन्।

किरियापुत्री भवनभित्र दुईवटा पोखरी पनि छन्। पोखरी सरसफाई नगर्दा दुर्गन्ध फैलिएको छ। कोषले भने यसलाई बेवस्ता गरेको छ।
पैसा तिरेर बसे पनि किरिया केन्द्र सफा हुनुपर्ने अर्का किरियापुत्री युवराज बानियाँ बताउँछन्। ‘किरिया बस्दा दिनको दुई सय ५० तिर्नुपर्छ,’ उनले भने, ‘सरसफाई भने कुनै संस्थाले गर्दैन। फोहोरको दुर्गन्धमा रुमलिएर किरिया बस्नु परेको छ। पीडामाथि फोहोरको दुर्गन्धले स्वास्थ्यलाई असर गर्छ कि भन्ने पो डर छ।’ उनका अनुसार त्यहाँ तीनवटा धारा छन्। तर नियमित पानी आउँदैन। आए पनि लेदो मात्रै आउने गरेको छ। त्यसैले जारको पानी किनेर उपयोग गर्नुपरेको उनी बताउँछन्। किरिया क्षेत्रमा सरसफाई गरी दुर्गन्ध मुक्त ठाउँ बनाउनुपर्ने किरियापुत्रीहरूको माग छ।

कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले तत्काल शौचालय सरसफाइ गर्ने बताए। ‘सरसफाइको लागि नेपाल आयल निगमसँग सहकार्य गरेका छौं,’ उनले भने, ‘निगमसँग सहकार्य गरेर अव्यवस्थित फोहोर तत्कालै व्यवस्थापन गरी शौचालय पनि सफा गर्नेछौं।’ किरिया बस्ने कोठाहरूको अभाव भएकाले यसको व्यवस्थापनको लागि गुरुयोजना बन्दै गरेको उनले बताए।  ‘गुरु योजना बन्दैछ। त्यहीँ थप्ने कि अरु ठाउँमा बनाउने भन्नेबारे त्यसपछि थाहा हुन्छ। त्यसैले तत्काल हामी त्यहाँ कोठाहरु थप्दैनौं,’ उनले थपे।

क्रियापुत्री सेवा सुविधा केन्द्रमा कार्यरत कर्मचारी मधुसुदन खनालका अनुसार त्यँहा ४० कोठा छन्। कोठा सानो भएकाले एउटा कोठामा दुई जना मात्रै बस्न मिल्छ। दैनिक जसो ५ जना किरिया बस्न आउँछन्। अहिले करिब ८० जना किरिया बस्दै आएका छन्। कोठा अभावले गर्दा किरियामा बस्न आएका किरियापुत्रीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ।

पशुपति मन्दिर परिसरमा पनि फोहोर
पशुपति मन्दिर परिसरमा फोहोर थुप्रिन थालेको छ। पूजापाठका व्यापारीहरुले जहीँतही फोहोर फालेपछि फोहोर थुप्रिएको हो। जसका कारण मन्दिरमा दर्शन गर्नको लागि आएका झक्तजनहरुले सास्ती भोग्नु परेको छ।
दर्शनका लागि बौद्धबाट आएका जीवन पोखरेलले जहाँतहीँ फोहोर फालेकोले दुर्गन्ध फैलिएको जानकारी दिए। ‘मन्दिर वरिपरि पूजापाठका समान राख्नेहरुले कुहिने फोहोर फालेका छन्,’ उनले भने, ‘फोहोर उठाउनको लागि कोषको ध्यान गएको छैन। फोहोरको दुर्गन्धले भक्तजनले मन्दिरमा दर्शन गर्न सकिने अवस्था छैन।’

प्रकाशित: २८ माघ २०७५ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App