१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मिक्लाजुङमा राष्ट्रगान

टलक्क टल्किने हिराको टुक्रा हो नेपाल। हिमाल, पहाड, तराई जता हे-यो उतै सुन्दर देखिन्छ। सबैतिर पर्यटनको अथाह संभावना छ। हामीले बिजुली, पानी, सडक, सञ्चार, होटल, सुरक्षा जस्ता अत्यावश्यक पूर्वाधार विकास गरेर मार्केटिङ गर्न सके पर्यटनबाट मनग्य फाइदा लिन सक्छौं। त्यस्तै संभावना बोकेको पूर्वको पवित्र भूमि हो–मिक्लाजुङ। 
चराको चिरबिर, सुनाखरीको मुस्कान र जनाबरको चहलपहलबाट आनन्द मिल्छ डाँडामा। त्यहाँबाट कुम्भकर्ण र कञ्चनजंघा हिमशृृङ्खलाको सुन्दर दृश्य पनि देखिन्छ। सूर्योदय र सूर्यास्तको दृश्य पनि उस्तै बेजोड। त्यति मात्रै होइन, एकथरी किरातीले डाँडोलाई धार्मिक केन्द्र बनाएका छन्।   

मिक्लाजुङ क्षेत्र मोरङ, पाँचथर, इलाम र धनकुटाको साझा थलो। त्यसैले डाँडाको थाप्लो (२,४१० मिटर) साझा तीर्थ मानिन्छ। किराती भाषामा ‘मिक’ भनेको मालिंगो र ‘ला’ भनेको घारी हो। अनि ‘चोम’ को अर्थ डाँडा। मिकलाचोम भन्दाभन्दै अपभ्रंस भएर मिक्लाजुङ भनियो। 

विशेषतः फाल्गुनन्द जयन्तीका अवसरमा डाँडामा मेला लाग्दो रहेछ। त्यहाँ देवदेवीका मूर्ति छन्। त्रिशुल र रंगविरंगका ध्वजापताका पनि। मिक्लाजुङ क्षेत्रलाई योग र ध्यान केन्द्रका रुपमा विकास गर्न सकिने संभावना देखिन्छ। 

पूर्वको प्रख्यात भेडेटार जस्तै मिक्लाजुङ र आइतबारे क्षेत्रलाई गर्मी छल्ने गन्तव्य किन नबनाउने ? विराटनगर, इटहरी, उर्लाबारी, दमक, काकडभित्तासम्मका मात्रै होइन, सीमावर्ती भारतीयलाई समेत लोभ्याउन सकिन्छ। त्यसैले प्रदेश सरकारले यसमा ध्यान पु-याउनु पर्छ। उसले तत्कालै आइतबारे बजारसम्म सडक पिच गरेर एक रातेसम्म मोटर बाटो पु-याई हाल्नु पर्छ। पूर्वी मोरङको यो रमणीय डाँडामा हामी पनि मंसिर २८ गते पुग्यौं। साथमा थिए राष्ट्रगानका रचनाकार व्याकुल माइला, कवि हेमन यात्री, शिक्षक पर्वत राई, ठूल्दाइ (जौबारीका लक्ष्मीप्रसाद गुरुङ ), कवि विनय सरगम र पत्रकार विवेक रेग्मी।   

टाटा सुमो चालक मित्र विजय नेपालीले हामीलाई आइतबारे बजारबाट करिब ९ किमीसम्म पु-याए। त्यहाँसम्म कच्ची सडक छ। त्यहाँबाट हिँडेर जौबारी पुग्यौं। जौबारीमा गुरुङ, नेवार र राईका नौ घर छन्। त्यहाँ खाजा खाएर हामी उकालो लाग्यौं। त्यहीँबाट हामीलाई साथ दिएका हुन् ठूल्दाइले। हामीले खाजा खाँदै गर्दा उनले हाम्रा लागि निगालाका लौरा तयार पार्न भ्याइसकेका थिए। 

