१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मनास्लुकै आधुनिक रिसोर्ट

वैंशालु उमेर सिंगापुरमा विताएपछि त्यहाँ कमाएको धनराशी लिएर फर्केका भोटका एक युवाले जन्मथलोको पर्यटन एवं सामाजिक विकासमा अगुवाई गर्दै आएका छन्। उत्तरी गोरखाको नामरुङ गाउँमा जन्मे÷हुर्केका लाक्पा ढुण्डुप लामा स्वदेश फर्केपछि ०६४ देखि युवालाई संगठित गरेर पर्यटन, संस्कृति र सामाजिक काममा अग्रसर भएका हुन्। 

उनकै अध्यक्षतामा खोलिएको ‘नुब्री सांस्कृतिक युवा उत्थान समिति’ले मनास्लु क्षेत्रको पर्यटन विकासमा अभियान चलाउँदै आएको छ। उसले बरोबर पत्रकार टोलीलाई त्यस क्षेत्रमा घुमाएर प्रवद्र्धन गर्छ। त्यस बाहेक स्थानीयलाई पर्यटन सम्बन्धि तालिम दिलाएर जागरुक बनाएको छ। वृत्तचित्र पनि निर्माण गरेको छ। 

मनास्लु (८,१६३ मिटर) हिमालको काखमा छ, नुब्री भ्याली। समितिले मनास्लु दिवस (मे ९)को अबसर पारेर सन् २०११ मा मनास्लुको फेदी सामागाउँमा मनास्लु महोत्सव  मनाएको थियो। जापानी टोलीले सन् १९५६ मे ९ मा पहिलोपटक मनास्लु आरोहण गरेको थियो। जापानी पर्वतारोही टोसी इमानोसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले मनास्लु चुमेका थिए।

एक दशकदेखि मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा अगुवाई गर्दै आएका लाक्पा ढुण्डुप लामाले नामरुङमा खोलेको ‘नुब्री फोर सिजन रिसोर्ट’ मनास्लु पदमार्गकै सुविधायुक्त रिसोर्ट बन्न पुगेको छ।

१२ वैशाखको भुकम्पले क्षतिग्रस्त मनास्लु पदमार्गमा अचेल पर्यटकको राम्रो चहलपहल हुन थालेको छ। केही वर्ष यता पदमार्गमा राम्रा होटल खुल्नेक्रम जारी छ। यही मेसोमा मनास्लुका प्रवद्र्धक लाक्पाले आफ्नै गाउँ नामरुङ आधुनिक सुविधायुक्त ‘नुब्री फोर सिजन रिसोर्ट’ खोलेका छन्। त्यहाँ २० वटा बजेट रुम छन्। तिनमा एक रात सुतेको ३० डलर पर्छ। त्यस्तै १५ वटा लक्जरी रुम छन् जसमा सुतेको ६० डलर पर्छ। लक्जरीमा ५ जनाको परिवार बस्न सक्छ।

रिसोर्टमा नेपाली, कन्टिनेन्टल, चिनियाँ खाना त पाइन्छ नै। साथमा फ्रेस बेकरी, अर्गानिक कफी, फिनल्याण्ड प्रविधिको साउना सुविधा पनि छ। त्यति मात्रै होइन कोठामा इलेक्ट्रिक बेड राखिएको छ। आँगनमा आर्चरी खेल मैदान छ। रिसोर्टले अर्गानिक तरकारी र फलफूल उत्पादन गर्छ। तरकारीका साथै भुइँस्याउको राम्रो उत्पादन भैराखेको छ।

भोटे वस्ती नामरुङबाट मनास्लु हिमाल देखिंदैन। हिमाल हेर्न २ घन्टा उकालो चढेर भ्यू टावर पुग्नु पर्छ जहाँबाट मनास्लु, लार्के पिक, हिमचुली, बौद्धचुली लगायत देखिन्छ। उकालोमा जंगली जनाबर र चराचुरुंगी भेटिन्छन्। करोडौं रुपैयाँ खर्चेर बनाइएको रिसोर्टमा १५ जना रोजगार छन्। ‘हामीले आधुनिक सुविधा चाहने पर्यटकका लागि रिसोर्ट बनाएका हौं’, लामा भन्छन्, ‘दुई–तीन रात रिसोर्टमा बसेर मनास्लुको सौन्दर्यमा रमाउन चाहने नेपालीका लागि पनि हाम्रो रिसोर्ट राम्रो गन्तव्य बन्न सक्छ।’

पदयात्रामा आउनेहरुलाई दुई रात नामरुङ क्षेत्रमै घुमाउने वातावरण रिसोर्टले बनाएको छ। रिसोर्ट हातामा भोटे जीवनशैली झल्काउने संग्रहालय निर्माण हुँदैछ। लामाले आँट गरेरै रिसोर्टमा लगानि गरेको देखिन्छ।अचेल काठमाडौंबाट गोरखाको सोतीखोलासम्म बस चल्छ। बसमा ५ घन्टा लाग्छ। मोटर बाटो भने माछाखोलासम्म खुलिसकेको छ। सोतीखोलाबाट हिँडेर जाँदा चौंथो दिन नामरुङ पुगिन्छ। नामरुङबाट हिँडेको ५ औं दिन पदयात्रीले लार्केपास (५,१०६ मिटर) पार गर्छन्।

प्रकाशित: १९ माघ २०७५ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App