राम्रो पथप्रदर्शकमा हुनु पर्ने गुण भेटियो ठूल्दाइमा। पर्यटकीय चेत भएका रहेछन् उनी। आइतबारेबाट सँगै  आएका शिक्षक पर्वत पनि पर्यटनकर्मी। उनले मिक्लाजुङ पर्यटन विकास समितिका संस्थापक अध्यक्ष भएर केही सकारात्मक कामको अगुवाई गरेका रहेछन्। बाटो खनाएछन्। विश्रामस्थल बनाएछन्।

हामी हिँडिरह्यौं। जौबारी कटेपछि एउटै खोला (लाबा खोला) १२ ठाउँमा तर्नु पर्छ। जंगली गोरेटामा हिँड्दा चिरबिर सुनिन्छ। पुतली देखिन्छ। सुनाखरीको सौन्दर्यले मोहित बनाउँछ। एक राते पुग्नु अघि आधा घन्टा जति ठाडै उकालो चढ्नु प-यो। मोरङ र धनकुटाबाट जाँदा बेस क्याम्प हो एक राते। एक राते नजिकै बस्ती छ। त्यहाँ राई जातिका ६ घर छन्। 

पाँचथरतिरबाट मिक्लाजुङ जाँदा लिम्बा बेस क्याम्प हो जहाँ लिम्बु, राई, तामाङ र मगरको ठूलो बस्ती भएको शिक्षक राईले हामीलाई बताए। यता धनकुटाको भेडेटार हुँदै एक रातेसम्म कच्ची मोटर बाटो खुलिसकेको छ। एक रातेबाट ४० मिनेटमै मिक्लाजुङ शिखरमा पुग्यौं हामी। डाँडामा विभिन्न ढुँगालाई विभिन्न नाउँ दिएर पूजापाठ गरेको देखियो। किरातीले रंगविरंगका झण्डा गाडेका छन्। भगवानसँग जे माग्यो त्यो फल प्राप्त हुने गाउँलेका जनविश्वास ! 

मोरङको शिरबाट ओरालो झर्नुअघि ठूल्दाइले गीत गाउने प्रस्ताव राखे। हामी टक्क उभियौं, उनको मोबाइलबाट राष्ट्रगानको धुन गुञ्जियो। हामीले गोलो भएर छातीमा हात राख्यौंं–सयौं थुँगा फूलका हामी एउटै माला नेपाली...। पहिलोपटक राराताल पुग्दा ०६७ सालमा पनि डुँगामाथि उभिएर हामीले यसैगरी गाएका थियौं। दुवै यात्रामा साथमै थिए राष्ट्रगानका रचनाकार व्याकुल माइला पनि।   

डाँडाको थाप्लोमा एकतले भ्यू टावर अलपत्र अबस्थामा रहेछ। त्यसमा अर्को तला थपेर व्यवस्थित बनाएमा हिमाल हेर्न सजिलो हुने थियो। चारै जिल्लाले आ–आफ्नो तर्फबाट पूर्वाधार विकासमा हातेमालो गर्नु पर्ने देखिन्छ।  हामी दिउसो पुग्यौं, बादलले हिमाललाई अँगालो मारिसकेको थियो, त्यसैले हिमाल हेर्न पाएनौं। हिमाल हेर्न नपाए पनि डाँडामा पुग्दा मन चंगा बन्यो। यति सुन्दर भूमिका मालिक हामी नेपाली भएकामा गौरब बोध भयो। त्यहाँ पुगेपछि मैले कवि मित्रहरू सन्जिब राई, प्रकाश थाम्सुहाङ र सुन्दर कुरूपलाई ‘मिस’ गरें। थाम्सुहाङ र कुरुप हिजो नै फर्किए टाँडी माविको कार्यक्रम सकेर। सन्जिब भने खुट्टाको समस्याले गर्दा हामीलाई आइतबारे बजारमै कुरि बसेका थिए। 

डाँडाको पूर्वमा इलाम, पश्चिममा धनकुटा, उत्तरमा पाँचथर र दक्षिणमा मोरङ जिल्ला। डाँडामा पुगेर हामीले एक छिन फोटो सेसन ग-यौं। ‘लु अब फिर्नु पर्छ’, कवि हेमनले यसो भन्न नभ्याउँदै ठूल्दाइले भने, ‘व्याकुल दाइको गीत गाएर मात्रै फर्कौं है।’ के गीत होला भनेर हामी टक्क उभियौं। उनको मोबाइल फोनबाट राष्ट्रगानको धुन गुञ्जियो। हामीले गोलो भएर छातीमा हात राख्यौंं–सयौं थुँगा फूलका हामी एउटै माला नेपाली...। पहिलोपटक राराताल पुग्दा ०६७ सालको बर्खामा पनि डुँगामाथि उभिएर हामीले यसैगरी गाएका थियौं। दुबै यात्रामा हामीसँगै थिए राष्ट्रगानका रचनाकार माइला दाइ। 

राष्ट्रगानले हाम्रो गौरब गाथा गाउँछ। मिक्लाजुङ पनि हामी सबै नेपालीको गौरब हो। तर, यसलाई पर्यटकीय गन्तव्यका रूपमा चम्काएर फाइदा लिन सकेका छैनौं हामीले। यसका लागि स्थानीयसँग मिक्लाजुङ गाउँपालिका र प्रदेश सरकारले हातेमालो गर्नै पर्छ। 

अहिलेलाई सुखद भबिश्यको कल्पना गरौं। आइतबारे बजारमा होटल बन्नेक्रममा छ, एक रातेमा पनि राम्रो होटल चाहिन्छ है। अनि आइतबारेबाट एक रातेसम्म बनाउन बाँकी सडक बनाइहाल्नु पर्छ। ‘कस्तो लाग्यो त मिक्लाजुङ’, ओरालो झर्दै गर्दा व्याकुल दाइलाई सोधें। ‘म मिक्लाजुङ पुगेको छु भनेर गर्ब गर्न सक्ने भएँ’, उनले एकै वाक्यमा जवाफ दिए।  

हामी साँझ आइतबारेमै बस्यौं। पहिलो यात्रामै आइतबारेमा दुई रात वितायौं। पहिलापहिला आइतबारेलाई बैकुण्ठे बजार भनिन्थ्यो रे ! अचेल पनि आइतबारका दिन हाट लाग्छ। पशु चौपायादेखि कृषिजन्य सामाग्री किनबेच गरिन्छ। बजार क्षेत्रमा ४६ घर छन्, एक परिवार लुइँटेलको, बाँकी राईका।  

आइतबारे क्षेत्र आफैंमा रमणिय छ। त्यहाँ खाजा घर छन् जहाँ लोकल कुखुरा, ढिँडो, दालभात लगायत परिकार पाक्छ। गाउँमा मकै, कोदो, अकबरे खुर्सानी, अम्लिसो, अदुवा, अलैंची, दाल, कागती र तकारी बाली उत्पादन हुन्छ। होटल खुलिसकेको छैन। भोला लुइँटेलले होटल बनाउँदैछन् भने डिल्ली खतिवडाले रिसोर्ट। त्यसैले अबको वर्ष दिन पछि पर्यटकलाई सजिलो होला !

मिल्ने साथीहरूसँगको यात्रा सधैं प्रितिकर बन्छ। मिक्लाजुङ यात्रा पनि धेरै हिसाबले यादगार बन्यो। नमरी बाँचे कालले साँचे जिन्दगीमा फेरी एकपटक मिक्लाजुङ चढ्नेछु, आँखैले हिमाल खिच्ने गरी।     

कसरी पुग्ने : काठमाडौं–मुग्लिङ–इटहरी ५२० किमि, बसमा १० घन्टा। इटहरी–किसानचोक ३० किमि। किसानचोकबाट उत्तर ४ किमि पक्कि र २२ किमि कच्चि सडक छिचोले पुगिन्छ आइतबारे बजार। उर्लाबारीबाट दिउसो ३ बजे बस र जिप छुट्छन्। तिनले डेढ घन्टामा आइतबारे पु¥याउँछन्। आइतबारेबाट बिहान ६ः३० र ७ बजे बस र जिप छुट्छन्। आइतबारेबाट जौबारी–एक राते हुँदै मिक्लाजुङसम्म पदयात्रा गर्न ६ घन्टा।  

प्रकाशित: ७ पुस २०७५ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App